महासंघ टोली नेताका घरमा «

महासंघ टोली नेताका घरमा

चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षाबाट आफ्ना माग पूरा नभएर असन्तुष्ट बनेको निजी क्षेत्र राजनीतिक दलहरुसँग सहयोग माग्न पुगेको छ । अर्थमन्त्री जनार्दन शर्मालाई आइतबार भेटेको महासंघको प्रतिनिधिमण्डल सोमबार अन्य राजनीतिक दलका नेतासमक्ष पुगेको छ । आफ्ना माग पूरा गराउन महासंघको टोली ‘अर्थतन्त्र जोगाऔं’ भन्ने नारालाई अगाडि सारेर हिँडिरहेको छ ।

टोलीले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग भेट गरेको हो । महासंघ अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थतन्त्रमा बहुआयामिक असर परेको र मौद्रिक नीतिको समीक्षाले समेत विद्यमान समस्या सम्बोधन गर्न नसकेकोमा चिन्ता प्रकट गरेको थियो । टोलीले समस्या समाधानमा सहयोग र समन्वय गरिदिन नेताहरुलाई आग्रह गरेको महासंघले जनाएको छ ।

महासंघ अध्यक्ष गोल्छाले अर्थतन्त्रको संवेदनशिलता बुझिदिन आग्रह गरे । राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था आएको भन्दै मूल्यवृद्धि सात वर्षयताकै उच्च रहेको र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्र नै संकुचित हुँदै गएकोतर्फ ध्यानाकर्षण गराएका थिए । महासंघका अनुसार एमाले अध्यक्ष ओलीले अर्थतन्त्र संवेदनशील अवस्थामा रहेकोमा आफू पनि चिन्तित रहेको बताउँदै महासंघले राखेका सबै सुझाव जायज रहेको र तीनको सम्वोधन गर्न आफ्नो पार्टीले पूरा सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका थिए ।

यस्तै, माओवादी अध्यक्ष प्रचण्डले देशको आर्थिक अवस्थालाई कसरी माथि लैजान सकिन्छ र अहिलेको समस्या समाधान गर्न सकिन्छ भन्नेबारेमा आफू पनि गम्भीर रहेको बताए । अध्यक्ष प्रचण्डले समस्या समाधानमा सबैको सामूहिक प्रयास आवश्यक रहेको राजनीतिक नेतृत्वको हिसाबले उद्योग व्यवसाय क्षेत्रको समस्या समाधान र महासंघका सुझाव कार्यान्वयनमा विशेष सहयोग रहने विश्वास दिलाएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्