सुकुम्बासी र अर्थतन्त्रको अन्तरसम्बन्ध

सहरहरूमा सरकारी जग्गामा घरटहरा बनाएर बसोबास गर्नेलाई सुकुम्बासी भनेर चिन्ने गरिएको छ । विदेशमा यस्तो बस्तीलाई ‘स्लम एरिया’को संज्ञा दिइन्छ । सुकुम्बासी र स्लममा शाब्दिक अर्थ फरक भए पनि यसले देश परिवेशअनुसार समान प्रकृतिकै बस्तीलाई जनाउँछ ।
सहरको अर्थतन्त्रमा सुकुम्बासी बस्तीको सकारात्मक र नकारात्मक दुवै प्रभाव रहेको हुन्छ । यस्ता बस्तीमा बस्ने मानिसहरूले घरटहराको नक्सा पास नगर्ने र सरकारलाई सम्पत्ति कर नतिर्ने हुँदा सरकारको राजस्वमा नोक्सान पर्छ । यस्ता मानिसहरूले दर्ता नगरी अनौपचारिक व्यापार व्यवसाय गर्ने हुँदा त्यसबाट पनि सरकारलाई राजस्वमा कमी हुन्छ ।
सहरले जतिसम्म सुकुम्बासी थेग्न सक्छ र जतिसम्म सुकुम्बासी सहरमा बस्दा सहरको अर्थतन्त्रलाई लाभ हुन्छ, त्यसलाई सन्तुलन मिलाएर सुकुम्बासीको व्यवस्थापन गर्नुपर्छ । धेरै संख्यामा सुकुम्बासी सहरमा थुप्रिसकेका छन् भने नगरपालिकाहरूले मात्र व्यवस्थापन गर्न सक्दैनन् । केन्द्रीय सरकारले सहयोग गर्नुपर्छ ।
यस्ता बस्तीमा प्रायः गाउँबाट आएका मानिसहरू बस्छन् । उनीहरूको जीवनशैली तुलनात्मक सस्तो हुन्छ । सहरका गरिब र निम्न आयस्तर भएका मानिसहरूका लागि सस्तो वस्तु तथा सेवा आवश्यक पर्छ । सुकुम्बासीले यस्तो सेवा आपूर्ति गर्छन् । सुकुम्बासीहरू फुटपाथमा व्यापार गर्छन् । डकर्मी, सिकर्मी, पेन्टिङ, सरसफाइलगायत अदक्ष र अर्धदक्ष सीपको काम गर्छन् । कम्पनीहरूमार्फत यस्तो वस्तु तथा सेवा लिँदा महँगो पर्न जान्छ । त्यसैले सहरका निम्न आय भएका मानिसहरूले सुकुम्बासी मजदुरबाट काम लिन सहज मान्छन् ।
सामाजिक असर
सुकुम्बासी बस्तीले समाजमा धनी र गरिब वर्गबीचको अन्तरसम्बन्ध स्थापित गर्न मद्दत गर्छ । समाजको निर्माण र चरित्रको अध्ययन गर्न विषयवस्तु उपलब्ध गराउँछ । गाउँसहर साझेदारी अवधारणालाई पनि प्रवर्द्धन गर्छ । गाउँमा थोरै मात्रामा उत्पादन हुने वस्तुहरू उनीहरूले सहरमा ल्याएर बेच्छन् । सुकुम्बासी बस्तीमा शिक्षा र जनचेतनाको कमी हुन्छ । धेरै सन्तान जन्माउने समस्या यस्ता बस्तीमा हुन्छ ।
त्यस्तै, असुरक्षित यौन व्यवसाय, चोरी, तस्करी, अपराध यस्ता बस्तीका कारण फस्टाएका हुन्छन् । यस्ता बस्तीको सही तथ्यांक सरकारी निकायहरूसँग हुँदैन । उनीहरूका लागि स्वास्थ्य र शिक्षाको वास्तविक आवश्यकता के–कति हो भन्ने प्रक्षेपण गर्न सकिँदैन । उनीहरूसम्म स्वास्थ्य र शिक्षाको उपलब्धता तथा पहुँचको पनि कमी हुन्छ ।
यहाँ फोहोरका कारण उत्पन्न हुने रोग सुरुवात भई सहरभर संक्रमण हुने खतरा हुन्छ । सहरहरूले डिजाइन गरेको बस्ती नभएका कारण सुकुम्बासी बस्तीहरूमा ढल निकास र सरसफाइ व्यवस्थापनको उचित प्रबन्ध गरिएको हुँदैन । उनीहरूका घरटहराले वैधानिकता नपाएका कारण बिजुली पानीको लाइन जोड्ने कार्यमा समस्या भएको हुन्छ ।
वातावरणीय असर
