Logo

मस्र्याङ्दीमा पूर्ण क्षमताको विद्युत उत्पादन

२५ मेगावाट माथिल्लो दोर्दी ‘ए’ बाट व्यावसायिक विद्युत उत्पादन

लमजुङमा निर्माण सम्पन्न २५ मेगावाट माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाले व्यावसायिक विद्युत उत्पादन सुरु गरेको छ । गत महिना विद्युत परीक्षण उत्पादन सुरु गरेको सो आयोजनामा गत शनिबारदेखि नै व्यावसायिक विद्युत उत्पादन सुरु भएको हो । आयोजनाबाट उत्पादित विद्युत १७ मंसिरदेखि व्यावसायिक प्रयोगमा आएको आयोजना प्रवद्र्धक राजेन्द्र वस्तीले जानकारी दिए ।

आयोजना र प्राधिकरणबीच व्यावसायिक उत्पादनको हस्ताक्षर बाँकी रहे पनि गत शनिबारदेखि नै उत्पादित विद्युतको व्यावसायिक कारोबार हुने वस्तीको भनाइ छ । लिबर्टी इनर्जीद्वारा निर्माण भएको सो आयोजना निर्माणकार्य सकिएको लामो समयपछि गत महिनामात्रै परीक्षण उत्पादन भएको हो । विद्युत परीक्षण उत्पादनका क्रममा गत महिना एउटा टर्बाइनमा प्राविधिक समस्या देखिएको र त्यसको मर्मत पश्चात व्यावसायिक उत्पादन सुरु भएको हो । हाल आयोजनाबाट १५ मेगावाट विद्युत उत्पादन भइरहेको आयोजनाले जनाएको छ ।

दुईवटा टर्बाइन रहेको सो आयोजनाबाट प्रतिटर्बाइन सात दशमलव ५ विद्युत उत्पादन भएको प्रवद्र्धक वस्तीले बताए । गत महिना नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिहरूको रोहवरमा आयोजना निरीक्षणसँगै परीक्षण उत्पादन भएको थियो । उत्पादित विद्युत दोर्दीकै कीर्तिपुरस्थित सबस्टेसनमार्फत् १३२ केभी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । १३२ केभी राष्ट्रिय प्रसारण लाइनबाट मस्र्याङ्दी करिडोरको २२० केभी प्रसारण लाइनमा जोडिएको छ ।

लमजुङको दोर्दी गाउँपालिका–६, ढोडेनीमा २०७१ असोजबाट निर्माण थालिएको सो आयोजना २०७४ मसान्तसम्म व्यावसायिक विद्युत उत्पादन गर्ने लक्ष्य राखिए पनि पटक–पटक निर्माण कार्य प्रभावित हुँदै आएको थियो । सो आयोजनामा हेडवक्र्ससँगै बाँधक्षेत्र, पावरहाउस, इलेक्ट्रोमेकानिकल लगायत अन्य संरचना निर्माणको काम अघिल्लो वर्ष नै सम्पन्न भइसकेको थियो । तर गत वर्ष दोर्दी खोलामा आएको बाढीका कारण आयोजनामा क्षति पुगेपछि निर्माण अवधि पुनः लम्बिएको थियो ।

२०७४ सालमै निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको सो आयोजना विनासकारी भूकम्पपछिको अघोषित नाकाबन्दी र पटक पटक बाढीका कारण निर्माण अवधि लम्बिँदै आएको हो । आयोजनाको बाँधस्थल लोदो खोलाबाट २७ सय मिटर लामो भूमिगत सुरुङ र २७ सय मिटर लामो पेनस्टक पाइपमार्फत् दोर्दी खोलाको पानीलाई विद्युतगृहमा पु¥याई विद्युत उत्पादन सुरु भएको छ ।

रन अफ रिभर प्रविधिमा बनेको सो आयोजनाको चार अर्ब ६३ करोडभन्दा बढी रकम लागत रहेको छ । १२ दशमलव पाँच मेगावाट क्षमताका दुईवटा पेल्टन टर्बाइन रहेको यस आयोजनामा हिउँदको समयमा आठ रुपैयाँ ४० पैसा र बर्खाको समयमा चार रुपैयाँ ८० पैसा रहने गरी पवद्र्धक कम्पनी लिबर्टी र विद्युत प्राधिकरणबीच विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भएको छ ।

मस्र्याङ्दीमा पूर्ण क्षमताको विद्युत उत्पादन

तनहुँको आँबुखैरेनी गाउँपालिकामा रहेको मस्र्याङ्दी जलविद्युत आयोजनाले हिउँदको सुक्खा समयमा पनि पूर्ण क्षमतामा विद्युत उत्पादन गर्दै आएको छ । गत असोज महिनामा भएको अत्यधिक वर्षाका कारण नदीमा बढेको पानीको बहाव अहिलेसम्म पर्याप्त रहेकाले पूर्ण क्षमतामा विद्युत उत्पादन भइरहेको हो ।

विगतका वर्षको यसै समयमा पानीको बहाव घट्दा ४० मेगावाटको हाराहारीमा विद्युत उत्पादन हुने गरेको केन्द्रका इन्जिनियर जगदीश ढुंगानाले जानकारी दिए । यस आयोजनाको तीनवटा युनिटबाट २३ मेगावाटका दरले ६९ मेगावाट विद्युत उत्पादन गरी वितरण हुँदै आएको उनले बताए ।

मस्र्याङ्दी हिमालबाट बगेर आएको नदी भएकोले गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिउँ पग्लेर आउने भएकाले नदीमा पानीको बहावमा खासै कमी नहुने सो केन्द्रले जनाएको छ । सहायक नदी र खोलामा पानीको बहाव बढेसँगै विद्युत उत्पादन पनि बढ्ने गरे पनि हिउँद महिनमा कम विद्युत उत्पादन हुने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्