व्यवस्थापनमा नेतृत्वको अर्थ र महत्व «

व्यवस्थापनमा नेतृत्वको अर्थ र महत्व

शक्तिको प्रयोग नगरीकन आफ्ना अनुयायीहरूबाट अपेक्षित कार्यहरू गराउने क्षमता नै नेतृत्व हो ।

नेतृत्वबिना समग्र संगठनको उद्देश्य हासिल गर्न विभिन्न कार्य, विभिन्न तहगत लक्ष्य र विभिन्न व्यक्तिगत लक्ष्यबीच समन्वय ल्याउन सकिँदैन । त्यसैले संस्थालाई सही मार्गतर्फ डो-याउन पनि नेतृत्वको महत्वपूर्ण भूमिका रहन्छ । नेतृत्व प्रभावकारी हुन जरूरी छ । यदि नेतृत्व गतिहीन तथा अक्षम भयो भने संस्थालाई मार्गदर्शन दिन सक्दैन । नेतृत्व लिने व्यक्तिमा अरूलाई प्रभाव पार्न सक्ने र समग्र संस्थालाई सफलताको मार्गमा डो-याउन सक्ने विशिष्ट खुबी हुन जरूरी छ । त्यसैले व्यवस्थापक एक कुशल नेता हुनु अनिवार्य छ । ‘नेतृत्व’ शब्दलाई स्पष्ट रूपमा सजिलै परिभाषित गर्न सकिँदैन । यो अनुयायीहरूलाई प्रोत्साहित गर्ने, स्वेच्छाले कार्य गर्ने, विश्वास जगाउने तथा निष्ठावान् बनाउने गुण हो । नेतृत्वलाई सञ्चारद्वारा अपेक्षित लक्ष्यहरू हासिल गर्न अन्य व्यक्तिहरूको (अनुयायीहरूका) क्रियाकलापहरूलाई प्रभावित गर्ने क्षमताका रूपमा परिभाषित गर्न सकिन्छ । यसले अनुयायीहरूमा लक्ष्य प्राप्तिका लागि मनैदेखि इच्छा जगाउँछ । यस परिभाषाले कोही पनि व्यक्ति (अनुयायीहरूको अभावमा नेता बन्न सक्दैन भन्ने संकेत गर्छ । नेतृत्वको प्रमुख उद्देश्य नै महत्वपूर्ण लक्ष्य हासिल गर्न प्रभावित गर्नु हो । त्यसैले नेतृत्वको मार नै प्रभाव पार्नु हो । यो व्यक्तिगत, सामूहिक तथा संगठनात्मक लक्ष्यहरू हासिल गर्न व्यवस्थापकमा हुनुपर्ने महत्वपूर्ण तथा अत्यावश्यक सीप हो । कुञ्ज र वाइरिचका शब्दहरूमा— “नेतृत्व भनेको प्रभाव हो, जुन सामूहिक लक्ष्य प्राप्तिका लागि मानिसहरूमा इच्छा जगाउने वा उत्साहित हुने गरी प्रभावित पार्ने कला वा प्रक्रिया हो ।” नेतृत्व हरेक व्यवस्थापकले सम्पादन गर्नुपर्ने कार्य हो । व्यवस्थापकको आफ्ना मातहतका कर्मचारीहरूलाई अगुवाइ गर्ने गुणलाई नेतृत्व भनिन्छ । यो गुण सबै व्यक्तिमा हुँदैन । जुन व्यक्तिमा नेतृत्वको गुण हुन्छ उसले आफ्ना साथीहरू र मातहतका व्यक्तिहरूलाई कुशलतासाथ प्रोत्साहित गर्छ, उनीहरूमा विश्वास जगाउँछ तथा आफू एवं संस्थाप्रति निष्ठावान् बनाउँछ ।
नेतृत्व भन्नाले सामूहिक उद्देश्य प्राप्तिकालागि परिस्थितिअनुसार अनुयायीहरूलाई प्रभावित गर्न सक्ने क्षमता वा गुणलाई जनाउँछ । व्यवस्थापकले मातहतका कर्मचारीहरूमा आत्मविश्वास र काम गर्ने भावना जगाउन सक्नुपर्छ । उसले सङ्गठनात्मक लक्ष्यतर्फ मानिसको प्रयास लगाउन निर्देशित गर्छ, उत्प्रेरित उत्साहित गर्छ । एउटा नेता व्यवस्थापक हुन वा नहुन पनि सक्छ तर व्यवस्थापक नेता हुनैपर्छ । अर्को