एकातिर बाक्लो, अव्यवस्थित र साँघुरो बस्ती; अर्कातिर सरसफाइका पूर्वाधारको अभाव छँदै छ । त्यसमाथि जनचेतनाको कमीका कारण सुकुम्बासी बस्ती स्वतः फोहोरी हुन्छ । बस्तीमात्र होइन, वरिपरि सडक, खाली सार्वजनिक स्थान, नदीनाला सबै प्रदूषित हुन्छन् ।
ढल निकासको उचित प्रबन्ध नहुँदा नदीमा शौचालयको फोहोर मिसाइन्छ, जसका कारण जलचरहरूको जीवनचक्रमा समेत प्रतिकूल असर पर्छ । नदी आसपास र झाडीहरूमा बस्ने जीवजन्तु मानव अतिक्रमणको कारण संकटमा पर्छन् । यस्ता बस्तीहरूमा जाडोयाममा प्लास्टिक र अन्य फोहोर वस्तु बालेर आगो ताप्ने गरिन्छ, जसले गर्दा वायु प्रदूषण हुन्छ ।
सहरी सौन्दर्यमा असर
सहरको सांस्कृतिक, प्राकृतिक र भौगोलिक सौन्दर्य हुन्छ । यसबाहेक मानवनिर्मित संरचनामार्फत सहरलाई सुन्दर, सफा, सुविधासम्पन्न बनाउने दायित्व नगरपालिकाहरूको हुन्छ । यसका लागि नगरपालिकाहरूले आवास, व्यापार, पूर्वाधार निर्माण, खुला ठाउँलगायत विभिन्न क्षेत्रका लागि नियम, मापदण्डहरू लागू गरेका हुन्छन् ।
सुकुम्बासी बस्तीका कारण नगरपालिकाहरूका योजना कार्यान्वयनमा असर पर्छ । महत्त्वपूर्ण स्थानहरूमा कुरूप घरटहरा बनाइएका हुन्छन् । खुला राख्नैपर्ने अति आवश्यक ठाउँहरू अतिक्रमित हुन्छन् । बगैंचा बनाउनुपर्ने ठाउँको अभाव हुन्छ । सडक, सार्वजनिक शौचालय, प्रतीक्षालय, अन्य पूर्वाधारहरू निर्माण गर्न स्थान अभाव हुन्छ ।
कसरी व्यवस्थापन गर्ने
साबिक बस्तीमै राख्दा सहरी व्यवस्थापनलाई कुनै असर पर्दैन भने सुकुम्बासीलाई यथास्थानमै व्यवस्थापन गर्नुपर्छ । सुकुम्बासी बस्तीलाई वैधानिकता दिएर त्यहाँ खानेपानी, विद्युत्, ढल निकास, सरसफाइ, स्वास्थ्य, शिक्षाका पूर्वाधार पुर्याउनुपर्छ । सुकुम्बासीका हकमा के–कस्ता डिजाइन र क्षेत्रफलका घरटहरा बनाउने हो, सोको मापदण्ड बनाएर लागू गर्न सकिन्छ । सुकुम्बासी बस्तीलाई नमुना बस्ती बनाएर पर्यटकीय आकर्षणको केन्द्र बनाउन सकिन्छ ।
बस्ती भइरहेको ठाउँमा व्यवस्थापन गर्न स्थान अपुग छ, स्थान विस्तार गर्न सकिने अवस्था छैन वा अन्य कारणले त्यहाँ बस्ती राख्न उपयुक्त छैन भने स्थानान्तरण गर्नुपर्छ । स्थानान्तरण गरिने ठाउँमा पर्याप्त ठाउँ छ भने घरटहरा बनाउनु नै उपयुक्त हुन्छ । यदि ठाउँ अभाव छ भने अग्ला भवन बनाएर अपार्टमेन्ट उपलब्ध गराउनुपर्छ । सुकुम्बासीका लागि सरकारले व्यवस्थित आवासको प्रबन्ध गरेपछि त्यसमा सुकुम्बासीको पनि लागत सहभागिता गराउनुपर्छ ।
तत्काल पुँजी चुक्ता गर्न नसक्ने सुकुम्बासीको हकमा कर्जाको प्रबन्ध मिलाउनुपर्छ । अति विपन्नको हकमा सरकारले सामाजिक सुरक्षाको प्रबन्ध गर्नुपर्छ । सहरले जतिसम्म सुकुम्बासी थेग्न सक्छ र जतिसम्म सुकुम्बासी सहरमा बस्दा सहरको अर्थतन्त्रलाई लाभ हुन्छ, त्यसलाई सन्तुलन मिलाएर सुकुम्बासीको व्यवस्थापन गर्नुपर्छ । धेरै संख्यामा सुकुम्बासी सहरमा थुप्रिसकेका छन् भने नगरपालिकाहरूले मात्र व्यवस्थापन गर्न सक्दैनन् । केन्द्रीय सरकारले सहयोग गर्नुपर्छ ।
