आर्थिक विकासको मेरुदण्ड सञ्चारमाध्यम «

आर्थिक विकासको मेरुदण्ड सञ्चारमाध्यम

सञ्चारमाध्यम नै समग्र आर्थिक विकासको मेरुदण्ड हो । यदि सञ्चारमाध्यमले मुलुकको आर्थिक विकासको रूपान्तरणमा पुलको काम नगरेको भए आज हामी कुन अवस्थामा हुन्थ्यौं, मुलुकको आर्थिक अवस्था कस्तो हुन्थ्यो, कल्पना गर्न पनि सकिन्न । त्यसैले छोटो समयमा नै सञ्चार प्रविधिहरूले विकासको गति लिएका मुलुकहरूमध्ये हाम्रो देश नेपाल पनि एक हो ।

यसरी सञ्चारको विकास नहुने हो भने हाम्रो मुलुक हरेक विकास आयोजनाहरूमा पछाडि पथ्र्याे । बाह्य मुलुकहरूले हेर्ने दृष्टिकोण पनि अर्कै हुन्थ्यो । मानिसहरूको दैनिकी दिनहुँजसो साह्रै कष्टकर बन्दै जान्थ्यो । मुलुकको आर्थिक समृद्धि अरू मुलुकको दाँजोमा पनि निकै पछि परेको महसुस हुन्थ्यो । अब त्यो टरेर गइसक्यो । जति सञ्चारको विकास नहुँदा मानिसहरूको दैनिकी कष्टकर बनेको थियो, अब त्यो एकादेशको कथामा मात्र सीमित भएको छ । हाम्रा योद्धाहरूले अहिले २१ औं शताब्दीसँग सामना गर्दै छन् ।

आजको २१ औं शताब्दीमा आएर जति पनि मुलुकमा मात्र नभएर विश्वमा एउटा आर्थिक परिवर्तनको बाटो सम्भव भएको छ, अर्थतन्त्रमा तीव्र विकास भएको छ, मानिसहरूको दैनिकी दिनहरूसँग सामना गर्दै बितेको छ, मानिसका सम्पूर्ण आवश्यक्ताहरू पूर्ण हुँदै गएका छन्, दैनिक कार्यसम्पादनमा सहज बन्दै गएको छ, मानिसहरूको दैनिकीसँगै रोजीरोटीमा समेत अमनचयन ल्याएको छ, यी सबै सञ्चारका माध्यमहरूको योगदानबाट भएको हो ।

आज दुनियाँ कहाँ पुगिसक्यो, सबै सञ्चारको योगदानबाट भएको हो भन्न सकिन्छ । जे होस्, हाम्रो मुलुकले पनि सञ्चार क्षेत्रको विकासमा छिट्टै उपलब्धि हासिल गरेको छ । यो हामी सबै नेपालीहरूका लागि गौरवको कुरा हो, खुसी पनि हो । आज हामीले सहज रूपमा दैनिकी कार्य सम्पादन गर्न सकेका छौं । अर्को महत्त्वपूर्ण कुरा त सञ्चारमाध्यममा आएको नयाँ–नयाँ प्रविधि र खोज–अनुसन्धानको तीव्रताले आज सञ्चारको प्रविधिभित्र पनि नयाँ विकासको जग बसालेको छ ।

विश्वमा अहिले जति पनि विकासका गतिले दिनानुदिन परिवर्तनहरू भइरहेका छन्, ती सबै सञ्चारका माध्यम तथा यसका विभिन्न साधनहरूको सहयोगमा भएको हो । सञ्चार जगत्कै माध्यमबाट आजको विश्व आर्थिक रूपान्तरणमा दिनानुदिन अगाडि बढिरहेको अवस्था छ ।

सञ्चारका प्रविधिहरूको विकासमा आएको परिवर्तनसँगै मुलुक आर्थिक समृद्धितर्फ पनि दिनानुदिन अगाडि बढिरहेको छ । जतिबेला रेडियो, टेलिभिजन, फोन, फ्याक्स, पत्रपत्रिका, हुलाक, हाते लेखनलगायतका प्रविधिहरूको सरल प्रयोग गरिन्थ्यो र कष्टकर पनि उत्तिकै हुन्थ्यो । तर, आजको समयमा आएर सञ्चार जगत्मा नयाँ-नयाँ प्रविधिको विकाससँगै मोबाइल आउनुका साथै मोबाइल सेटभित्र रहेका हरेक सञ्चारका सामग्रीहरूले पनि थप आर्थिक-व्यावसायिक परिवर्तनमा उत्तिकै योगदान पुगेको छ ।

नयाँ–नयाँ मोबाइल फोन भित्रिएसँगै यसले मानिसहरूको दैनिकी निकै सहज पनि बनाइदिएको छ । अझ मानिसहरूको दैनिकी सहज बनाउनका लागि सामाजिक सञ्जालहरूको पनि तीव्र रूपमा उत्तिकै विकास हुँदै गएको छ । सामाजिक सञ्जालहरू जस्तै- युट्युब, फेसबुक, ह्वाट्सएप, भाइबर इन्स्टाग्राम, इमो, टिकटकलगायत सञ्चारका एपहरूले झनै मुलुकको आर्थिक विकासमा योगदान गरेको छ । हरेक मनोरञ्जन, सूचना, आर्थिक व्यवसायलगायत छिटोछरितो रूपमा आजको विश्वमा निकै तीव्र गतिमा अगाडि बढेको सञ्जाल नै सामाजिक सञ्जाल हो ।

