समानुपातिकको सिट बाँडफाँट

चार मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना सकिएसँगै निर्वाचन आयोगले समानुपातिक मतको आधारमा दलहरुले पाउने सिट निर्धारण गरेको छ । बुधबार निर्वाचन आयोगले समानुपातिकतर्फको अन्तिम सूची सार्वजनिक गरेसँगै मत परिणामको अन्तिम टुंगो लागेको हो ।
अन्तिम नतिजाअनुसार प्रत्यक्षमा ५७ सिट जितेको कांग्रेसले समानुपातिकमा ३२ सिट पाएको छ । ८९ सिट जितेर कांग्रेस पहिलो भएको छ । नेकपा (एमाले)ले प्रत्यक्षमा ४४ र समानुपातिकमा ३४ गरेर ७८ सिट जितेको छ । तेस्रो दल बनेको नेकपा (माओवादी केन्द्र)ले प्रत्यक्षमा १८ र समानुपातिकमा १४ गरी जम्मा ३२ सिट जितेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षमा सात र समानुपातिकमा १३ सिट गरी जम्मा २० सिट जितेर चौथो ठूलो शक्ति बनेको छ । राप्रपा प्रत्यक्षमा सात र समानुपातिकमा पनि सात गरी १४ सिट जितेर पाँचौं बनेको छ । प्रत्यक्षमा पाँच र समानुपातिकमा सात गरी १२ सिटसहित जनता समाजवादी (जसपा) छैटौं ठूलो दल बनेको छ । प्रत्यक्षमा एक र समानुपातिकमा पाँच सिट जितेर सीके राउत नेतृत्वको जनमत पार्टी पनि राष्ट्रिय दल बनेको छ ।
यी सातबाहेक अरू दलले समानुपातिकमा थ्रेसहोल्ड कटाउन सकेनन् । एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी)ले प्रत्यक्षमा १० सिट जिते पनि समानुपातिकमा थ्रेसहोल्ड कटाउन सकेन । यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रत्यक्षमा चार सिट जितेको छ भने नागरिक उन्मुक्ति पार्टीले तीन सिट जितेको छ । नेमकिपा र राष्ट्रिय जनमोर्चाले १–१ सिट जितेका छन् । पाँचजना स्वतन्त्र सांसद विजयी भएका छन् ।