सानिमा बैंकद्वारा मोबाइल बैंकिङ विशेष योजना सार्वजनिक

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ प्रयोगमा प्रोत्साहन गर्न विशेष योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसर पारेर मोबाइल बैंकिङ योजना ल्याएको हो । उक्त योजना अन्तर्गत १८ जना जोडीले सौराहा भ्रमणको अवसर प्राप्त गर्न सक्नेछन् ।
भ्रमणका लागि योग्य हुन ग्राहकहरुले मोबाइल बैंकिङबाट ५ वटा विभिन्न कारोबारहरु गर्नुपर्ने हुन्छ । उक्त कारोबारहरु २ सय रुपैयाँभन्दा बढि र कम्तिमा एउटा टपअप समावेश हुनुपर्नेछ । ग्राहकहरुले मोबाइल बैंकिङ एप प्रयोग गरी टपअप, फन्ड ट्रान्सफर, लोड वालेट, क्युआर पेमेन्ट, युटिलिटि पेमेन्ट, आदि जस्ता कारोबारहरु गर्न सक्नेछन् ।
यो योजना २०७९ मंसिर २१ देखि पौष ९ गतेसम्म लागू हुनेछ । योजना अवधि भर ग्राहकहरुले सानिमा मोबाइल बैंकिङमार्फत् गरेका कारोबारहरुलाई समावेश गरिने बैंकले जनाएको छ । यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घकालीन रूपमा नगदको प्रयोग घट्ने बैंकको विश्वास छ ।