Logo

हस्तकला व्यापार मेला र प्रतियोगिता मंसिर २३ देखि

नेपाल हस्तकला महासंघले १९ औं हस्तकला व्यापार मेला तथा १७ औं हस्तकला प्रतियोगिता यही मंसिर २३ देखि २७ गतेसम्म होटल हायातमा आयोजना गर्ने भएको छ । पाँच दिनसम्म चल्ने मेला होटल हायात रेजेन्सी, बौद्धमा आयोजना हुनेछ । हस्तकला व्यापार मेलाको उदघाटन सम्माननीय राष्ट्रपति वा प्रधानमन्त्रीबाट गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

हस्तकला वस्तुहरुको १५० ओटा स्टलहरु रहनेछन् भने ७० वर्ष नाघेका ज्येष्ठ कलाकार तथा आर्थिक वर्ष २०७८/७९ मा हस्तकला वस्तुहरु विदेशी बजारमा निर्यात गर्ने अग्रणी निकासीकर्ताहरुलाई सम्मान गरिनेछ । यस मेलाले स्वदेश तथा विदेशमा उत्पादन भएका उत्कृष्ट सामग्रीहरु ग्राहकमाझ ल्याउन मद्दत गर्ने महासंघको भनाइ छ ।

१७ औं हस्तकला प्रतियोगितामा प्रमुख आर्कषणको रुपमा कला प्रतियोगिता अन्तर्गत काष्ठकला, प्रस्तरकला र सेरामिकको प्रयोगबाट मानव मुखाकृति भएको गरुड (बन्टेज) बनाउने विधा, प्राकृतिक रेसाहरुको प्रयोगबाट मफलर बनाउने प्रतियोगिता पनि सञ्चालन हुनेछ । उक्त १७ औं हस्तकला प्रतियोगितामा विजेता कलाकारहरुलाई प्रथम पुरस्कार ५० हजार, द्धितीय पुरस्कार ३० हजार तथा तृतीय पुरस्कार २० हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ ।

मेलामा विगतको जस्तै हस्तकला सामानहरुको बजार प्रवर्द्धन , प्रचार प्रसारका साथै निर्यात व्यापार प्रवर्द्धन गर्ने प्रमुख कार्यक्रम हुनेछ । हाल नेपाली हस्तकलाका सामग्रीहरु वार्षिक करिब १२ अर्ब रुपैयाँ बराबरको मूल्यमा विश्वका ६० भन्दा धेरै देशहरुमा निकासी भइरहेको महासंघको दावी छ ।

राष्ट्रिय अर्थतन्त्रमा समेत यस उद्योगले योगदान पुर्‍याउँदै आएको महासंघले जनाएको छ। अन्तरराष्ट्रिय बजारमा पहुँच पुग्न नसक्ने घरेलु, लघु एवं साना हस्तकला उद्यमी व्यवसायीले विदेशी आयातकर्ताहरुसंग व्यवसायिक सम्बन्ध स्थापित गर्न सक्ने अवसर प्राप्त गर्न सक्नेछन् ।

साथैं प्रत्येक वर्ष व्यापार मेलाको आयोजना हुँदा उत्पादकले निकासीजन्य नौलो वस्तुको उत्पादन गर्ने छन् । हस्तकला क्षेत्रमा रहेकोे सीप, कला र प्रविधिवारे जानकारी आदान प्रदान हुने छ । स्वदेशमै रोजगारी अभिवृद्धिमा सघाउ पुग्ने छ । विदेशमा चलिरहेको रङ सम्योजन,डिजाईन, वस्तु विकास, प्रविधि आदि बारेमा नेपाली उद्यमी, व्यवसायी र कलाकारहरुले जानकारी प्राप्त गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्