पूर्ण सरसफाइ अभियान ठप्प

जिल्लालाई पूर्ण सरसफाइ बनाउने गरी सञ्चालन गरिएको अभियान अहिले ठप्पजस्तै भएको छ ।
बजारी क्षेत्रमा सरसफाइ अभियान सञ्चालन भए पनि गाउँमा सरसफाइ अभियान सञ्चालन हुन सकेका छैनन् । गाउँमा खुल्ला दिसामुक्त अभियानको समयमा निर्माण गरिएका शौचालयसमेत भत्कन थालेका छन् । ग्रामीणस्तरमा पानीको समस्या देखाउँदै शौचालयसमेत प्रयोगविहीन भएका हुन् । यसको निगरानी समेत हुन सकेको छैन । निगरानी नहुदाकतिपय स्थानमा शौचालयमा गुइँठा, दाउरा, तथा अन्य सामग्री राख्ने गरिएको छ । नया संरचना भएपछि वडामा रहेका खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिसमेत अन्योलमा छन् । वडाहरु मिसिएपछि समितिको पुनर्गठनसमेत हुनसकेको छैन । घोराही उपमहानगरपालिका साविक वडा नम्बर ६ खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिका सचिव दिनेश वलीले पूर्ण सरसफाइ अभियान कसरी अगाडि बढाउने भन्ने बारे कुनै जानकारी नआएको बताए । उनका अनुसार दुईवटा वडा एउटै भए पनि समितिसमेत गठन हुन सकेको छैन । “अब पूर्ण सरसफाइको अभियान हामीले सञ्चालन गर्ने हो कि स्थानीय तहबाट सञ्चालन हुने समेत जानकारी दिइएको छैन,” वलीले भने ।
यस बारेमा स्थानीय निकायमा जानकारी गराए पनि त्यसको कुनै जानकारी नआएको उनले बताए । “हामीले खुल्ला दिसामुक्त अभियान सफल बनाएका हौ जिम्मेवारी दिए पूर्ण सरसफाइ अभियान पनि सफल बनाउने छौ ,” वलीले भने । आफूहरूलाई जिम्मेवारी दिए जिम्मेवारी बहन गर्न तयार रहेको उनले बताए । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले अहिले जिल्लामा पूर्ण सरसफाइसम्बन्धी कुनै पनि कार्यक्रम सञ्चालन नभएको जनाएको छ । जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति फोकलपर्सन तथा कार्यालयका इन्जिनियर तिलक न्यौपानेले छिटै स्थानीय तहका प्रमुखसँग छलफल गरेर अगाडि बढने बताए । “हामीले कार्यालयबाट कार्यक्रम सञ्चालन गरेका छैनौं उपभोक्ता आफंैले कार्य गर्नु भएको छ,” न्यौपानेले भने ।
उनले नगरपालिका तथा गाउँपालिकाहरूमा नया संरचनाअनुसार नयाँ समिति बनाउनका लागि आग्रह गरी सकेको बताए । केही स्थानमा समिति गठनसमेत भएको उनको भनाइ छ । स्थानिय निकायको निर्वाचन, प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन र राष्ट्रिय सभाको निर्वाचनले गर्दा पनि अभियानलाई अगाडि बढाउन नसकिएको न्यौपानेले बताए ।
घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी पूर्ण सुरसफाइ अभियान कै रूपमा अगाडि बढन नसकेको बताए । उनका अनुसार वडावडामा अध्यक्षहरूले अभियान सञ्चालन गरी राखेका छन् । “सहरमा सरसफाइ अभियान सञ्चालन हुँदै आएको छ तर पूर्ण सरसफाइ अभियान कै रूपमा अगाडि बढन भने सकेको छैन,” प्रमुख चौधरीले भने । पूर्ण सरसफाइ अभियानलाई उपमहानगरपालिकाले योजना बनाएर अगाडि बढने प्रमुख चौधरीको भनाइ छ । उपमहानगरपालिकाले १५/१५ दिनमा बजारमा सरसफाइ अभियान भने सञ्चालन गर्दै आएको छ । घोराहीसँगै जिल्लाका अन्य बजारी क्षेत्रमा सरसफाइ अभियान सञ्चालन हुँदै आएका छन् । जिल्लालाई सन् २०२० सम्म पूर्ण सरसफाइ जिल्ला घोषणा गरिने गरी योजना निर्माण गरिएको थियो ।
अमरराज आचार्य