वीरेन्द्रचोकका टहरा हटाउन निर्देशन

बेनी नगरपालिकाले सडक मिचेर बनाइएका टहरा हटाउन सूचना जारी गरेको छ । सदरमुकाम बेनीस्थित वीरेन्द्रचोक आसपासमा टहरा र व्यावसायिक टंकी हटाउन व्यवसायीलाई आग्रह गरेको हो । सडक छेवैमा वर्षौंदेखि टहरा राखेर व्यवसाय गर्दै आएका व्यवसायीलाई ठाउँ खालि गर्न नगरले ३५ दिने सूचना जारी गरेको छ ।
सडक अतिक्रमण गरेर बसेका कतिपय टहरा र टंकीले नगरलाई बुझाउनुपर्ने भाडा बुझाउनसमेत अटेर गर्दै आएका छन् । सडक छेउछाउमा बसेका ११ जनाका नाममा ३५ दिनभित्रमा ठाउँ खालि गरिदिन भन्दै नगरले १५ मंसिरमा सार्वजनिक सूचना जारी गरेको छ । १३ मंसिरमा बसेको कार्यपालिकाको बैठकले उक्त स्थानका टहरा हटाउने निर्णय गरेको जारी सूचनामा उल्लेख छ ।
३५ दिनभित्र आफै ठाउँ खालि नगरे नगरपालिकाले बल प्रयोग गरेर खालि गर्ने चेतावनी सूचनामा दिएको छ । वीरेन्द्रचोक, बेनी सामुदायिक विद्यालयको चोक, नेपाल टेलिकम अगाडि र नगर गेट अगाडि वर्षौंदेखि ठेला र टहरा हालेर बसेका छन् । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङमार्फत वीरेन्द्रचोकदेखि नगरपालिका कार्यालय अगाडिसम्म नाली निर्माण, बेनी सामुदायिक विद्यालय अगाडिको चोकलाई फराकिलो पार्ने योजनाका लागि ९७ लाख रुपैयाँ रकम विनियोजन भएको नगर प्रमुख सुरत केसीले बताए ।
“बेनी सामुदायिक विद्यालयको गेट अगाडि हिउँदमा धुलो र वर्षात्को समय हिलो हुने गरेको छ । बेनीदेखि दरबाङ, अर्थुङ्गे, पुलाचौर, पाखापानी जाने सवारीसाधन पनि यही चोक हुँदै जाने भएकाले साँघुरो भएको छ,” नगर प्रमुख केसीले भने, “वीरेन्द्रचोकदेखि नगर गेटसम्मका सबै टहरा, व्यावसायिक टंकी र ठेला हटाएर नालीसहित सडक फराकिलो बनाउने र ढलान गर्ने नगरको योजना छ ।”
सडक अतिक्रमण गरेर बसेका ठेला, टहरा र टंकीलाई हटाएर सडक फराकिलो बनाउनुपर्ने नगरवासीले विगतदेखि नै माग गर्दै आए पनि जनप्रतिनिधि र कर्मचारीले प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकेको छैन । सदरमुकाम बेनीमा वर्तमान जनप्रतिनिधि र पूर्वजनप्रतिनिधिले सडक, सरकारी जग्गा मिचेर भाडा लगाउने पूर्वाधार बनाउनाले पार्किङलगायतको समस्या बजारमा बढेको छ ।