Logo

आन्तरिक श्रम बजार कामदार अभावको चपेटामा - दक्ष र अर्धदक्ष श्रमिकका लागि भारत र बंगलादेशको भर

तीन प्रतिशत जनसंख्या काम खोज्दै विदेश

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जानेको भीड । फाइल तस्बिर

चालू आर्थिक वर्षको चार महिनाको तथ्यांकले यो वर्ष वैदेशिक रोजगारीमा करिब ८ लाख युवा जाने देखाएको छ । कुल जनसंख्याको करिब ३ प्रतिशत वार्षिक रुपमा विदेश जान थालेपछि मुलुकको आन्तरिक श्रम बजारको अवस्था कस्तो होला ?

अहिले नै नेपाली निजी क्षेत्रले सबै प्रकारका (दक्ष, अर्थदक्ष र अदक्ष) काम गर्ने जनशक्तिको अभाव झेलिरहेको छ । कुनै पनि उद्योग, व्यवसाय, संघसंस्था वा निर्माण कम्पनीले दक्ष त कुरै छाडौं, अदक्ष कामदार समेत पाउन सकेका छैनन् । यस्तो अवस्थामा वार्षिक ८ लाखको हाराहारीमा युवा विदेश जान थाल्नुले नेपाली श्रम बजारले आगामी दिनमा अझै चर्को मूल्य चुकाउनुपर्ने अवस्था आउनेछ ।

युवामा विदेश मोह देखिएकाले आन्तरिक श्रम बजारमा जनशक्ति अभाव छ । देशमा ठूला परियोजना एकै पटक सञ्चालन गर्नुपर्ने अवस्था भए आन्तरिक श्रमिकको चर्को अभाव हुनेछ ।

सरोकारवालाहरु नेपाली युवाको विदेश मोहलाई मुख्य रुपमा तीन कारण देख्छन् । पहिलो– वर्षभरी यहाँ रोजगारीको ग्यारेन्टी छैन । अधिकांश रोजगार विकास निर्माण सम्बन्धी आयोजनाहरुमा पाइने भए पनि यो वर्षभरी चल्दैन । दोस्रो– विदेशको तुलनामा स्वदेशको श्रम मूल्य निकै कम छ । स्वदेशमा परिवारसँग बसेर काम गर्न पाइने एउटा फाइदा बाहेक पाउने पारिश्रमिक ज्यादै न्यून छ ।

दिनभरी काम गरेको ज्यालाले बचत होइन, दुई छाक टार्न पनि पुग्दैन । तर विदेशमा गएर दुःख गरे दैनिक खर्च टरेर केही बचत समेत हुने अवस्था छ । तेस्रो हो विदेश मोह । साथीभाइ र आफन्त विदेश गएको देखेपछि अहिलेका धेरै युवाको गन्तव्य पनि उतै बनेको छ । युवाहरु सके पढ्न जाने नभए काम गर्न भए पनि विदेश जाने मोहमा छन् ।

समाजशास्त्री एवं श्रमविज्ञ डा. गणेश गुरुङ पनि यसमा सहमत छन् । गुरुङका अनुसार अहिलेका युवामा विदेश मोह देखिएकाले आन्तरिक श्रम बजारमा जनशक्ति अभाव छ । देशमा ठूला परियोजना एकै पटक सञ्चालन गर्नुपर्ने अवस्था भए आन्तरिक श्रमिकको चर्को अभाव हुनेछ ।

“बूढीगण्डकी जलविद्युत आयोजना जस्ता नेपालका ठूला परियोजना रफ्तारमा बनाउनु पर्ने भए भारत वा बंगलादेशबाट श्रमिक ल्याउनुपर्ने हुन्छ,” गुरुङ भन्छन्, “अझैं पनि नेपालको हाउजिङ क्षेत्रमा नेपाली श्रमिकको अभावमा बंगलादेशी श्रमिकले काम गरिरहेका छन् ।” उनले नेपालबाट मध्यम आयभन्दा कम आय भएको वर्ग वैदेशिक रोजगारीमा आकर्षित हुँदा यहाँ अदक्ष श्रमिकको चरम अभाव रहेको बताए ।

तीन लाख जनालाई प्रत्यक्ष रोजगार दिएको इँटा उद्योगले दक्ष र अर्धदक्ष कामदार पाउन नसकेको नेपाल इँटा उद्योग उद्योग महासंघका पदाधिकारीहरु बताउँछन् । महासंघका अनुसार अहिले ९५ प्रतिशत दक्ष कामदार भारतबाट ल्याउनुपर्ने बाध्यता छ । यसैगरी सानादेखि ठूला संरचना निर्माणमा समेत नेपालीको तुलनामा विदेशी श्रमिक बढी कार्यरत छन् ।

