इभी नेपाल मोटर्सको नयाँ गाडी सार्वजनिक, नक्सालमा शोरुम उदघाटन

इभी नेपाल मोटर्सले काठमाडौँको नक्सालमा नयाँ शोरुम उदघाटन गरेको छ । विगत लामो समयदेखि २ पांग्रे सवारीसाधनको बिक्रीवितरण गर्दै आएको इभी नेपाल मोटर्सले ४ पांग्रे सवारीबाट सेवा सुविधा दिलाउने उद्देश्य नयाँ शोरुम सञ्चालनमा ल्याएको जनाएको छ ।
इभी नेपाल मोटर्स अन्तराष्ट्रिय गाडी उत्पादक ब्राण्ड हो । कम्पनीले हाल वलिङ मोटर्स अर्न्तगत पीटी एसगीएमडब्लु मोटर इन्डोनेसियाको लागि उक्त शोरुम सञ्चालनमा ल्याएको हो । कम्पनीले यस शोरुमबाट इण्डोनेशियामा निर्मित चार सिट क्षमता भएको, अमेरिकन जी मोटर्सको पनि लगानी रहेको वलिङ एयर इभी कार बिक्रि गर्नेछ ।
कम्पनीले सोही गाडी पनि आज सार्वजनिक गरेको छ । कम्पनीका अनुसार उक्त इलेक्ट्रिक गाडी विभिन्न मोडेल र रंगहरुमा उपलब्ध रहेका छन् । गाडीले २ सयदेखि ३ सय किलोमिटरको माइलेज दिने, ४ घण्टा ब्याट्री चार्जिङ्ग क्षमता रहेको र ८ वर्ष वारेन्टी सुविधा रहेको कम्पनीले जनाएको छ ।
नेपालमा बजार ग्रुपले डिलर सञ्जाल बढाएर उक्त गाडी बिक्री गर्न लागेको हो । कम्पनीका अनुसार नक्सालको शोरुम बिहान साढे ९ बजेदेखि बेलुका साढे ६ बजेसम्म खुल्ला रहनेछ । उक्त गाडी ड्राईभिङ्गमा आत्मविश्वास बढाउनुका साथै अति सुरक्षित, सुविधाजनक, आरामदायी र भरपर्दो रहेको कम्पनीले जनाएको छ ।