आजको संसारमा सामाजिक सञ्जाल संसारकै सबैभन्दा ठूलो र सशक्त माध्यम अनि मानव जीवन र मुलुकको आर्थिक विकासमा अभिन्न अंग बनेको छ । सामाजिक सञ्जालको परिचय दिँदा सामाजिक सञ्जाल भनेको हाम्रो विचार, सूचना, समाचार सामग्री तथा जानकारीहरूलाई सिर्जनात्मक ढंगबाट भर्चुअल नेटवर्कद्वारा एकअर्कामा व्यावसायिक गतिविधि, सूचनाहरू साटासाट गर्ने एउटा माध्यम हो ।

यो कम्प्युटर, ट्याबलेट, स्मार्टफोनजस्ता उपकरणहरूमा इन्टरनेटको सहयोगबाट वेबसाइटमा तथा एप्सद्वारा उपलब्ध हुन्छ र यी सामाजिक सञ्जालहरू विश्वभरि नै लोकप्रिय पनि भएका छन् । यसका प्रयोगकर्ताहरू पनि दिनानुदिन बढिरहेका छन् । प्रयोगकर्ता बढेसँगै मानिसहरूको व्यावसायिक दैनिकीमा पनि उत्तिकै सहजता ल्याएको छ । सामाजिक सञ्जालले संसारभरिका मानिसहरूलाई एकसाथ जोड्ने कामसमेत गरेको छ ।

यो अन्तरक्रियात्मक प्रविधि भएकाले यसले घरमै बसेर संसारभरि छरिएर रहेका आफन्त, साथीभाइहरूलाई छिटोछरितो रूपमा प्रत्यक्ष रूपमा समेत जोडेको छ । विभिन्न क्षेत्रका लोकप्रिय व्यक्तिका टेक्स्ट, पोस्ट, लाइक, कमेन्ट सेयर गरी डिजिटल फोटोहरूसमेत आदानप्रदान गरिन्छ भने आर्थिक क्षेत्रमा पनि यसको सेयरिङ गरी व्यावसायिक रूपमा पनि अर्थ उत्पादन हुने गर्छ ।

मुलुकका ठूला व्यावसायिक घराना भएका मानिसहरूद्वारा पनि आफूले चाहेअनुरूपको व्यावसायिक कच्चा पदार्थहरूको गुणस्तर मापन तथा रंगरोगनका सामान आदि–इत्यादि इमेल वा सामाजिक सञ्जालमार्फत आदानप्रदान गरी वस्तुभाउ तथा सामानहरूको मोलमोलाइ गरिन्छ । त्यतिमात्र होइन, पछिल्लो समय सामाजिक सञ्जालअन्तर्गत मनोरञ्जनको साधनका रूपमा टिकटक पनि उत्तिकै लोकप्रिय भएको छ ।

यसले पनि धेरै मानिसको मनोरञ्जनसँगै व्यवसायमा पनि उत्तिकै लोकप्रियता ल्याउने काम गरेको छ भने कसैले आफ्नो व्यवसायका भिडियोहरू अपलोड गरेर प्रचारप्रसार गरी व्यवसायहरूको विज्ञापन पनि गरेको देखिन्छ । यसले गर्दा व्यवसाय फस्टाउनुका साथै अर्थतन्त्र पनि उकासिँदै जान्छ । युट्युब, फेसबुकजस्ता सामाजिक सञ्जालहरूले पनि आर्थिक तथा व्यावसायिक रूपमा निकै योगदान गरेको पाइन्छ ।

विश्वभर फैलिएको कोरोना भाइरसका कारण विश्व बजार आक्रान्त पारेको अवस्थामा हाम्रो मुलुकमा पनि प्रत्यक्ष असर गरेको थियो । सो अवस्थामा मुलुक लकडाउन हुँदा धेरै मानिस घरभित्रै बस्न बाध्य भएका थिए । सो समयमा सञ्चारको साधनका रूपमा अनलाइन माध्यमहरूले जनताका आवश्यकताहरू सहज पारिरहेको अवस्था थियो । धेरैले अनलाइन एप प्रयोग गरी घरघरमा नै खाद्यान्न, लत्ताकपडाहरू मगाउने गर्थे । त्यसको प्रत्यक्ष सहयोग आजसम्म पनि उत्तिकै निरन्तर छ ।

अहिले होटल तथा रेस्टुराँहरूले पनि आममानिसहरूलाई सहजता प्रदान गर्न खानेकुराहरूका एप बनाएर मानिसहरूको दैनिकीलाई सहज बनाएको छ । फुडमान्डु, पठाओ, भोजनलगायतका एपहरू राखी ग्राहकहरूलाई यति छिटोछरितो सेवा प्रदान गर्ने हेतुले धेरैले यस्ता लोकप्रिय सञ्चारका एपहरूको प्रयोग गरेका छन्, जसले गर्दा समयको बचत हुनुका साथै आर्थिक रूपमा पनि आयआर्जन हुने देखिन्छ ।

