Logo

महिला सशक्तीकरणले गाउँमा परिवर्तन

जातीय विभेद, लैगिंक विभेद, छुई प्रथा, विकासमा सम्मान सहभागिता नहुनु, समान कामको समान ज्याला नपाउनुलगायतका विकृति दुरदराज गाउँमा अझै विद्यमान छन् । एक दशक पहिलासम्म महिलाहरू महिला भएकै कारण लैगिंक हिंसा, छुई प्रथा, छोरा पाउनै पर्ने बाध्यतालगायतका सामाजिक विभेदको शिकार हुन बाध्य थिए ।

पुरुष प्रधान समाजका कारण गाउँबस्तीमा महिला अपहेलित हुनुपर्ने, अधिकार र नेतृत्व खोज्नसमेत नसक्ने स्थिति कायमै छ । पुरुष घुमेर खाने, महिला बिहानदेखि साँझसम्म पिल्सिनु पर्ने पृत्रिसतात्मक सोचको उत्पीडनमा कर्णालीका महिला विगतदेखि परेका छन् । तर ‘अचानोको पीर खुकुरीलाई थाहा हुँदैन’ भन्ने उखानजस्तै महिलामाथिका विभेद अन्त्य गर्न महिलानै जागरुक भएपछि जुम्लाका गाउँबस्तीको काँचुली फेरिएको छ ।

महिलामाथि हुने विभेदका विषयमा महिला नै वकालत गर्न थालेपछि गाउँबस्तीमा पुरुषप्रधान सोच विलय हुन थालेको छ । सिंजा गाउँपालिका–३ चुलेलगाउँ, महिला सशक्तीकरणले फेरिएको एक नमुना गाउँ हो । जहाँ दशकौदेखि विद्यमान रहेको छुई प्रथा, जातीय विभेद र बालविवाह न्यूनीकरणको अभियान चलेको छ ।

चुलेलगाउँकी मनीषा आचार्य भन्छिन्, “मान्छेका लागि गाउँघर पहिलो पाठशाला हो । तर महिलालाई गाउँघरमै हेप्ने, अवसर नदिने चलन विगतमा थियो । जसका कारण महिला पछि पर्‍यौं । अहिले क्याड नेपाललगायतका संस्थाबाट शिक्षा पाउँदा नेतृत्व लिन सक्षम भएका छौं । गाउँघर सफा भएका छन् । मान्छेमा परिवर्तन आएको छ । आनीबानी फेरबदल भएको छ भने महिला पुरुष बराबर हुन् भन्ने सोचको विकास भएको छ ।”

सहकारी तथा संस्थाहरूको सहयोगले गाउँका दर्जनौ महिला व्यवसायमा जुटेका छन् । पुरुष सरह महिला आर्थिक आम्दानी गर्न सक्षम छन् । विकास निर्माणदेखि राजनीति नेतृत्वमा पनि महिलाहरू अग्रसर हुन थालेको चुलेलगाउँका पूर्णचन्द्र आर्चायले बताए । उनले भने, “महिलाकै संघर्षले चुलेलगाउँ जुम्लाकै पहिलो बालविवाहमुक्त गाउँ बन्ने तयारीमा छ । क्याड नेपालले महिना पिच्छै आर्थिक, सामाजिक रुपान्तरण र नेतृत्व विकासका लागि प्रेरणा दिएपछि महिला गाउँसुधारमा जुटेका हुन् ।”

चुलेल गाउँका महिलाले उमेर नपुगेर गाउँमा हुन लागेका ४ वटा बालविवाहसमेत रोेकेका छन् । पछिल्लो समय चुलेलगाउँलगायत सिंजा क्षेत्रका अधिकांश महिला व्यवसायतिर उन्मुख हुन थालेपछि आर्थिक रूपमा समेत सक्षम भएका छन् । महिला सशक्तीकरण बिना समाज रूपान्तरण सम्भव छैन ।

क्याड नेपाल जुम्लाका कार्यक्रम संयोजक गिरिराज अधिकारीले भने, “बालबालिकाको छिटो तथा जबर्जस्ती विवाह न्यूनीकरण परियोजनाले हिमा, सिंजा र कनकासुन्दरीका महिलाहरूको नेतृत्व विकास व्यावसायिक बनाउन विशेष जोड दिएको छ । महिला सशक्तीकरणमा अब स्थानीय सरकारले नीतिगत व्यवस्था गर्न समेत उत्तिकै जरुरी छ ।”

प्लानको सहयोगमा क्याड नेपालले सिंजा क्षेत्रका तीन पालिकाका २०१८ सालदेखि महिला सशक्तीकरण, बालविवाह न्यूनीकरणलगायतका क्षेत्रमा काम गर्दै आएको छ । सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले सिंजा क्षेत्रका महिलाको सशक्तीकरण, उद्यमशीलता विकास र जीविकोपार्जनका लागि क्याड नेपाल नेपाल अन्य निकायले गरेका राम्रा कामको पालिकाले निरन्तरता दिने बताए । विकास साझेदार संस्था क्याड सिंजा क्षेत्रमा छाउपडी न्यूनीकरण, महिला सशक्तीकरणमा उल्लेखनीय काम गरेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्