Logo

मध्यमोदी जलविद्युतको परीक्षण उत्पादन

पर्वतको मोदी खोलामा निर्माणाधीन १८ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत आयोजनाको निर्माणकार्य पूरा भएको छ । आयोजनाको सम्पूर्ण काम पूरा भएर परीक्षण उत्पादनको तयारी सुरु भएको हो । मिडिल मोदी हाइड्रोपावर लिमिटेडले २०७१ सालको मंसिरमा सुरु गरेको आयोजना आठ वर्षको अवधिमा सम्पन्न भएको हो ।

करिब चार अर्ब रूपैयाँको लगानीमा निर्माण भएको आयोजनाबाट सोमबारदेखि परीक्षण उत्पादन सुरु गरिएको आयोजना प्रमुख प्रताप खरेलले जानकारी दिए । नेपाल विद्युत प्राधिकरणको टोलीले परीक्षण उत्पादन र प्रशारण लाइनमा जडान गर्ने कार्यको अध्ययन गरिरहेको खरेलले जानकारी दिए । निर्माण थालेको तीन वर्षमा नै काम पूरा गर्ने लक्ष्य राखिए पनि भूकम्प, नाकाबन्दी, र कोभिड–१९को असरका कारण आयोजना पाँच वर्ष पछि धकेलिएको हो ।

आयोजना प्रमुख खरेलका अनुसार परीक्षण उत्पादन सुरु गरेपछि उत्पादित विद्युत १३२ केभी क्षमताको मोदी–लेखनाथ सबस्टेसन जडान गर्ने तयारी भइरहेको छ । १४ दिनसम्मको परीक्षणपछि मात्र केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ । आयोजनाको ड्याम, टनेल, पावर हाउस, टावर निर्माणलाई आयोजनाका प्रमुख र जटिल कामका रूपमा लिने गरिन्छ ती सबै काम पूरा भएका छन् भने प्रसारण लाइनसमेत निर्माण सकिएपछि परीक्षण उत्पादन थालिएको खरेलले बताए ।

सुरुवातमा दुई अर्ब ८० करोड लागत लाग्ने अनुमान गरिएको आयोजनाको निर्माण चौधरी ग्रुपले गरेको हो । २०७१ सालमा ग्रुपका अध्यक्ष विनोद चौधरीले आयोजनाको शिलान्यास गरेका थिए । तीन वर्षमा नै निर्माणको काम सकेर २०७४ मंसिरमा काम पूरा गर्ने लक्ष्य राखिएको भए पनि प्रभावित क्षेत्रका नागरिकको पटक पटकको आन्दोलन र विरोध तथा प्राकृतिक विपद्का कारण आयोजनाको काम लम्बिएको आयोजना प्रमुख खरेलले जानकारी दिए । जसका कारण लागतसमेत ह्वात्तै बढेको छ ।

२०७२ सालमा भूकम्पको मारमा परेको आयोजनाले बाढी र पहिरोको पनि उस्तै सामना गर्नुपरेको थियो । तर, पछिल्लो एक वर्षयता आयोजना निर्माण कार्यमा कुनै पनि पक्षबाट विरोध नभएका कारण कामले तीव्रता पाएको थियो । पर्वतको मोदी गाउँपालिका–२ केरुङ्गामामा पावर हाउस राखिएको आयोजनाको बाँध भने कास्कीको अन्नपूर्ण गाउँपालिका–३ बिरेठाँटीमा रहेको छ । आयोजनाको २३ सय ९३ मिटर लामो सुरुङमा मोदी खोलाको पानी ल्याइने छ । निर्माण सुरु गर्ने बेलामा १५.१ मेगावाट क्षमतामा आयोजना सञ्चालन गर्ने भनिएको भए पनि निर्माण कार्य सँगसँगै क्षमता बढेर १८ मेगावाटमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्