महोत्सवले पार्ने सकारात्मक प्रभाव «

महोत्सवले पार्ने सकारात्मक प्रभाव

यस वर्षको बर्सात र चाडपर्वको समय सकिएर हिउँद लागेपछि मुलुकका विभिन्न स्थानमा मेला–महोत्सव आयोजना गर्ने क्रम सुरु भएको छ । विगतका वर्षहरूमा पनि यस्ता मेला–महोत्सव आयोजना हुँदै आएका थिए । यस्ता महोत्सवले स्थानीय स्तरमा मनोरञ्जन त दिन्छ नै, त्योभन्दा बढी स्थानीय स्तरमा उत्पादन हुने वस्तुको बजारीकरणलाई सहयोग पुग्छ । बेरोजगार युवायुवतीलाई स्वरोजगार बनाउन प्रेरणा दिन्छ ।

साना, लघु तथा घरेलु व्यवसायलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने हुनाले पनि मेला-महोत्सवको छुट्टै महत्त्व छ । यो वर्षको सुरुमा मुलुकका सात प्रदेशमध्ये दुईवटा प्रदेशमा रहेका उद्योगी–व्यवसायीहरूका संगठनले मेला-महोत्सव आयोजना गर्न लागेको घोषणा गरिसकेका छन् । आगामी दिनमा बाँकी प्रदेशहरूले पनि यस्ता महोत्सव आयोजना गर्नेछन् ।

प्रदेश १ अन्तर्गत विराटनगरमा रहेको उद्योग संगठन मोरङले २९ मंसिरदेखि विराट एक्स्पो आयोजना गर्दै छ । यो संस्थाले लामो समयदेखि यस्तो महोत्सव आयोजना गर्दै आएको थियो । विराटनगर-१४ स्थित डिग्री क्याम्पसको खेलमैदानमा हुन लागेको प्रदर्शनीमा उत्पादक र उपभोक्तालाई आमनेसामने गराउने आयोजकको मूल उद्देश्य हो ।

आयोजकका अनुसार यो मेलामा औद्योगिक उत्पादन, कृषि, पर्यटन, अटोमोबाइल्स, प्रविधि, घरेलु उत्पादनलगायतका लागि ३ सय ६१ स्टल राखिएका छन् । मेलामा विदेशी उद्योगी–व्यवसायीहरूको पनि सहभागिता रहनेछ । मिल–मेसिनरी तथा अन्य उत्पादनसहित पाकिस्तानबाट छालाजन्य उत्पादन, बंगलादेशबाट गार्मेन्ट्स तथा भारतबाट स्वास्थ्य र भान्साका सामग्री लिएर व्यवसायीहरू आउँदै छन् ।

यस्तै स्थानीय स्तरमा तेह्रथुमको ढाका, संखुवासभाको अल्लो, ताप्लेजुङको राडीपाखी, इलामको ललीपप, चिया तथा जुम्लाका अर्गानिक उत्पादन राखिनेछन् । स्थानीय खानाका परिकारका साथै माटाका भाँडाकुँडा, सुकुल र गुन्द्री, बाँसका चोयाको ढक्की, डालो, नाङ्लो, गहुँको छ्वालीबाट बन्ने छ्वाली आर्ट, ढाका तान बनाउन आवश्यक सीपको प्रत्यक्ष प्रस्तुति गरिनेछ । एक्स्पोमा २ लाख दर्शकले प्रत्यक्ष अवलोकन गर्ने र साढे ३ करोड खर्च हुने अनुमान छ । यस पटक माउन्टेन फ्लाइट पनि सञ्चालन हुनेछ ।

विराट महोत्सव सकिएलगत्तै गण्डकी प्रदेशमा पनि यस्तै महोत्सव आयोजना गरिँदै छ । लेखनाथ उद्योग वाणिज्य संघ, कास्कीले पोखरा महानगरपालिका–२७, तालचोकमा पुस पहिलो सातादेखि लेखनाथ महोत्सव गर्ने घोषणा गरेको छ । यो महोत्सवमा घरेलु उत्पादनका सामग्री प्रदर्शनी गर्न ३ सय ३७ स्टल राखिनेछन् । आयोजकले महोत्सवको साढे २ लाख दर्शकले अवलोकन गर्ने र १० करोडको कारोबार हुने अपेक्षा राखेको छ ।

मुलुकका विभिन्न स्थानमा हुने यस्ता महोत्सवले उत्पादक र उपभोक्ता दुवैलाई एउटै थलोमा प्रत्यक्ष रूपमा भेट गराउने मौका मिलाउँछ । उपभोक्ताले दिने प्रतिक्रियाले उद्यमीहरूले आफ्नो उत्पादनलाई विश्वासिलो र गुणस्तर बनाउने मौका पाउँछन् । यसका साथै लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धन, आवश्यक ज्ञान, सीप, उद्यमशीलता र प्रविधि हस्तान्तरणमा समेत यस्ता मेला महोत्सवले सहयोग पुर्‍याउँछ । वस्तुको उत्पादन र उपभोगबाहेक जातीय, वेशभूषा, कला–संस्कृति, रीतिरिवाजको जगेर्ना गर्न पनि महोत्सव सहयोगी बन्दै आएका छन् ।

एक्स्पोले उद्यमी–व्यवसायीलाई व्यावसायिक सम्बन्धको विकास र नयाँ प्रविधिको पहिचान गर्न पनि सघाउ पर्‍याउँछ । यस्तै स्थानीय स्तरमा उत्पादित कृषि वस्तुको व्यवसायीकरण गर्न र आयोजना हुने क्षेत्रको पर्यटकीय गन्तव्यको प्रचार–प्रसार गरी आन्तरिक पर्यटन प्रवर्द्धन गर्न महोत्सव सहयोगी बन्ने गरेको छ । पछिल्लो समय देखिएको नवप्रवर्द्धक (स्टार्टअप)–हरूको व्यावसायिक विकासमा पनि मेलाले सहयोग पुर्‍याउन सक्नेछ ।

मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा साना तथा घरेलु उद्योगहरूको ठूलो अंश छ । तर, यो क्षेत्र सरकारको नजरमा कहिल्यै पर्न सकेको छैन । कोभिड महामारीको समयमा लगभग शून्यतिर झरेको यो क्षेत्र अझै पनि राम्रोसँग उठ्न सकेको छैन । सरकारले ठूला व्यवसायीलाई मात्र बढी ध्यान दिन्छ र उनीहरूका मात्र कुरा सुन्छ । साना व्यवसायीहरूको समस्या कसैले सुन्ने गरेको छैन । बैंक तथा वित्तीय संस्थाहरू पनि ठूला व्यवसायीलाई नै कर्जा दिन्छन् ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई यो क्षेत्रमा कुल कर्जाको केही निश्चित प्रतिशत यो क्षेत्रमा दिन निर्देशन दिएको छ । तर, व्यवहारमा यो लागू भएको अवस्था छैन । पछिल्लो समय देखिएको कर्जा नपाउने र पाए पनि चर्को ब्याजको समस्या सबैभन्दा बढी साना तथा घरेलु उद्योगहरूमा नै छ । यस्तोमा मेला-महोत्सव आयोजनाले आन्तरिक गतिविधि बढाउने र थोरै भए पनि यो क्षेत्रलाई चलायमान गराउन सहयोग पुग्छ । त्यसैले उद्योगी–व्यवसायीले गर्ने यस्ता मेलालाई सरकारले सकेसम्म सहयोग गरी प्रोत्साहन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्