Logo

हलेसीमा कपास उत्पादन खेती

पुर्खाको अन्त्यसँगै कपास खेती गरेर खाँडीको कपडा उत्पादन गर्ने प्रचलन हराइसकेको छ । तर खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको कात्तिकेमा एकादेशको कथाझैं बनिसकेको कपास खेतीलाई पुनः जागृत गराइएको छ । नगरपालिकाले अनुदान उपलव्ध गराउन थालेपछि कात्तिकेमा आर्थिक वर्ष २०७६/०७७ देखि कपास खेती विस्तार गरिएको हो ।

साविकको महादेवस्थान–६ कात्तिकेस्थित जुनतारा आमा समुहमा आवद्ध ३४ महिला र साविकको महादेवस्थान–९ कात्तिकेस्थित गोदावरी आमा समुहमा आवद्ध ३१ महिलाले कपास खेती लगाएका छन् । नेपाली पहिचान झल्काउने दौरा सुरुवालको कपडा उत्पादन गर्दै महिलालाई आर्थिकरुपमा सवल बनाउने लक्ष्यका साथ कपास खेती पुनः जागृत गराइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले बताइन् ।

कात्तिकेबाट केहीमाथि पर्छ त्रि–धार्मिकस्थल हलेसी । हलेसीमा लाखबत्ती, आरती, पुजापाठका क्रममा काँचो धागोको बत्ती बाल्ने गरिन्छ । कपासबाट काँचो धागो उत्पादन गरेर त्यही हलेसीमा बिक्रीवितरण गरेर पनि आम्दानी लिने योजना बनाइएको छ । किरात राई समुदायमा पुर्खा तायामा र खियामाले तुवाचुङमा कपास खेती गरेर कपडा बुनेर लुगा लगाउने चलन सुरु गरेको किंवदन्ती छ । बाबुबाजेको पालासम्म कपासबाट खाँडीका कपडा उत्पादन गरिन्थ्यो । करिब चार/पाँच दशकसम्म धेरैजसो घरमा खाँडी तयार हुन्थ्यो । खाँडीकै चोली, फरिया, भोटो बनाइन्थ्यो ।

बजारमा थरिथरिका कपडा आउन थालेपछि खाँडीका कपडा बुन्ने प्रचलन क्रमशः हराउँदै गएको हो । पछिल्लो समय सबैले खाँडीको दौरा सुरुवालको महत्व बुझ्न थाले । नेपाली पोशाक दौरा सुरुवालप्रति युवा पुस्ताले चासो राख्न थाले । त्यही बेला गरपालिकाले सहयोग गरेपछि टिंग्रे प्रजातीको कपास खेती सुरु गरिएको हो । दुई वटा आमा समुहमा आवद्ध ६५ महिलाले प्रतिघर एकदेखि दुई रोपनीका दरले कपास खेती लगाएका छन् । उत्पादित कपास प्रतिकेजी सात सयका दरले बिक्री गर्ने गरिएको छ ।

कतिपय कपासलाई सिरक, सिरानी र डसना बनाउने गरिएको छ । कपास खेती सुरु गरेका महिलालाई खाँडी बुन्ने तालिमको दिने तयारी नगरपालिकाको छ । नगरपालिकाको ११ वडामध्ये कात्तिकेमा मात्र व्यावसायिक रुपमा कपास खेती लगाइएको हो । खाँडीको कपडाको माग बढिरहेका बेला कपास खेतीलाई आर्थिक उपार्जनको माध्यम बनाउने त्यहाँको महिलाको सपना रहेको छ । महादेवस्थान कात्तिकेकी जुनासरी राई, भविकला राई र बिन्द्रासरी राईले भने कोगटी र टिंग्रे कपासबाट खाँडीको कपडा बुन्ने गरेका छन् ।

कोगती प्रजातीको कपासको दौरासुरुवालको कपडा प्रतिथान २० हजार र टिंग्रे कपासको प्रतिथान १५ हजारमा किनबेच हुनेगरेको छ । कपासखेती प्रवर्द्धनका लागि वडा कार्यालयले आर्थिक वर्ष २०७६/०७७ मा १५ जना महिलालाई कपास खेती प्रवर्द्धनका लागि एक लाख खर्च गरेको थियो । आर्थिक वर्ष २०७७/०७८ मा १० लाख बिनियोजन गरेको नगरपालिकाले चालु आर्थिक वर्ष २० लाख बिनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्