प्राकृतिक भर्सेस कृत्रिम सुकुम्बासी
नेपालजस्ता विकासशील देशमा प्राकृतिक र कृत्रिम सुकुम्बासी हुन्छन् । राजनीति गर्ने व्यक्तिहरूले आफ्ना समर्थक बढी देखाउन र मसल पावर प्रयोग गर्न गाउँहरूबाट मानिस बटुलेर सहरमा ल्याएका हुन्छन् । शक्ति र पहुँचको दुरुपयोग गरी उनीहरूलाई जबरजस्ती सरकारी जग्गामा बसाइएको हुन्छ ।
सुकुम्बासीलाई जग्गा दिने नीतिअनुसार हजारौं मानिसले जग्गा पाइसकेका छन् । त्यसमा अधिकांश राजनीतिक पहुँच भएका सम्पन्न व्यक्तिहरू नै छन् । त्यसैलाई देखेर सके महँगो जग्गाको धनीपुर्जा पाइन्छ, नसके सरकारले नहटाउँदासम्म भाडा लगाएर आम्दानी गर्न सकिन्छ भनेर पनि सहरमा सरकारी जग्गा कब्जा गर्ने प्रवृत्ति छ ।
प्राकृतिक विपत्ति, युद्ध, महामारी, गरिबीका कारण मानिसहरू सुकुम्बासी बन्छन् । बाढी, पहिरो, भूकम्प आदिले घरबार नष्ट गरिदिन्छ । सरकारले उनीहरूका लागि उचित प्रबन्ध गर्न सक्दैन । उनीहरू सरकारी जग्गा ओगटेर बस्न बाध्य हुन्छन् । घरपरिवारमा चरम गरिबी हुन्छ । बसिरहेको ठाउँमा जीविकोपार्जन गर्ने अवसर उपलब्ध हुँदैन । सहरबजारमा बढी अवसर हुन्छ भनेर छिर्छन् । डेरा भाडा तिरेर बस्ने आर्थिक अवस्था हुँदैन । उनीहरूका लागि सरकारी जग्गा ओगटेर बस्नुको विकल्प हुँदैन ।
प्राकृतिक सुकुम्बासीलाई मानवअधिकार, मानवीयता र सहरको आवश्यकता तथा क्षमताका आधारमा उचित व्यवस्थापन गर्नुपर्छ । कृत्रिम सुकुम्बासी सहरी व्यवस्थापन र वास्तविक सुकुम्बासीको व्यवस्थापन दुवैका लागि बाधक भएको हुँदा उनीहरूमाथि निर्ममतापूर्वक कानुनी कारबाही गर्नुपर्छ ।
धनी र गरिबको अन्तरसम्बन्धमा सुकुम्बासीको सन्दर्भ
धनी मानिस आफ्नो आवश्यकता पूरा गर्न गरिब भएको ठाउँ पुग्छन् । जस्तै धनीले ठूलो उद्योग खोल्न चाहन्छ । बढी नाफा गर्न लागि उसलाई सस्तो श्रमिक र कच्चा पदार्थ चाहिन्छ । त्यसैले उद्योग कारखाना खोल्न ऊ गाउँ पुग्छ । अर्कातिर, गरिब आफ्नो आवश्यकता पूरा गर्न धनीकहाँ पुग्छ । एउटा गरिबले अर्को गरिबकहाँ गएर कुनै काम पाउँदैन ।
त्यसैले गाउँको गरिब सहरको धनीकहाँ पुगेर घरेलु मजदुरी गर्छ । त्यस्तै, सहरमा आएर धनीका उद्योग–व्यवसायमा काम गर्छ । व्यक्तिको जीवन निर्वाह र राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि धनी र गरिब तथा गाउँ र सहरबीच साझेदारी र अन्तरसम्बन्ध कायम हुनुपर्छ । सबै धनी गाउँ पसेर हुँदैन, किनकि गाउँसँग कच्चापदार्थ र श्रमिकको सीमितता हुन्छ । सबै गरिब सहर पसेर पनि हुँदैन, किनकि सहरमा असीमित अवसर हुँदैन ।
निष्कर्ष
मानिसको आवश्यकता, अवसरको उपलब्धता, जमिनको पर्याप्तता र पूर्वाधार निर्माणको सम्भाव्यतालाई मध्यनजर राखेर जनसंख्याको वितरणलाई सन्तुलित पार्ने प्रयत्न गर्नुपर्छ । गाउँतिर अवसर र सुविधा विस्तार गर्दै जानुपर्छ । पुराना सहर स्मार्ट सहर बनाउन नसकिने गरी भीडभाड र अस्तव्यस्त भइसकेका छन् । यिनलाई सक्दो व्यवस्थापन गर्दै जानुपर्छ ।