यो खानामा मात्र नभएर अहिले यातायातका साधनको रूपमा पनि विकसित भएको छ । यसरी मानिसहरूको दैनिकी कार्य सम्पादनमा दिनदिनै सहजता ल्याउने विभिन्न सञ्चारका एपहरूले गर्दा आजको समयमा मानिसहरूको हरेक दैनिकी कार्य सम्पादन सहज भएको देखिन्छ । यी सबै सञ्चालन गर्ने महत्त्वपूर्ण भूमिका भने इन्टरनेटलाई जान्छ ।

इन्टरनेटको सहजता नभएको भए यी सबै काम तथा दैनिक जीवनमा आईपर्ने हरेक आर्थिक क्रियाकलापहरू सहज तरिकाले सम्भव हुन सक्ने थिएन । यो पनि सञ्चार क्षेत्रको अभिन्न अंग रहेको हुनाले मुलुकको आर्थिक समृद्धिको विकासको यात्रामा इनटरनेटको अत्यन्तै महत्त्वपूर्ण योगदान रहेको छ । इन्टरनेट पनि हाम्रो मुलुकमा छोटो समयमै गति लिन सकेको सेवाप्रदायक सञ्चारको साधन हो ।

आममानिसको दैनिकीलाई अझै सहज बनाउनका लागि विभिन्न केबल, इन्टरनेटप्रदायकहरूले मानिसहरूलाई सस्तो र सुलभ रूपमा उपहार दिएर इन्टरनेटको सेवा दिइरहेका छन् भने हजारौं मानिसलाई रोजगारी पनि दिएको छ, जसले गर्दा मानिसहरूको दैनिक आर्थिक गतिविधिहरूलाई पनि अझ सरल रूपमा प्रस्तुत गरेको छ भने मुलुकको आर्थिक विकासमा सञ्चारमाध्यमहरूले महत्त्वपूर्ण योगदान गरेको प्रस्टै देखिन्छ ।

मुलुक आजको अवस्थासम्म आउनु नै सञ्चार जगत्मा आएको तीव्र विकासले गर्दा हो भन्न सकिन्छ । यति भइरहँदा पनि विश्वमा वैज्ञानिकहरू सञ्चारको नयाँ–नयाँ प्रविधिहरूको विकास गर्न दिनरात नभनी गहिरो खोज–अनुसन्धान गरिरहेका छन् । हामीले आजको युगसम्म आउँदा अहिले पनि कति सहज रूपमा हरेक दैनिक आवश्यकताहरू पूरा गर्दै आएका छौं । आर्थिक रूपमा स्वावलम्बन हुँदै गएका छौं ।

सञ्चारको विकासले आज मानिसहरूको जीवनशैली नै परिवर्तन भएको हामी प्रस्टै देख्न सक्छौं । तर, हामी यो सचेत हुनु जरुरी छ कि सामाजिक विकृतिहरूबाट बच्न पनि सञ्चारका साधनहरूप्रति सचेत हुनुपर्छ । साइबर ह्याकरमा परी खराब आचरण भएका मानिसहरूले सञ्चारको गलत प्रयोग गरेर धेरै मानिसलाई ब्ल्याकमेलिङ गरी लाखौं पैसा असुलेको कुरा पनि धेरै सञ्चारमाध्यममा आएका छन् ।

सञ्चार वा सामाजिक सञ्जालको गलत प्रयोगबाट मानिसहरूले धेरै फाइदा लुटेका छन् । अवैध धन्दा गरी ब्ल्याकमेल गर्ने ह्याकरहरूले धेरै मानिसको विचल्ली पनि बनाएका छन् । कतिलाई त प्रहरीले पक्रेर साइबर क्राइमको मुद्दा चलाएर कारबाही पनि गरेको छ । त्यसैले सञ्चारका साधनको सही सदुपयोग गरी मुलुकमा आर्थिक विकास समृद्धिको मार्गचित्र कोर्नु आजको आवश्यकता पनि हो ।

आजको युगसम्म आउनुमा सञ्चारका साधनहरूले दिएको महत्त्वपूर्ण योगदान अतुलनीय रहेको छ भने यसैको जगमा रहेर मुलुकमा धेरै आर्थिक परिवर्तन, सामाजिक परिरवर्तन, भौतिक परिवर्तन अनि सांस्कृतिक परिवर्तनहरू पनि भएका थुप्रै उदाहरण छन् । विश्वमा अहिले जति पनि विकासका गतिले दिनानुदिन परिवर्तनहरू भइरहेका छन्, ती सबै सञ्चारका माध्यम तथा यसका विभिन्न साधनहरूको सहयोगमा भएको हो । सञ्चार जगत्कै माध्यमबाट आजको विश्व आर्थिक रूपान्तरणमा दिनानुदिन अगाडि बढिरहेको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्