बैंक तथा वित्तीय संस्थाले १३ प्रतिशतले बढाए कर्जा लगानी «

बैंक तथा वित्तीय संस्थाले १३ प्रतिशतले बढाए कर्जा लगानी

प्रदेश १ मा बैंक तथा वित्तीय संस्थाले कर्जा लगानीमा १३.२ प्रतिशतले वृद्धि गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेश १ को आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन अनुसार प्रदेश १ मा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह २०७८ असार मसान्तको तुलनामा २०७९ असार मसान्तमा १३.२ प्रतिशतले बढेको हो ।

उद्योग, कृषि, सेवालगायतका क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक वर्ष २०७८÷०७९ मा ५ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । कुल कर्जामध्ये सबैभन्दा बढी सेवा क्षेत्रमा लगानी भएको छ भने सबैभन्दा कम कृषि क्षेत्रमा लगानी भएको छ । कृषि कर्जाको हिस्सा सबैभन्दा कम १० प्रतिशत, औद्योगिक कर्जाको हिस्सा २२.३ प्रतिशत र सेवा क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा ६७.७ प्रतिशत रहेको छ ।

२०७८ असार मसान्तमा कृषि कर्जाको हिस्सा ९.८ प्रतिशत, औद्योगिक क्षेत्रको हिस्सा ३०.६ प्रतिशत र सेवा क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा ५९.७ प्रतिशत रहेको थियो । प्रतिवेदन अनुसार, सो कर्जामध्ये झापा, मोरङ र सुनसरीमा अत्याधिक प्रवाह भएको प्रवाहित कर्जाको हिस्सा ८८ प्रतिशत रहेको छ । अन्य जिल्लामा भने १२ प्रतिशत मात्रै कर्जा प्रवाह भएको छ ।

जिल्लागत कर्जा प्रवाहको आधारमा मोरङको हिस्सा सबैभन्दा बढी ४२ प्रतिशत र ताप्लेजुङको हिस्सा सबैभन्दा कम ०.५ प्रतिशत रहेको छ । सो आर्थिक वर्षमा प्रदेश १ मा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन ३ खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप परिचालन भएको छ । जुन २०७८ असार मसान्तको तुलनामा ५.८ प्रतिशतले वृद्धि भएको छ । सर्वसाधारणमा बचत गर्ने बानीमा आएको सुधार, रेमिट्यान्स आप्रवाह, विद्युतीय कारोबारमा भएको वृद्धि, तथा बैकिङ सेवा विस्तार भएकाले निक्षेप परिचालन बढेको प्रतिवेदनले देखाएको छ ।

कुल निक्षेपमध्ये झापा, मोरङ र सुनसरीको हिस्सा ७७.२ प्रतिशत रहेको छ । अन्य जिल्लामा भने २२.८ प्रतिशत मात्रै निक्षेप परिचालन भएको छ । जिल्लागत निक्षेप संकलनको आधारमा मोरङको योगदान सबैभन्दा बढी ३१.९ प्रतिशत र तेह्रथुमको सबैभन्दा कम १.३ प्रतिशत योगदान रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७८÷०७९ मा यस प्रदेशमा वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त वित्तीय संस्थाका गरी थप १४४ शाखा विस्तार भएका छन् । अघिल्लो आर्थिक वर्षमा १३४ शाखा विस्तार भएका थिए । २०७९ असार मसान्तमा यस प्रदेशमा वाणिज्य बैंकका ७६३, विकास बैंकका १९४, वित्त कम्पनीका ३२ तथा लघुवित्त वित्तीय संस्थाका ८६८ गरी जम्मा १ हजार ८५७ शाखा पुगेको प्रतिवेदनमा उल्लेख छ ।

यसमध्ये मोरङ जिल्लामा सबैभन्दा बढी ४५२ र ताप्लेजुङमा सबैभन्दा कम ३८ शाखा रहेका छन् । सो आर्थिक वर्षमा प्रदेश १ मा रहेका बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात १४८.४ प्रतिशत पुगेको छ । २०७८ असार मसान्तमा यस्तो अनुपात १३८.७ प्रतिशत रहेको थियो ।

बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको अभाव देखिएकाले अघिल्ला वर्षको तुलनामा कर्जा विस्तार केही सुस्त देखिएको समेत प्रतिवेदनमा उल्लेख छ । प्रदेश १ मा सहुलियतपूर्ण कर्जा ३६ अर्ब २ करोड रुपैयाँ प्रवाह भएको छ । अघिल्लो आर्थिक वर्षमा भन्दा गत आर्थिक वर्षमा ३४.९ प्रतिशतले बढेको प्रतिवेदनले देखाएको छ । २०७९ असार मसान्तसम्म कुल कर्जाको तुलनामा सहुलियतर्पूण कर्जाको हिस्सा ६.६ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्