Logo

दाङमा धान उत्पादन घट्यो

दाङमा यस वर्ष धान उत्पादन घटेको छ । गत वर्षको तुलनामा यस वर्ष पाँच प्रतिशतले धान उत्पादनमा गिरावट आएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । यो वर्ष १ लाख ५३ हजार ४ सय ६३ मेट्रिक टन धान उत्पादन भएपनि गत वर्षको तुलनामा पाँच प्रतिशतले कम रहेको कार्यालयले जनाएको छ ।

यस वर्ष ढिलो वर्षा हुँदा ३७ हजार ४ सय ३० हेक्टर वर्षे धान लगाइएकोमा ५ प्रतिशतले उत्पादकत्वमा कमि आएको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिए । अर्थविज्ञ लामिछानेले यो वर्ष प्रतिहेक्टर ४.१० मेट्रिक टन धान उत्पादन भएको हो । अघिल्लो वर्ष जिल्लामा ३९ हजार ४ सय हेक्टर क्षेत्रफलमा धान रोपिएको भएपनि यो वर्ष १ हजार ३० हेक्टर क्षेत्रफलमा धान नरोपिएको उनले बताए ।

अघिल्लो वर्ष १ लाख ७३ हजार ३ सय ६० मेट्रिक टन धान उत्पादन भएको थियो । त्यो भन्दा अघिल्लो वर्ष १ लाख ६७ हजार ७ सय मेट्रिक टन धान उत्पादन भएको थियो । जिल्लामा ६५ प्रतिशत नागरिकहरु कृषि पेशामा आवद्ध रहेको केन्द्रको तथ्यांमा उल्लेख छ । समयमा मल, बीउ र सिँचाईको राम्रो व्यवस्था तथा उपलब्ध भएमा उत्पादन बढाउन मद्दत मिल्ने भएपनि अनेकन समस्याका कारण धान उत्पादनमा ह्रास आएको उनको भनाइ छ ।

“यस वर्ष समयमा वर्षा नहुनु, मल बीउको उचित व्यवस्थापन नहुनु जस्ता कारणले पनि उत्पादनमा कमी आएको हो,” उनले भने, “जिल्लामा रोपिएको धान उत्पादकत्वका हिसावले सन्तोष गर्न भने सकिन्छ ।” यस वर्ष जिल्लामा धान रोपाइँ हुन नसकेको १ हजार ३० हेक्टर क्षेत्रफलमा तरकारी खेती भएको ज्ञान केन्द्रको दावी गरेको छ । तर, कहाँ कसरी खेती गरिएको छ भन्ने यसको यकिन तथ्यांक भने छैन । ढिलो गरी वर्षा हुँदा ब्याड राखेको दुई महिनासम्म पनि रोप्न नपाउँदा धानमा गाँज उत्पादन गिरावट आएको र यसले उत्पादनमा समेत असर गरेको कृषकहरु बताउँछन् ।

घोराही ७ का भुपेन्द्रप्रकाश घर्तीले पानी नपरेर ढिलो गरी धान रोप्नुपर्दा विगत भन्दा यो पटक धान उत्पादनमा गिरावट आएको बताए । अघिल्लो वर्ष दाङमा खेती गर्नेको संख्यामा पनि वृद्धि भएको थियो । विकासे धान रोप्न थालिएपछि अहिले रैथाने धान उत्पादनमा पनि गिरावट आएको छ । जिल्लामा रैथाने जातका धान सिमठारो, तिलकी लगायतका धान ५ हेक्टरमा रोपिएको ज्ञान केन्द्रले जनाएको छ । पछिल्लो समय थोरै लागतमा धेरै उत्पादन खोज्ने परिपाटीको विकास हुँदै गएपछि रैथाने जातको धान रोप्ने क्रम घट्दै गएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्