Logo

सकियो मतगणना

सत्ता गठबन्धन बहुमत नजिक

मतदान भएको दुई सातापछि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सकिएको छ । सोमबार प्रतिनिधिसभा प्रत्यक्षतर्फको गणना सकिएकोमा मंगलबार समानुपातिकको पनि सकिएको हो । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मंगलबार दिउँसो प्रतिनिधिसभा समानुपातिकको गणना सकिएको जानकारी दिए ।

आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ सिटकै नतिजा सोमबार सार्वजनिक गरिसकेको छ । समानुपातिकमा बाँकी ११० जनाका लागि भएको निर्वाचनको मतगणना मंगलबार सकिएको हो। २७५ सदस्यीय प्रतिनिधिसभाका लागि मंसिर ४ गते निर्वाचन भएको थियो । अधिकांश ठाउँमा मंसिर ४ गतेको निर्वाचन पछि मतगणना भएको थियो भने दोलखा, स्याङ्जा र बाजुरा जिल्लामा मतगणना गर्न केही ढिलाइ भएको थियो । प्रतिनिधिसभाको समानुपातिकतर्फको अन्तिम मतपरिणाम अनुसार ७ दलले ३ प्रतिशतको थ्रेसहोल्ड पार गरेको निर्वाचन आयोगले जनाएको छ ।

समानुपातिकतर्फ सबैभन्दा बढी मत नेकपा एमालेले ल्याएको छ भने थ्रेसहोल्ड कटाउने सातौं दल जनमत पार्टी बनेको छ । एमालेले २८ लाख ४५ हजार ६४१ मत ल्याएर पहिलो बनेको छ । दोस्रोमा नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५ मत पाएको छ । नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ मत ल्याएर तेस्रो बनेको छ । चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८४९ मत ल्याएको आयोगले जानकारी दिएको छ । जनता समाजवादी पार्टी नेपालको ४ लाख २१ हजार ३१३ मत छ ।

सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले भने तीन प्रतिशतको थ्रेसहोल्ड पार गर्न सकेन । ३ लाख १६ हजार ८०२ मतको थ्रेसहोल्ड कायम भएकोमा एकीकृत समाजवादीले २ लाख ९८ हजार ३९१ मतमात्रै पाएको छ । एकीकृत समाजवादीका लागि थ्रेसहोल्ड पार गर्न १८ हजार ४११ मत कम भएको छ । प्रत्यक्षमा १० सिट जितेर पनि एकीकृत समाजवादी समानुपातिकको सीमा कटाउन नसक्दा राष्ट्रिय पार्टीको मान्यता पाउनबाट वञ्चित भएको छ ।

गत वर्ष नेकपा एमाले विभाजन गरेर तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले एकीकृत समाजवादी गठन गरेका थिए । सत्ता गठबन्धनबाट एकीकृत समाजवादीले प्रत्यक्षतर्फ २० ठाउँमा उम्मेदवारी दिएको थियो । समानुपातिकमा सहभागी भएका ४७ दलमध्ये ७ दलले मात्रै थ्रेसहोल्ड कटाउँदा बाँकी ४० दल भने उक्त सीमा पार गर्न असफल भएका छन् । प्राप्त समानुपातिक मतबाट एमालेले ३४ सिट पाउने देखिएको छ । प्रत्यक्षको ४४ समेत गरी एमालेको ७८ सिट पुग्ने भएको छ प्रतिनिधिसभामा ।

कांग्रेसको प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ गरी ८९ सिट हुने भएको छ । माओवादी केन्द्रको प्रत्यक्षमा १८ र समानुपातिकमा १४ गरी ३२ सिट पुगेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रत्यक्षमा ७ र समानुपातिकमा १३ गरी २० सिट, राप्रपाको प्रत्यक्षमा ७ र समानुपातिकमा पनि ७ गरी १४ सिट, जनता समाजवादी पार्टीको प्रत्यक्षमा ७ र समानुपातिकमा ५ गरी १२ सिट र जनमत पार्टीको समानुपातिकमा ५ र प्रत्यक्षमा १ गरी ६ सिट हुने भएको छ । थ्रेसहोल्ड पार गर्ने ७ दलका प्रतिनिधिसभामा २५१ जना सांसद हुने भएका छन् ।

यसबाहेक स्वतन्त्र ५, एकीकृत समाजवादीका १०, नेपाल मजदुर किसान पार्टीका १, राष्ट्रिय जनमोर्चाका १, नागरिक उन्मुक्ति पार्टीका ३, लोकतान्त्रिक समाजवादी पार्टीका ४ जना गरी प्रतिनिधिसभामा २७५ जना सदस्य हुनेछन् । समानुपातिकको नतिजासँगै सत्ता गठबन्धनको १३६ सिट पुग्ने देखिएको छ । सरकार गठनका लागि १३८ सिट आवश्यक पर्छ । सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चा छन् ।

प्रतिक्रिया दिनुहोस्