शब्दमा, व्यवस्थापक आफ्ना मातहतका कर्मचारीहरू वा समूहलाई उत्साहित एवं नेतृत्व गर्नमा सक्षम हुनुपर्छ । नेतृत्व व्यवस्थापनको अत्यन्तै महत्वपूर्ण कार्य हो । कुशल नेतृत्वबिना संगठनको व्यवस्थापन अपुरो र अधुरो हुन्छ । नेतृत्व भनेको खास उद्देश्य पूर्तिका लागि आफ्नो मातहतमा रहेका व्यक्तिहरूलाई उत्साहपूवर्क कार्य गर्न प्रभावित गर्ने प्रक्रिया हो । संगठनमा नेतृत्व भन्नाले संगठनात्मक लक्ष्य र उद्देश्य प्राप्तिका लागि आफू अधिनसाथ कामदार तथा कर्मचारीलाई निर्देशन दिने तथा उनीहरूलाई प्रभावित पार्ने कार्य भन्ने बुझिन्छ । नेतृत्वसँगै नेता र अनुयायीको सुरुवात हुन्छ । नेता भन्नाले संगठनमा अधिकार प्राप्त व्यक्ति हो । जसले नीति–नियमअनुसार निर्देशन दिने अधिकार प्राप्त गरेको हुन्छ । अनुयायी भन्नाले नेताले दिएको निर्देशनअनुरूप कार्य गर्ने व्यक्ति हुन् । यसरी संगठनहरूमा व्यवस्थापक र कर्मचारीबीचमा नेता र अनुयायीका सम्बन्ध रहेको हुन्छ । नेतृत्व एक महत्वपूर्ण व्यवस्थापकीय कार्य हो । कुशल तथा प्रभावकारी नेतृत्वको अभावमा संगठनात्मक उद्देश्य प्राप्त गर्न सम्भव हुँदैन । कुशल नेतृत्वबिनाको संगठन मियोबिनाको दाई सरह हुन्छ । नेतृत्व दिने नेता सक्षम तथा दूरदर्शी हुनुका साथै प्रभावकारी व्यक्तित्व हुनुपर्छ । त्यसैले भनिन्छ, संगठनात्मक लक्ष्य हासिल गर्नका लागि संस्थालाई नेतृत्व दिने व्यवस्थापक असल नेतामा हुनुपर्ने गुणयुक्त हुनुपर्छ । यसप्रकार नेतृत्व नेताद्वारा अनुयायीहरूलाई प्रभाव पार्ने एक कला हो । संगठनात्मक लक्ष्यप्राप्तिका लागि नेतृत्वको अहम् भूमिका हुन्छ । कुनै पनि संगठन सफल र सुचारु रूपमा सञ्चालनका लागि व्यवस्थापकले कुशल नेतृत्व अपनाएको हुनुपर्छ । त्यसका लागि नेतामा पर्याप्त बौद्धिक क्षमता, दूरदर्शिता र नैतिकता र मिलनसार व्यवहार हुनु जरूरी हुन्छ ।
अनुयायीहरू नभइकन कोही पनि व्यक्ति नेता बन्न सक्तैन । एक नेताले अनुयायीहरूबाट अख्तियार प्राप्त गर्छ जसले उसलाई नेताको रूपमा स्वीकार्छन् । त्यसैले अनुयायीबिना नेतृत्वको कल्पना पनि गर्न सकिँदैन । नेतृत्वमा नेता, अनुयायीहरू र परिस्थितिको घनिष्ठ सम्बन्ध हुन्छ । अनुयायीहरूबिनाको नेतृत्व हुन सक्तैन । असल नेताले समूहका सदस्यहरूलाई प्रभावित गर्ने, उनीहरूको विश्वास जित्ने, अनुयायीहरूको व्यवहार, सोचाइ र विश्वासमा प्रभाव पार्न सक्नुपर्छ । अनुयायीहरूले नेताको इच्छा बुझ्ने र उसको सुझाव, पथप्रदर्शन स्वीकार गर्ने हुनुपर्छ । नेतृत्व भनेको अनुयायीहरूको व्यवहार तथा प्रयासहरूलाई प्रभाव पार्ने क्षमता हो । जब कर्मचारीहरूले निर्देशनहरूलाई उत्साहपूर्वक स्वेच्छाले पालना गर्छन् भने उनीहरूलाई निर्देशन दिने व्यक्तिले प्रभाव पारेको मान्न सकिन्छ । जी.