Logo

काठमाडौं ओपनमा रबिलाई उछिन्दै भुवन शीर्ष स्थानमा

सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन भुवन नगरकोटी शीर्ष स्थानमा उक्लिएका छन् । १-अन्डर ६७ को स्कोरमा समग्रमा १०-अन्डर १ सय ९४ सहित शीर्षस्थानमा उक्लन सफल भएका हुन् ।

दुई दिनका लिडर रबि खड्काले बिर्सनलायक प्रदर्शन गर्दा भुवनको उपाधि होड निकै मजबुत बनेको छ । भुवनले रबि र शुक्रबहादुर राईलाई अन्तिम १८ होलको खेल बाँकी छँदा नौ स्ट्रोकले पछि पारेका छन्। शुक्रले १-अन्डर ६७ मा तेस्रो दिनको खेल सकाए । रबिले ९-ओभर ७७ को खराब प्रदर्शन गरे। दुवै जना समग्रमा १-अन्डर २ सय ३ को नतिजामा संयुक्तरुपमा दोस्रो स्थानमा छन् ।

धनबहादुर थापा, दिनेश प्रजापति र कृष्णमान राजबाहक समग्रमा १-ओभर २ सय ५ का साथ संयुक्तरुपमा चौथो स्थानमा रहेका छन् । धनले ३-अन्डर ६५, दिनेशले २-अन्डर ६६ र कृष्णमानले इभन-पार ६८ मा खेल सकाए । ३-ओभर ७१ को नतिजासहित प्रदीपकुमार लामा समग्रमा ३-ओभर २ सय ७ सहित सातौं स्थानमा छन् । रमेश अधिकारी र सुर्यप्रसाद शर्माले समग्रमा ४-ओभर २ सय ८ को नतिजामा संयुक्तरुपमा आठौं स्थान बाँडे ।

३६ होलको समाप्तीमा भुवन मात्र एक स्ट्रोकले पछि थिए।‌ तर तेस्रो दिन १-अन्डर ६७ को स्कोर बनाउँदा उनले नौ स्ट्रोकलो अग्रता बनाए । दोस्रो होलमा बोगी खेपे पनि चौथो र आठौं होलको बर्डीले फ्रन्ट नाइन १-अन्डर ३३ मा सकाए । यसपछि १२ औं, १३ औं र १७ औं होलमा एक/एक सट बचाउँदा १० औं, १५ औं र १८ औं होलको बोगीले ब्याक नाइन इभन-पार ३४ मा सकाए ।

भुवनले नौ स्ट्रोकको अग्रता बनाउनुको प्रमुख कारण रविको खराब प्रदर्शन नै हो । उनले ९-ओभर ७७ को अत्यन्त खराब खेल खेले । दोस्रो, चौथो, छैटौं र नवौं होलमा बोगी प्रहार गर्दै फ्रन्ट नाइन ४-ओभर ३८ मा पुरा गरे । यसपछि पनि सम्हालिन सकेनन् । १० औं र १८ औं होलमा डबल बोगीको सामना मात्र गरेनन् ११ औं र १६ औं होलमा एक/एक सट खेर फाले। १३ औं होलमा एक सट बचाए पनि ब्याक नाइन ५-ओभर ३९ मा सकाए ।

शुक्रबहादुर राईले १-अन्डर ६७ को नतिजामा दोस्रो स्थानमा उक्लने क्रममा फ्रन्ट नाइन २-अन्डर ३२ मा पूरा गरे । उनले पहिलो र चौथो होलमा बर्डी प्रहार गरे । ब्याक नाइनको सुरूवातमा नै डबल बोगी प्रहार गरे । १३ औं होलको बर्डीले १-ओभर ३५ मा ब्याक नाइनको खेल सकाए । एमेच्योरतर्फ समग्रमा ११-ओभर २ सय १५ को नतिजामा अजित बिके शीर्ष स्थानमा छन् । आज उनले ५-ओभर ७३ मा खेल सकाए ।

समग्रमा २ सय ३३ अंक जोडेका प्रज्वल गुरुङ दोस्रो स्थानमा छन् । कुल ६ लाख ७० हजार पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख १६ हजार प्राप्त गर्नेछन्। उपविजेता प्रो खेलाडीले ७४ हजार तथा तेश्रो हुनेले ६३ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट २१ भित्र पर्न सफल प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्