रोजगार केन्द्र बनेन् स्थानीय तह «

रोजगार केन्द्र बनेन् स्थानीय तह

रोजगारीको अवसर जिल्लाभित्र प्राप्त नुहँदा वैदेशिक रोजगारीमा जाने युवाको संख्या दैनिक बढ्दो छ । युवाहरूले आफ्नो र परिवारको भविष्य सुरक्षित गर्न रोजगारीका लागि विदेश सुरक्षित देखेका छन् । युवाहरूले पठाएको रेमिट्यान्सले जिल्लाको आर्थिक सन्तुलन कायम गरेको छ । युवाहरूलाई स्वदेशमै सुरक्षित हुने आधार स्थानीय तहले तयार गर्न सकेका छैनन् ।

जिल्लाका ६ स्थानीय तहले स्थानीय स्रोतसाधनमा आम्दानीको स्रोत र रोजगारका लागि स्पष्ट प्रतिवेदन, बजेट र स्रोतको पहिचान गर्न सकेका छैनन् । पछिल्लो समय ठूलो रकम खर्चेर अमेरिका, अष्ट्रेलिया, जापान, युरोपका देश तथा खाडी मुलुक जाने युवायुवतीको संख्या बढ्दो क्रममा छ । यसरी युवाहरू विदेश जाँदा गाउँ रित्तिँदै गएको छ भने उर्भरभूमि बाँझो र रुख विरुवा भरिएका छन् ।

सडक, इन्टरनेट, शिक्षा, स्वास्थ्य, खानेपानी विस्तारै गाउँमा पुगिरहेका छन् । युवाहरूले विदेशमा सिकेको सीप र रेमिट्यान्स घरघडेरीमा बढी प्रयोग भएको छ । गाउँलाई सहर बनाउने र स्थानीय स्रोतसाधन प्रयोग गरेर ग्राम उद्योग, सस्तोमा ऋणको सुविधा मिलाएर रोजगारीयुक्त व्यवसाय र सीप विकास गरेर आयस्रोत बढाउने भाषण म्याग्दीका जनप्रतिनिधिको भए पनि व्यवहारमा परिणत हुने योजना बनाउन सकेका छैनन् ।

संघ र प्रदेशको बजेटमा कर्मचारी तलब र साना विकास योजनाका काम गरिरहेको पालिका जनप्रतिनिधि र कर्मचारीले पालिकालाई आत्मनिर्भर बनाउने निश्चित आयस्रोत वृद्धि गर्न सकेका छैनन् । अनुभवी, जिम्मेवारी जनप्रतिनिधि र कर्मचारी स्थानीय तहको जनताले ल्याउन नसकेको धारणा बुद्धिजीवीको रहेको छ ।

म्याग्दीका स्थानीय तहका जनप्रतिनिधिले स्थानीय स्रोतसाधनबाट रोजगारी सिर्जना गर्ने आधार पहिचान गर्न नसकेको म्याग्दी बहुमुखी क्याम्पसका प्राध्यापक तारानाथ शर्माले बताए । “स्थानीय उत्पादन कच्चा वस्तुको रूपमा बाहिर सस्तो मूल्यमा बिक्री भइरहेको छ,” शर्माले भने, “स्थानीय तहले ग्राम उद्योगलाई प्राथमकिता दिएर स्थानीय उत्पादनलाई ब्राडिङ गरेर बिक्री गर्न सकेको छैन, स्थानीय उत्पादनलाई ब्रान्डिङ गरेर बेच्न नसक्दा रोजगारको अवसर गुम्दै गएको छ ।”’

स्थानीय तहले साना–साना उद्योग स्थापना गरेर स्थानीय उत्पादनलाई ब्राडिङ गर्न सकेमा रोजगारीका अवसर सिर्जना हँुदै जाने प्राध्यापक शर्माको भनाइ छ । “वास्तविक किसानलाई अनुदान, सहुलियत दरको ऋण, तालिमलगायतको सीप विकास गरेर स्थानीय स्रोतसाधनलाई अधिकत्तम प्रयोगमा जनप्रतिनिधिले ध्यान दिनुपर्छ ।”

म्याग्दीमा दर्ता भएका उद्योगहरू केवल ऋणका लागि मात्र दर्ता भएका छन् । व्यावसायिक रूपमा संचालन गरेर आम्दानीका लागि संचालन हुन सकेका छैनन् । संघ, प्रदेश र पालिकाका जनप्रतिनिधिबीच रोजगारी केन्द्र बनाउने नीतिनियम तथा बजेट व्यवस्थापन, सहकार्य र छलफल नबन्दा चुनावको समयमा जनतामाझ बोलेका प्रतिबद्धता कार्यान्वयन हुन नसकेको गुनासो जिल्लाबासीको छ ।

पूर्व जनप्रतिनिधि र अहिलेका निर्वाचित जनप्रतिनिधिले पालिकालाई संस्थागत रूपमा अघि बढाउन नसक्दा जनता आधारभूत आवश्यकतालाई सहज रूपमा परिपूर्ति र व्यवस्थापन गर्न नसकेको देखिन्छ । म्याग्दीका स्थानीय तहले कृषि, पर्यटन, जलविद्युत पशुपालन, जडिबुटी भने पनि व्यावहारिक रूपमा अघि बढाउने नीतिनियम तयार पार्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्