आर.टेरीका शब्दहरूमा— “साझा उद्देश्यहरू स्वेच्छापूर्वक हासिल गर्न मानिसहरूलाई प्रभाव पार्ने क्रियाकलाप नै नेतृत्व हो ।” नेता र अनुयायीहरूका एउटै वा साझा उद्देश्यहरू हुनुपर्छ । नेतृत्वद्वारा साझा उद्देश्यहरू हासिल गर्न अनुयायीहरूको व्यवहारलाई मार्गदर्शन तथा निर्देशित गर्छ । यसका लागि नेताले अनुयायीहरूलाई एकत्रित गरी उत्प्रेरित गर्छ । नेतृत्वको अर्को विशेषता हो नेता र अनुयायीहरूको एउटै वा समान उद्देश्य हुनु । सामूहिक उद्देश्य प्राप्तिका लागि नेताले नेतृत्व गर्छ भने अनुयायीहरू पछि लाग्छन्, तर मूलभूत उद्देश्य स्पष्ट रूपले परिभाषित गरिएको हुनुपर्छ ।
नेतृत्वअन्तर्गत नेता र अनुयायीहरूबीच अख्तियारको असमान वितरण हुन्छ । नेताले अनुयायीहरूलाई निर्देशन गर्छ भने अनुयायीहरूले नेताको निर्देशनको पालना गर्छन् । तर, अनुयायीहरूले नेताको क्रियाकलापलाई निर्देशित गर्न सक्तैन । नेतृत्व एक निरन्तर चलिरहने प्रक्रिया हो जसमा नेता र अनुयायीहरूबीच नियमित सञ्चार आवश्यक हुन्छ । नेतृत्व भनेको निर्धारित लक्ष्यहरू हासिल गर्न अनुयायीहरूलाई निरन्तर रूपमा निर्देशित गर्ने, मार्गदर्शन गर्ने र प्रभाव पार्ने प्रक्रिया हो । नेतृत्व सदैव खास परिस्थितिसँग सम्बन्धित हुन्छ । कुनै विशिष्ट नेतृत्व शैली कुनै परिस्थितिमा सफल हुन्छ भने अर्को परिस्थितिमा असफल पनि हुन सक्तछ । त्यसैले नेताले परिस्थितिअनुकूल उपयुक्त नेतृत्व अपनाउनुपर्छ । विभिन्न परिस्थितिमा अनुयायीहरूले नेताको तानाशाही व्यवहार पनि स्वीकार गर्छन् भने अर्को परिस्थितिमा सहभागिता नेतृत्व शैली मात्रै प्रभावकारी हुन सक्तछ । नेतृत्वको अर्को विशेषता हो कार्य सम्बन्ध स्पष्ट हुनु । नेता र अनुयायीहरूले सङ्गठनमा गर्नुपर्ने काम र त्यसको सम्बन्ध स्पष्ट हुनुपर्छ । उनीहरूको एउटै उद्देश्य हुनाले सो हासिल गर्नका लागि नेता र अनुयायीहरू–बीचको कार्यगत सम्बन्ध निश्चित गर्नुपर्छ । नेताले आफ्नो कार्यसम्पादन गर्नुका साथै अनुयायीहरूलाई सुम्पेको कार्य गर्नमा उनीहरूलाई उत्साहित र आकर्षित गर्छ । समूहबाट नेतृत्व लिनका लागि नेताको आचरण, व्यवहार, योग्यता उदाहरणीय हुनुपर्छ । आफ्ना अनुयायीहरूबाट विश्वास प्राप्त गर्न उसले अनुकरणीय आचरण, विशेष क्षमता र दक्षताको प्रदर्शन गर्न सक्नुपर्छ । उसको आचरणबाट अनुयायीहरूले सिक्ने, प्रोत्साहित हुने र प्रभावित हुने स्थितिको सिर्जना हुन सकोस् ।
