उद्योगी-व्यवसायी उत्पादनमा लाग्नुपर्छ : अर्थमन्त्री «

उद्योगी-व्यवसायी उत्पादनमा लाग्नुपर्छ : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले उद्योगी, व्यवसायी सडक आन्दोलनमा नभइ उद्योग, व्यवसायमा लाग्नुपर्ने बताएका छन् । आज काठमाडौँमा भएको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले उद्योगी, व्यवसायीका समस्या समाधानका लागि सरकार गम्भीर रहको भन्दै सडक आन्दोलनमा नभइ उद्योग, व्यवसायमा लागेर उत्पादन बढाउनुपर्ने बताएका हुन् ।

उनले उद्योग, व्यवसायीका समस्या समाधानका लागि सरकारले विभिन्न प्रतिनिधिसहितको कार्यदलले दिएको सुझावका आधारमा काम भइरहेको बताए । मन्त्री शर्माले सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै बलियो अर्थतन्त्र बनाउन आवश्यक रहेको बताए । उनले व्यवसायीलाई निजी क्षेत्र निराश छन्, अर्थतन्त्र संकटमा छ जस्ता अभिव्यक्ति नदिन आग्रह गरे ।

यस्तै मन्त्री शर्माले सरकारले कोटा परिवर्तन गरेर पीपीए खुला गर्ने निर्णय गरिसकेकाले सम्बन्धित निकायलाई तत्काल पीपीए खुला गर्न आग्रह गरे । पीपीए खुला नगर्दा धेरै व्यवसायी मर्कामा परेको बताए । उक्त कार्यक्रममा उनले अब बिजुली बेच्ने जमाना नभएको भन्दै विद्युतलाई हाइड्रोजन बनाएर तेल आयात गर्ने देशमा इन्धन निर्यात गर्ने देशमा पुर्‍याउने सरकारको लक्ष्य हुनुपर्ने उल्लेख गरे ।

मन्त्री शर्माले अटो व्यवसायीले उठाएको ५० प्रतिशत एलसी मार्जिन लगायतका व्यवस्थाको म्याद थप नहुने बताए । उनले सरकारले अटो व्यवसाय क्षेत्रमा गरेका नीतिगत व्यवस्थाको विषयमा गम्भीररूपमा छलफल भएर निर्णय भएको भन्दै राजपत्रमा प्रकाशित भएपछि लागू हुने बताए । शर्माले अटो व्यवसायीका माग सम्बोधन गर्ने पक्षमा सरकार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्