Logo

‘हेरफेर सम्भव छैन’

निजी क्षेत्रले व्याजदर तथा चालु पुँजी कर्जा सम्बन्धी राष्ट्र बैंकको नीति सच्याउन माग राखेर एक चरणको लबिङ र दवाव दिने काम सकेको छ । निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको अगुवाइमा निस्केको टोलीले विभिन्न दलका नेतृत्व, प्रधानमन्त्री, अर्थमन्त्री र वाणिज्य मन्त्रीलाई भेटेर राष्ट्र बैंकमाथि दबाब दिन खोजेको हो ।

यही प्रयास अन्तर्गत बिहीबार सवारी साधन बिक्रेताको छाता संगठन नाडा अटोमोबाइल एसोसियसन अफ नेपाल (नाडा) ले राष्ट्र बैंकविरुद्ध माइतीघर मण्डलामा धर्ना कार्यक्रम गरेको छ । १६ मंसिरदेखि आन्दोलन शुरू गरेको नाडाले बिहीबार ब्याजदर नियन्त्रण गर्न माग गर्दै धर्ना दिएको छ । पहिलो चरणको आन्दोलन सक्काएका उनीहरूले अब नयाँ सरकार गठन भएपछि पुनः आन्दोलन गर्ने तयारी गरेको बताएका छन् ।

राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षासँग असन्तुष्ट निजी क्षेत्रले चर्को ब्याजदर घटाउन राष्ट्र बैंकले अटेर गरेको आरोप लगाउँदै आएको छ । सरकारले विलासी वस्तुमाथि लगाएको प्रतिबन्ध हटाएसँगै अब चर्को ब्याजदर पनि नियन्त्रण गर्नुपर्ने माग उनीहरुको छ ।

उद्योगी व्यवसायी मात्र नभएर पूर्व बैंकरहरूले समेत दुवै पक्षले जित्ने अवस्थामा समन्वय गरेर अगाडि बढ्नुपर्ने बताउन थालेका छन् । पूर्व बैंकर भुवन दाहाल विभिन्न विषयमा अध्ययन गरेर राष्ट्र बैंकले ब्याजदर नियन्त्रण गर्नुपर्ने बताउँछन् ।

कारोबारसँग उनले भने, “अब दुवै पक्ष वीन–वीन हुने गरि जानुपर्छ भन्ने मेरो विचार हो, राष्ट्र बैंकले ब्याजदर केही घटाए सहज हुन्छ भन्ने लाग्छ ।” उनले ब्याजदर घटाउँदा आयातमा भने लचिलो हुन नहुने बताए । उनले भने, “कर्जा बाहिर जान नदिन आयातमा कडाई गर्नुपर्छ र ब्याजदर घटाउँदा उत्तम हुन्छ ।”

निजी क्षेत्रले आन्दोलन, लबिङ तथा दवाव जारी राखेका बेला नियामक संस्था नेपाल राष्ट्र बैंकले भने अहिलेको नीतिमा थप लचिलो हुने अवस्था नरहेको बताएको छ ।

राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ तत्कालै कर्जाको ब्याजदर घट्ने अवस्था नरहेको बताउँछन् । व्यवसायीको चाहना स्वभाविक नै हो तर, वित्तीय स्रोत नै उपलब्ध नभई ब्याजदर घट्ने अवस्था नहुने उनको भनाइ छ । उनी भन्छन्, “अर्थतन्त्रमा सुधार हुँदै गएको अवस्था छ । थप सुधार हुँदै गए केही महिनामा ब्याजदर तल झर्ने अवस्था हुनसक्छ । तर आज वा भोलिमै ब्याजदर तल झर्ने अवस्था छैन ।”

अहिले वित्तीय स्रोतको मुहानसमेत नभएको अवस्थामा ब्याजदर घटाउन खोजेर पनि नघट्ने उनी बताउँछन् । “बढी ब्याजदर राष्ट्र बैंकको या कसैको चाहनाले भएको होइन” उनी भन्छन्, “बजारको अवस्था अनुसार अहिलेको ब्याजदर सेट भएको हो यसमा तलमाथि भइ नै रहेको हुन्छ, सोही अनुसार बढेको न हो ।”

अहिले ब्याजदर मात्र बढेको नभई कर्जा पाउन पनि गाह्रो अवस्था रहेको उनी बताउँछन् । “वित्तीय स्रोतकै अभावमा बजार माग बमोजिम ब्याजदर निर्धारण भएको हो, तत्काललाई ब्याजदर घट्ने अवस्था देखिँदैन । केही समयसम्म सुधार जारी रहिरह्यो भने अवश्य घट्छ” उनले भने ।

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले मौद्रिक नीतिको समीक्षामार्फत ब्याजदर सम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिसकेकाले अब ब्याजदर थप माथि नजाने बताए । स्प्रेड दर घटाउने निर्णय केन्द्रीय बैंकको अत्यन्तै महत्वपूर्ण निर्णय भएको बताउँदै यसले ब्याजदरलाई थप माथि जान नदिने उनको भनाइ छ ।

व्यवसायीहरूले चर्को ब्याजदर घटाउनुपर्ने माग राखिरहेको विषयमा उनले स्प्रेड दर घटाइसकेको अवस्थामा अहिले सबैले संयमितता अपनाउनुपर्ने बताए । “राष्ट्र बैंकले ब्याजदर थप माथि जाँदा व्यावसायिक वातावरण अघि जान पाउँदैन भनेर यससम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिसकेको छ” उनले भने, “त्यसकारण अहिले संयमितता अपनाउने, समन्वनय गर्नुपर्ने बेला हो ।”

उनले माथि गइरहेको स्प्रेड दरलाई घटाइसकेको अवस्थामा अब ब्याजदर स्थायित्व कायम हुने समेत बताए । उनले भने, “यसले कर्जाको ब्याजदर केही हदसम्म घटाउने अवस्था छ ।” राष्ट्र बैंकका अनुसार, अहिले कर्जाको औसत ब्याजदर १२.१९ प्रतिशत छ । मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्र बैंकले वाणिज्य बैंकहरूको औसत ब्याजदर अन्तर (स्प्रेड दर) ४.४ प्रतिशतबाट ४ प्रतिशत बनाएको छ ।

यस्तै विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर अन्तर ५ प्रतिशतबाट ४.६ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ । यसबाट बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्न गई कर्जाको ब्याजदरमा समेत सन्तुलन आउने राष्ट्र बैंकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्