नेतामा आफूलाई प्राप्त अधिकार तथा शक्ति प्रयोग गर्ने क्षमता हुनुपर्छ । अधिकार तथा शक्ति प्रयोग गर्न नसक्ने व्यक्तिले मातहतका कर्मचारीहरूलाई नेतृत्व प्रदान गर्न सक्तैन । मानिसको आवश्यकता, चाहना, भावना तथा व्यवहार फरक–फरक हुन्छ । तर पनि नेतामा कर्मचारीको त्यस्तो मनोवैज्ञानिक पक्ष पनि बुझ्न सक्ने क्षमता हुनुपर्छ । आफ्ना अनुयायीको लोकप्रिय बन्न सक्नु पनि नेतामा हुनुपर्ने महत्वपूर्ण गुण हो । सच्चा, इमानदार, निष्ठावान्, लगनशील भई अनुयायीहरूलाई उत्साहित गर्न सक्नुपर्छ । अनिमात्र कर्मचारीबाट पूर्ण क्षमतामा काम लिन सकिन्छ । नेता योग्य तथा क्षमतावान् हुनुपर्छ । परिवर्तित परिस्थितिअनुसार सफलतापूर्वक काम गर्न सक्ने भएमा मात्र नेताले सफल नेतृत्व दिन सक्छ । नेता काममा विश्वास राख्ने हुनुपर्छ । संस्थाको उद्देश्य प्राप्तिका लागि कर्मचारीहरूलाई परिचालन गर्नमा नेतृत्वको भूमिका सर्वोपरि हुन्छ । सबै व्यक्ति तथा व्यवस्थापकमा नेतृत्व क्षमता समान रहँदैन । कुनै व्यक्ति आफ्नो कार्यमा सफल हुन्छ भने कतिपय व्यक्तिहरू लक्ष्य प्राप्तिमा असफल हुन्छन् । कुशल व्यवस्थापक हुनका लागि उसमा नेतृत्व क्षमता हुनुपर्छ । नेतृत्व क्षमताका लागि व्यवस्थापकमा केही मूलभूत गुण हुनुपर्छ । मानव व्यवस्थापनमा नेतृत्वले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । शक्तिको प्रयोग नगरीकन आफ्ना अनुयायीहरूबाट अपेक्षित कार्यहरू गराउने क्षमता नै नेतृत्व हो ।
एक कुशल नेतामा आकर्षक व्यक्तित्व तथा प्रसन्न मुद्रा हुनुपर्छ । ऊ मानसिक तथा शारीरिक दृष्टिले स्वस्थ एवं सुदृढ हुनुपर्छ । उसमा शान्त स्वभाव, बोल्ने क्षमता र उचित व्यवहार गर्ने क्षमता हुनुपर्छ । साथै उसमा कडा परिश्रम गर्ने जाँगर तथा फूर्ति हुनुपर्छ । एउटा कुशल नेतामा अगुवाइ र पहल गर्ने क्षमता हुनुपर्छ । व्यवसायको वातावरणमा अत्यधिक अनिश्चितता तथा जटिल हुनाले नेताले निर्णयहरू शीघ्र गर्नुपर्ने हुन्छ । त्यसैले कुशल नेतामा शान्तपूर्वक समस्याहरूको सामना गर्न आत्मविश्वास, कल्पनाशक्ति, सिर्जनात्मक क्षमता र साहस हुनुपर्छ । एउटा कुशल नेताको स्वभाव सन्तुलित हुनुपर्छ । यसका लागि नेताले आवेग, अस्थिरता र निराशाजस्ता संवेगहरू त्यागी सहिष्णुताको विकास गर्नुपर्छ । समस्याको सामना गर्नुपर्दा जहिले पनि ऊ उत्साही र प्रसन्न रहनुपर्छ । कुनै पनि नेता सफल नेता बन्नका लागि उसको स्वभाव लोचदार हुनुपर्छ । आवश्यकतानुसार अरूका विचारलाई स्विकारेर आफ्नो विचारलाई परित्याग गर्न पनि तयार हुनुपर्छ । हरेक क्षेत्र द्रुतगतिमा परिवर्तन भइरहेको अहिलेको परिस्थितिमा लोचदार नीति अपनाउनु महत्वपूर्ण मानिन्छ । एउटा कुशल नेतामा जिम्मेवारीको भावना हुनुपर्छ । आफूले गरेका सम्पूर्ण निर्णयहरूको जिम्मेवारी आफैंले बहन गर्नुपर्छ । साथै आफ्ना अनुयायीहरूले गरेका क्रियाकलापहरूको जिम्मेवारी पनि बहन गर्नुपर्छ । सहायकहरूले उसलाई विश्वास गर्न ऊ विश्वासिलो हुनुपर्छ । कुशल नेता विश्वासिलो हुनुपर्छ जोप्रति सहायकहरू भर पर्न सकून् । उसले परिणामका