राइनास नगरपालिकाले नयाँ सडक ट्रयाक नबनाउने

पूर्वी लमजुङको राइनास नगरपालिकाले चालू आर्थिक वर्षदेखि नयाँ सडक ट्रयाक नखोल्ने जनाएको छ । नगरपालिकाले चालू आर्थिक वर्षदेखि सडक योजनाअन्तर्गत बजेट विनियोजन गरे पनि नयाँ सडक ट्रयाक खोल्ने कार्यक्रम नरहेको जनाएको हो ।
नगरपालिका अन्तर्गतका प्रायः सबै गाउँबस्तीमा सडक ट्रयाक पुगिसकेको भन्दै नयाँ ट्रयाक खोल्ने कार्यक्रम नरहेको नगरपालिका प्रमुख खड्गबहादुर गुरुङले बताए । यसअघि खोलिएका सडक जीर्ण अवस्थामा रहेकाले ती सडकमा हिउँद वर्षा सबै समय यातायात सुचारु हुनेगरी स्तरोन्नति गर्ने नगर प्रमुख गुरुङको भनाइ छ ।
जीर्ण सडक मर्मतमा वर्षेनी लाखौं रुपैयाँ खर्च गरे पनि प्रत्येक वर्षाको समयमा पुनः सडक भत्किने हुँदा त्यस्ता सडकलाई व्यवस्थित गर्ने तर नयाँ सडक खोल्ने विषयलाई प्राथमिकतामा नराखिएको नगर प्रमुख गुरुङको भनाइ छ । “प्रत्येक वर्ष सडकमा मात्रै लाखौँ रुपैयाँ बजेट गएको छ,” नगरप्रमुख गुरुङले भने, “अबको खर्च खेर नजाने गरी पुराना सडकलाई स्तरोन्नति गर्छौँ ।” ग्रामीण बस्तीमा यसअघि बनेका सडकलाई विशेष प्राथमिकतामा राखी स्तरोन्नति गर्ने गरी बजेट तय गरिएको नगरपालिकाले जनाएको छ ।
ग्रामीण भेगका सडकसँगै बजारी क्षेत्रका सडकहरुलाई पनि स्तरोन्नति गरी व्यवस्थित बनाउने योजना रहेको नगर प्रमुख गुरुङले बताए । स्थानीय तहको बजेट सीमाभित्र निर्माण गर्न सकिने सडकसँगै प्रदेश तथा संघीय सरकारसँगको सहकार्यमा नगरपालिकाभित्रका ठूला सडकलाई थप स्तरोन्नति गर्न पहल भइरहेको नगर प्रमुख गुरुङले बताए ।
“हाम्रो नगरभित्रका ठूला सडक केही व्यवस्थित छन्, बाँकी सडक संघ तथा प्रदेश सरकारको समन्वयमा थप व्यवस्थित बनाउम्छौँ,” गुरुङले भने, “यसका लागि यसअघिका संघ तथा प्रदेश सरकारसँग समन्वय भइरहेको थियो, अब बन्ने नयाँ सरकारसँग पनि समन्वय गर्छौँ ।”
सडक सँगै आवश्यकताअनुसार सडक पुल निर्माणका लागि पनि संघ तथा प्रदेश सरकारसँग समन्वय भइरहेको नगरपालिकाले जनाएको छ । ग्रामीण बस्तीका नागरिक सडककै कारण सेवा प्रवाहमा असहज नहोस् र दुर्घटना नहोस भन्ने उद्देश्यसहित भइरहेका सडकलाई व्यवस्थित गर्न नगरपालिकाले विशेष योजना बनाएको नगरपालिकाले जनाएको छ ।