पाँच जीवन बिमा कम्पनीलाई आईपीओ जारी गर्न प्राधिकरणको निर्देशन

नेपाल बिमा प्राधिकरणले विभिन्न ५ वटा जीवन बिमा कम्पनीलाई तत्काल साधारण सेयर (आईपीओ) जारी गर्न निर्देशन दिएको छ । आईपीओ जारी गर्न बाँकी रहेका ५ जीवन बिमा कम्पनीलाई आईपीओ जारी गर्न निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए ।
उनका अनुसार, प्राधिकरणले सिटिजन्स लाइफ, रिलायबल लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई आइतबार पत्राचार गर्दै आईपीओ जारी गर्न निर्देशन दिएको हो । “ती कम्पनीहरूले आईपीओ जारी गर्न बाँकी थियो, त्यसैले तत्काल आईपीओ जारी गर्नु भनी आइतबार पत्राचार गरेका छौँ” प्राधिकरणका निर्देशक एवम् प्रवक्ता पौडेलले भने ।
आईपीओ लिनका निम्ति स्वीकृति लिन तत्काल आउन भनिएको र दोस्रो बजारमा पनि छिटो जान भनिएको उनले बताए । बिमा प्राधिकरणले जीवन तथा निर्जीवन बिमा कम्पनीहरूको चुक्ता पुँजी बढाउन आगामी चैतसम्मको समय दिएको छ । सो समयभित्रमा तोकिएको चुक्तापुँजी न्यूनतम ५ अर्ब रुपैयाँ पुर्याउनुपर्ने हुन्छ । चुक्ता पुँजी ५ अर्ब पुर्याउनकै लागि पनि सकेसम्म छिटो सेयर जारी गर्न प्राधिकरणले दवाव दिएको बिमा कम्पनीहरूको बुझाइ छ ।
प्राधिकरणले चैतसम्मको समयसीमा तोकेपछि यतिखेर यी बिमा कम्पनीहरू चुक्ता पुँजी बढाउन कस्सिएका छन् । जसमध्ये रिलायबल लाइफ, सन नेपाल लाइफ र सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा सेयर जारी गर्ने तयारी गरेका छन् । रिलायबल लाइफले प्रिमियम मूल्यमा कूल ६० लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको छ । जसको लागि कम्पनीले प्रिमियम मूल्य समेत तोकिसकेको छ ।
कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा थप ११२ रुपैयाँ प्रिमियममा आईपीओ जारी गर्न बोर्डसँग स्वीकृति मागिसकेको छ । बोर्डको स्वीकृति पाएमा कम्पनीले प्रतिकित्ता २१२ रुपैयाँमा (प्रिमियम मूल्य सहित) १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ । यस्तै सन नेपाल लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता सेयर प्रिमियममा निष्काशन गर्न लागेको छ । त्यस्तै सिटिजन लाइफ इन्स्योरेन्स, महालक्ष्मी लाइफ इन्स्योरेन्स र आइएमई लाइफ इन्स्योरेन्सले पनि आईपीओ जारी गर्ने तयारी गरेका छन् ।