लागि उत्तरदायित्व वहन गर्न तत्पर रहनुपर्छ । नेता चरित्रवान् हुनुपर्छ । नेताको सच्चरित्रले अनुयायीहरूको सामु अनुकरणीय उदाहरण प्रस्तुत गर्न सक्नुपर्छ । उसको आचरण र व्यवहार स्वच्छ हुनुपर्छ । उसको क्रियाकलाप र मनोवृत्ति नैतिक रूपमा समर्थनीय हुनुपर्छ । यसका साथै ऊ इमान्दार तथा शिष्ट हुनुपर्छ । यसले अनुयायीहरूमा आत्मविश्वास सिर्जना गर्छ । नेता एक्लैले संगठनात्मक क्रियाकलाप सञ्चालन गर्न सक्दैन । उसले अनुयायीमार्फत विभिन्न क्रियाकलापहरू सम्पादन गराउनुपर्ने हुनाले नेता अनुयायीहरूसँग निकट हुनुपर्छ । अनुयायीहरूको विचार, भावना, सोंच र दृष्टिकोणलाई बुभझ्न सकेमा मात्र नेता सफल बन्न सक्छ । नेतामा व्यक्तिगत लक्ष्य र स्वार्थलाई त्यागेर संगठन र संगठनात्मक लक्ष्यप्रति आफूलाई समर्पित गर्ने गुण हुनुपर्छ । उसले व्यक्तिगत र अनौपचारिक क्रियाकलापभन्दा सामूहिक र अनौपचारिक कार्यहरूमा केन्द्रित हुनुपर्छ । नेता सामूहिक हितका लागि समर्पित भएमा निश्चय नै उसले अधिनस्थ कर्मचारीलाई पनि संगठनप्रति समर्पित गराउन सक्छ ।
एक कुशल नेताले राम्ररी कार्यसम्पादन गर्न हौसला प्रदान गर्छ । कर्मचारीहरूबाट अपेक्षित कार्य गराउन उनीहरूलाई उत्प्रेरित गर्नु आवश्यक हुन्छ । नेताले आर्थिक तथा गैरआर्थिक पुरस्कार दिई कर्मचारीहरूलाई उत्प्रेरित गर्छ । नेताको रूपमा व्यवस्थापकले योग्य कामदारहरूलाई पुरस्कारका रूपमा हौसला दिन तथा बढुवा गर्न सक्छ । कर्मचारीहरूको मनोबल उच्च पार्न कुशल नेतृत्व एक अत्यावश्यक तŒव हो । कुशल नेताले समूहको सोचाइ र मनोवृत्तिलाई आफ्नो अनुकूल गर्छ । उसले असल मानवीय सम्बन्ध विकास गरी समूहका सदस्यहरूबीच अन्तक्र्रिया गर्न सुविधा पु-याउँछ । उसले अनुयायीहरूबीच स्वेच्छिक सहयोगात्मक र अनुशासित वातावरण कायम गर्छ । कर्मचारीहरूलाई परिवर्तनको आवश्यकताबारे विश्वस्त पार्ने संयन्त्र नेतृत्व हो । संगठनात्मक परिवर्तनको प्रमुख तत्व नै गतिशील नेतृत्व हो । एक कुशल नेताले कर्मचारीहरूबाट हुन सक्ने परिवर्तनप्रतिको अवरोध समाधान गरी परिवर्तनप्रति सकारात्मक भावना सृजना गर्छ । व्यावसायिक संगठनहरूमा कडा प्रतिस्पर्धाका कारण निर्णयहरू तुरून्तै गर्नुपर्छ । निर्णय लिन ढिलो भएमा आफूले पाउने अवसर अन्य प्रतिस्पर्धीले प्राप्त गर्न सक्छन् । तर निर्णय गर्न क्रममा व्यवस्थापकले भूत, वर्तमान र भविष्यलाई राम्रोसँग विश्लेषण गरी विवेकपूर्ण निर्णय लिएका हुनुपर्छ । कार्यसम्पादनका लागि कर्मचारीहरूलाई निर्देशन दिनु पनि नेताको महत्वपूर्ण कार्य हो । संगठनात्मक लक्ष्य प्राप्तिका लागि व्यवस्थापकले अधीनस्थ कर्मचारीहरूलाई कार्य निर्देशन दिनुपर्छ । निर्देशन दिँदा एउटा कार्यका लागि एउटा व्यक्तिलाई एउटै मात्र व्यवस्थापकले