Logo

पेट्रोलियम पाइपलाइन एक हप्ताभित्रै

• वार्षिक २ अर्ब बचत हुने
• २ प्रतिशतमात्र बाँकी
• असारदेखि तेल आयात

बारा-बहुप्रतिक्षित नेपाल–भारत पेट्रोलियम पाइपलाइन एक साताभित्रै निर्माण सम्पन्न हुने भएको छ । राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाका रूपमा रहेको मोतिहारी–रक्सोल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना निर्माणको सबै काम एक साताभित्रै पूरा हुने जनाइएको छ । आयोजनाअन्तर्गत पाइप गाड्ने काम सकिएपछि गरिनुपर्ने साना प्राविधिक काम साताभित्रै सम्पन्न भइ सञ्चालनका लागि तयार हुने भएको हो ।पाइपलाइनको काम जम्मा दुई प्रतिशतमात्रै बाँकी रहेको तथा यसलाई पूरा गर्न एक हप्तामात्रै लाग्ने परियोजनाका विज्ञ इन्जिनियर शरद पौडेलले जानकारी दिए । “भारतको मोतिहारीदेखि नेपालतर्फको अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकिएपछि गर्नुपर्ने हाइड्रो टेष्टिङ, पिजिङ, अप्टिकल फाइबर केबल लगाउनेदेखि प्रोसेसिङको काम साताभित्रै सकिन्छ,” उनले भने । सबै काम सकिएपछि भने डिष्प्याचिङ र रिसिभिङका लागि फेरि दुवै देशका सरोकारवालाहरूले तय गरेपछि तेल आउने उनले बताए । भारतको मोतीहारीदेखी अमलेखगन्जसम्म ६९.९ किलोमिटरमा पाइप बिछ्याइसकिएको छ, जसमा भारततर्फ मोतिहारीदेखि रक्सोलसम्म ३२.६५ किलोमिटर र नेपालतर्फ रक्सोलदेखि अमलेखगन्जसम्म ३७.२५ किलोमिटर पाइप बिछ्याइएको छ । भारतीय आयल कर्पोरेसनको ३ सय करोड भारतीय रुपैयाँ सहयोग लागतमा निर्माण भएको पाइपलाइन निर्माणमा भारतीय २२ दक्ष प्राविधिक र नेपालबाट सहायक श्रमिकसमेत गरी कुल ३० जना प्राविधिक कर्मचारीबाट निरन्तर काम भइरहेको हो ।नेपाल आयल निगमले परियोजना कार्यान्वयन एकाइ स्थापना गरेर कामको सुपरिवेक्षण मात्र गरिरहेको छ । नेपालतर्फ ३.६ किलोमिटरमा ड्रिलिङ गरेरसमेत पाइप राखिएको छ । परवानीपुरमा २ किलोमिटर र जीतपुरमा १.६ किलोमिटर बजार क्षेत्रमा ८ देखि १६ मिटरसम्म जमिनुमनि ड्रिलिङ गरी बाँकी ठाउँमा सिमेन्टको क्यानल बनाएर पाइप राखिएको छ  ।इन्जिनियर पौडेलका अनुसार दुई पाइपलाई वेल्डिङ गरेर जोडिएको पाइपलाइन रेडियोग्राफी गरेर परीक्षणका साथै दुवै पाइपको जोडिएको बिन्दुमा एक्सरे गरेर ठीक ढंगले जोडिए–नजोडिएको हेरिने काम भइरहेको र त्यसपछि स्क्यान प्लास्ट गरेर पाइपमा वेल्डिङका क्रममा आएका खिया हटाउँदै चिल्लो स्टिल बनाइन्छ जुन धमाधम भइरहेको छ  ।वेल्डिङ गरेको ठाउँमा खिया आउन नदिन पोलिथिन ल्यापिङ गर्ने बताउँदै पौडेलले पोलिथिन ल्यापिङ गरेपछि खिया नआउने बताए । उनले पाइपलाइनको पाइपको भित्री भागमा अटाउनसक्ने रबर हालेर मेसिनका माध्यमबाट फोर्स दिइ बाहिर निकाल्ने विधिबाट सफा गर्न थालिएको बताए । अमलेखगञ्जको भण्डारस्थलका ठूला ४ वटा ट्यांकीको पनि रेडियोग्राफ, बटम टेष्टलगायत मर्मत कार्य सकिएको छ चार वटा पूराना ट्यांकीलाई परियोजनाले भण्डारण क्षमता वृद्धिका पूर्ण सहयोगमा पुनर्निर्माण गरेको हो ।सञ्चालनको तयारीमा पुग्दै गरेको पाइपलाइन सञ्चालन विधि, मर्मतसम्भारलगायत विषयमा तालिम लिन निगमको प्राविधिकहरूको एक टोली आईओसीको पाइपलाइनसम्बन्धी तालिम केन्द्र लखनउ गएको छ । आयल निगमले पाइपलाइन बिछ्याउने काम सकेपछि सञ्चालनको गृहकार्य अघि बढाएको छ । नेपाल आयल निगमका अनुसार भण्डारण क्षमता, पाइपको अवस्था र केबलहरूको परीक्षणपश्चात् दुवै देशका सरोकारवालाहरूले तय गरेपछि सञ्चालनमा आउँछ । हाल दैनिक तीन सय ट्यांकर भारतको रक्सोलस्थित इन्डियन आयलको डिपोबाट इन्धन भर्छन् । जसबापत निगमले ढुवानी भाडामात्रै करिब वार्षिक २ अर्ब दिने गरेको छ । पाइपलाइन सञ्चालनमा आएपछि वार्षिक २ अर्ब रुपैयाँ बचत हुनेछ भने रक्सोल–अमलेखगञ्ज गुड्ने ट्यांकरबाट हुने प्रदूषण र ट्राफिक व्यास्थापनमा समेत सहजता आउने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्