वैदेशिक रोजगार विभागका अनुसार यो वर्षका चार महिनामा विदेश जाने नेपालीको संख्या २ लाख ६४ हजार पुगेको छ । यो संख्या गत वर्ष कात्तिकसम्म जम्मा १ लाख ५६ हजार थियो । एक वर्षको अन्तरालमा १ लाख ८ हजार बढी नेपाली युवा रोजगारी खोज्दै विदेशिएको देखिन्छ । विभागका महानिर्देशक उमाकान्त आचार्यले मलेसियामा श्रमिकको सेवा सुविधा वृद्धि भएका कारण त्यहाँ जाने युवाको संख्या बढेको बताए ।

पछिल्ला वर्षहरुको तथ्यांक हेर्दा कोभिड कालमा वैदेशिक रोजगार घटेको देखिए पनि अन्य वर्षहरुमा क्रमशः बढ्दो छ । गत आर्थिक वर्षमा श्रमस्वीकृति लिएर विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएर ६ लाख ३१ हजार पुगेको थियो । अघिल्लो आव (कोभिड काल) मा १ लाख ६६ हजार युवाले विदेश रोजगारीमा जान श्रमस्वीकृति लिएका थिए ।

यस्तै, आव २०७६/०७७ मा श्रमस्वीकृति लिएर विदेश जानेको संख्या ३ लाख ६५ हजार थियो । प्रत्येक वर्ष विदेश जानेको संख्या बढ्ने क्रम कहिलेसम्म चल्ने हो, कसैले अनुमान गर्न सक्ने अवस्था छैन । अबका दिनमा यसले झनै गति लिने विज्ञहरुको भनाइ छ । रोजगार विज्ञ डा. गुरुङ विदेश जानलाई रोक्ने हो भने सरकारले बेरोजगार युवालाई समेट्ने गरी पहिलो कृषि, दोस्रो पूर्वाधार निर्माण र तेस्रो पर्यटन क्षेत्रमा समेट्ने गरी रोजगार तथा स्वरोजगार रणनीति बनाउनुपर्ने बताउँछन् ।

लगभग दुई दर्जन ठूला आयोजनामा बेरोजगार युवालाई रोजगारी दिने गरी योजना बनाउनुपर्ने उनको सुझाव छ । सरकारले पर्याप्त मात्रामा विकास बजेट खर्च गरेर स्वदेशमा नै रोजगार सिर्जना गरी वैदेशिक रोजगारीलाई निरुत्साहित गर्नुपर्ने उनले बताए । यस्तै अवस्था रहे केही वर्षपछि नेपालको दूध, मासु, माछा, धान, मकै, केरा, चिया, कफी आदि उत्पादनमा श्रमिक नै नपाउने अवस्था आउन सक्नेछ । कृषि क्षेत्रमा काम गर्ने श्रमिक नहुँदा नेपालले करिब ४ खर्ब रुपैयाँ बराबरको खाद्यान्न र कृषिजन्य सामग्री आयात गरेको छ ।

तथ्यांकमा नेपालको श्रम शक्ति

नेपालमा १५ वर्ष वा सोभन्दा बढी उमेर समूहको जनसंख्या २ करोड ७ लाख ४४ हजार रहेको नेपाल श्रमशक्ति सर्वेक्षणले देखाएको छ । यसमध्ये ७० लाख ८६ हजार जनसंख्या रोजगारीको क्षेत्रमा रहेको छ । यसमा ४४ लाख ४६ हजार पुरुष छन् भने २६ लाख ४० हजार महिला छन् । रोजगारीका क्षेत्रमा रहेको जनसंख्या काम गर्ने उमेर समूहअन्तर्गतको जम्मा जनसंख्याको ३४.२ प्रतिशत छ ।

यसैगरी बसोबासको आधारमा रोजगारीको क्षेत्रमा रहेको जनसंख्या मध्ये ४९ लाख १ हजार सहरी क्षेत्रमा र २१ लाख ८५ हजार ग्रामीण क्षेत्रमा छ । जम्मा रोजगारीका रहेको जनसंख्यामध्ये ६९ प्रतिशत सहरमा र ३१ प्रतिशत ग्रामीण क्षेत्रमा रहेको छ । रोजगारमा रहेका पुरुषमध्ये सहरमा ६८ प्रतिशत र ग्रामीण क्षेत्रमा ३२ प्रतिशत रहेको देखिन्छ ।

नेपालमा समग्र बेरोजगारी दर ११.४ प्रतिशत छ भने पुरुष र महिलाको बेरोजगारी दर क्रमशः १०.३ र १३.१ प्रतिशत छ । यसैगरी सहरमा ११.६ प्रतिशत र ग्रामीण क्षेत्रमा १०.९ प्रतिशत बेरोजगार छन् ।

प्रतिक्रिया दिनुहोस्