‘परिवर्तन नभए आन्दोलन’

बैंक तथा वित्तीय संस्थाको चर्को व्याजदर घटाउनु पर्नेलगायतका १० वटा माग राखेर अटो व्यवसायीहरुले माइतीघर मण्डलामा बिहीबार धर्ना दिएका छन् ।
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको आयोजानमा भएको धर्नामा सरकारले सवारी साधन आयात खुलाए पनि राष्ट्र बैंकको नीतिका कारण गाडी बिक्री गर्ने वातावरण नभएको आरोप लगाए । उनीहरुले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिए ।
नाडा अध्यक्ष ध्रुव थापाले सवारी आयात गर्न खुला भए पनि एलसी खोली गाडी आयात गर्न ५० प्रतिशत नगद मार्जिन कायम रहेकाले यसलाई हटाउनु पर्ने बताए । उनले भने, “गाडी आयात खुला गरेपनि ५० प्रतिशत नगद मार्जिन र ५० प्रतिशतमात्रै फाइनान्सिङ गर्न पाइने व्यवस्थाले अटो व्यवसायी मारमा परेका छन् ।”
अध्यक्ष थापाका अनुसार सरकार र राष्ट्र बैंकले ५० प्रतिशत नगद मार्जिनलाई पुरानै अवस्थामा ल्याउनुपर्ने र ५० प्रतिशतमात्र फाइनान्सिङ गर्न पाउने व्यवस्थालाई ८० प्रतिशत बनाउनुपर्ने माग रहेको बताए ।
सरकारले प्रतिबन्ध लगाउनुअघि लागू गरिएका सबै व्यवस्था हटाउनुपर्ने माग नाडाको छ । सरकारले गाडी आयात खुल्ला गरे पनि अहिले गाडि खरिद गर्न सक्ने अवस्था नभएकाले ब्याजदरमा कमी ल्याइ कर्जा प्रभाव बढाउनु पर्ने माग नाडाको छ ।