दिनु उपयुक्त हुन्छ । नेता एक्लैले संगठनका सम्पूर्ण कार्यहरू गर्न सक्दैन; तसर्थ उसले आफ्नो मातहतमा रहेका कर्मचारीहरूलाई कार्यसम्पादनका लागि अख्तियारी प्रदान गर्छ, तर अख्तियार प्रदान गरेपछि पनि संगठनका सम्पूर्ण कार्यहरूको उत्तरदायित्व भने बहन गर्नुपर्छ । एउटा योग्य नेताले या त आफैंले सङ्गठनात्मक संरचना तयार गर्छ या वैदेशिक ढङ्गले सङ्गठन ढाँचा बनाउनमा सहयोग गर्छ । यसबाट उच्च व्यवस्थापनका नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्नमा सङ्गठनका विभिन्न अङ्गहरू संवेदनशील हुन्छन् । नेताले व्यक्तिगत लक्ष्यलाई सङ्गठनात्मक लक्ष्यसँग उचित तालमेल मिलाउँछ, जसबाट सामूहिक हितको सिर्जना हुन्छ । उसले समूहका कार्यहरूका बारेमा राम्रो जानकारी राख्छ तथा सामूहिक प्रयासहरूको समन्वय गर्नका लागि विचार–विमर्श, छलफल गर्छ । त्यसैले सङ्गठनमा लक्ष्यहरू र कार्यहरूको समन्वय गर्नमा नेतृत्व ज्यादै महत्वपूर्ण हुन्छ । कर्मचारी कामदारलाई उचित निर्देशन दिने कार्य गर्छ ।
निर्णय प्रक्रियामा मातहतका कर्मचारीहरू सहभागी गराउने हुनाले उत्तम निर्णय गर्ने सम्भावना हुन्छ । यसमा कर्मचारीहरूको राय सुझावलाई दृष्टिगत गरी निर्णय गरिने हुनाले कर्मचारीहरू बढी सन्तुष्ट हुन्छन् । साथै उनीहरूमा बढी उत्प्रेरित हुन्छन् र उनीहरूको मनोबल उच्च हुन्छ । निर्णय प्रक्रियामा कर्मचारीहरूको सहभागिता हुने हुनाले यसले समूहको सहयोगात्मक भावना विकास गर्छ र परिवर्तनप्रतिको विरोधमा कमी गर्छ । यसले उनीहरूका गुनासाहरूमा कमी गर्छ । कर्मचारीहरूले मन लगाएर योजना कार्यान्वयन गर्ने हुनाले उनीहरूको उत्पादकत्वमा वृद्धि गर्छ । निर्माण प्रक्रियामा कर्मचारीहरूसँग छलफल गरिने हुनाले उनीहरूले आफ्नो क्षमताको पुर्ण सदुपयोग गर्ने अवसर प्राप्त गर्छन् र उनीहरूको निर्णय लिने क्षमतामा वृिद्ध गर्छ । मातहतका कर्मचारीहरूसँग विचार विर्मश गरी निर्णय गरिने हुनाले यसमा बढी समय लाग्छ । यसले समस्या समाधान गर्न र निर्णय लिने कार्यमा नेताको अदक्षता र असक्षमता झल्काउँछ । तल्लो तहको कर्मचारीहरूले संगठनको जटिल प्रकृति बुझ्न नसक्ने हुनाले उनीहरूको सहभागिता प्रभावकारी नहुन सक्छ । यसलाई कार्यभार र जिम्मेवारी पन्छाउने उपायका रूपमा प्रयोग गर्न सक्छ । स्थानीय निकायका लागि स्थानीय नेतृत्वले क्षेत्र र केन्द्रबीच स्थानीय र क्षेत्रीय तहका लागि नीति निर्माण, योजना तर्जुमा र आयोजना सञ्चालनका लागि समन्वयको कार्य गर्छ । स्थानीय नेतृत्व स्थानीय शासनमा सहभागी भएको नाताले सुशासनको अवधारणालाई स्थानीय तहबाट सफल रूपमा कार्यरूप दिन मद्दत पु-याउँछ ।
(लेखक भक्तपुर बहुमुखी क्याम्पसका अर्थशास्त्रका सह–प्राध्यापक हुन् ।)

प्रतिक्रिया दिनुहोस्