सीपले बनायो जीवनयापन सहज

घोराही उपमहानगरपालिका–४ सिस्नेखोला असारे निवासी ४७ वर्षीय शारीरिक अपांग जुठे घर्तीका दुवै खुट्टाले काम गर्दैनन् । दुई वर्षको उमेरमा पोलियोका कारण दुवै खुट्टा गुमाएका घर्ती अहिले घोराही उपमहानगरपालिका–१८ को कटुवाखोला पुलनजिकै ढेब्ली (टहरो)मा जुत्ता सिलाउने काम गरेर जीविकोपार्जन गर्दै आएका छन् ।
जुत्ता सिलाएर गरेको आम्दानीको पैसाले घर व्यवहार चलाउनेदेखि छोराछोरीलाई पढाउने काम गर्दै आएको घर्ती बताउँछन् । “पोलियोका कारण दुई वर्षको उमेरमा दुवै खुट्टा गुमाएँ, त्यसपछि पढ्न सकिएन र कमाउन जाने अवस्था रहेन,” उनले भने, “त्यसैले जुत्ता सिलाउने सीप सिकेर घोराहीको कटुवाखोलाको पुल छेउमा जुत्ता सिलाउने काम गर्दै आएको छु, त्यहीबाट आएको पैसाले परिवार पाल्ने गरेको छु ।”
अपांग मानवअधिकार एवं सरोकार मञ्चको सहयोगमा जुत्ता सिलाउने तालिम लिएका उनलाई त्यही सीप जीविकोपार्जनको माध्यम बनेको हो । जुत्ता सिलाउने सीपले घर व्यवहार चलाउन सहज बनेको उनी बताउँछन् । यसलाई व्यवस्थित रूपमा ठूलो बनाएर बजारमै गर्नसके थप कमाइ हुने उनको आशा छ, तर त्यसका लागि आफूसँग पैसा नभएको उनी बताउँछन् ।
जुत्ता सिलाउने पसलसँगै करिब दुई वर्ष घोराही बजारमा विद्युतीय अटो रिक्सासमेत चलाएका घर्तीले अहिले अटो छोडेर जुत्ता सिलाउने काम मात्रै गर्दै आएका छन् । “क्षमताअनुसारको सीप भए अपांगता भएका व्यक्तिलाई जीविकोपार्जनका लागि सहज हुने थियो,” उनले भने, “त्यसअनुसार स्थानीय सरकार तथा संघसंस्थाले व्यवस्था गरिदिए राम्रो हुन्थ्यो ।”
उनको जस्तै सोच छ, घोराही उपमहानगरपालिका–१५ काठेकोहल निवासी शारीरिक अपांग महावीर रोकाको पनि । उनी बजारमा मजदुरीको काम गर्दैगर्दा करिब १० वर्षअघि ट्रकमा टिन, छड लोड अनलोड गर्ने क्रममा फलामले च्यापेर शारीरिक अपांग बने । रोका अहिले ह्विलचिअरमा हिँड्डुल गर्छन् । काम गरेर जीविकोपार्जन गरिरहेका उनले आफ्ना लागि अहिले काम नहुँदा दाताको सहयोगमा परिवार पाल्नुपरेको बताउँछन् ।
“पहिले बजारमा लेबर काम गरेर परिवार पाल्ने गरेको थिएँ, अपांग भएपछि ह्विलचिअरमा हिँड्ने भएको छु,” रोकाले भने, ‘बसेर केही गर्नसक्ने क्षमताअनुसारको सीप छैन, ठूला र भारी बोक्ने काम गर्न सकिँदैन, त्यसैले क्षमताअनुसार सीपको व्यवस्था भइदिए आपूmहरूका लागि सहज हुन्थ्यो ।” आपूm शारीरिक अपांग बनेपछि घरव्यवहार चलाउनसँगै छोराछोरीलाई पढाउन समेत समस्या भएको उनी बताउँछन् । घोराहीको काठेकोहलमा भाडामा बस्दै आएका रोका आर्थिक रूपमा विपन्न परिवारमा पर्ने गर्दछन् ।
अपांगमैत्री संरचना नहुँदा समस्या
जिल्लामा अपांगमैत्री सार्वजनिक संरचना नहुँदा शारीरिक अपांगता भएका व्यक्तिहरूले हिँडडुलदेखि कामका लागि सरकारी कार्यालय पुग्दा समस्या भोग्नुपरेको शारीरिक अपांग घोराही उपमहानगरपालिका–१८ अम्बिकेश्वरी निवासी चूडामणि पुरी बताउँछन् । अपांगमैत्री सडक बन्न नसक्दा आपूmहरूजस्ता अपांगता भएका व्यक्तिलाई हिँडडुल गर्न समस्या भएको उनी बताउँछन् । अपांगमैत्री सडक नबनेकै कारण अपांग दिवसको कार्यक्रम मनाउन सिधै जाने बाटो भए पनि घुमाउरो बाटो भएर पुग्नुपर्ने बाध्यता रहेको उनी बताउँछन् ।
“अपांगमैत्री सडक बन्न नसक्दा घोराही उपमहानगरपालिकाको सभाहलसम्म पुग्न घुमाउरो बाटो भएर जानुपर्ने बाध्यता छ,” शारीरिक अपांग पुरीले भने, “बजारको मुख्य सडक निर्माण गर्दा अपांगमैत्री सडक बनाउन ध्यान दिएको भए आपूmहरूजस्ता अपांगता भएका व्यक्तिका लागि सहज हुने थियो ।” सडकसँगै सरकारी कार्यालयसमेत अपांगमैत्री हुन नसकेको उनको गुनासो छ । मुख्य सडकअन्तर्गत डिभिजन सडक कार्यालय नजिकैको उकालो लामो भएकाले ह्विलचिअरमा एक्लै हिँड्न नसक्ने भएपछि हस्पिटल रोड, रझेना चोक हुँदै हिँड्नु परेको उनी बताउँछन् ।
२०७४ सालमा अपांगता भएका व्यक्तिका लागि सरकारले ऐन जारी गरेर अपांगलाई १० प्रकारमा वर्गीकरण गरेको छ । त्यसलाई गम्भीरताका आधारमा चार प्रकारमा विभाजन गरेर सरकारले परिचयपत्र तथा सामाजिक सुरक्षासत्तासमेत उपलब्ध गराउँदै आएको छ । दाङ जिल्लामा विभिन्न प्रकारका १२ हजार आठ सय बढी अपांगता व्यक्ति छन् ।