म्याग्दीमा निर्माणाधीन ठूला विकास योजना अलपत्र

म्याग्दीमा निर्माणाधीन विकास योजना अलपत्र पर्ने क्रम बढेको छ । ठूला निर्माण व्यवसायीलाई राजनीतिक दल, जनप्रतिनिधि र प्रशासनले संरक्षण गर्दा जिल्ला सडक, मोटरेबल पुल, भवनलगायतका विकास आयोजना अलपत्र परेको गुनासो जनताको छ । म्याग्दीमा गण्डकी प्रदेश सरकारका ११ र संघीय सरकारका नौवटा सडक र मोटरेबल पुलसम्बन्धी आयोजना अलपत्र परेका छन् ।
पूर्वाधार विकास कार्यालय म्याग्दीअन्तर्गतका छवटा सडक र पाँचवटा मोटरेबल पुल थलिएका छन् । यसैगरी १५ वटा खानेपानी, बेनी अस्पतालको ५० शैयाको भवन निर्माण योजना अलपत्र छ । बेनी–जोमसोम, बेनी–दरवाङ, गलेश्वर, भगवती, पोखरेवगर–भगवती, दरवाङ–ताकमधारापानी बेनी–बागलुङ, बेनी बालढुंगालगायतको सडक पटक–पटक म्याद थप गर्दा पनि निर्माण व्यवसायीले निर्माण कार्यमा ढिलासुस्ती र अलपत्र पार्ने क्रम बढेको छ ।
म्याग्दीका नवनिर्वाचित प्रतिनिधि र प्रदेश सभाका सदस्यले जिल्लाका अधुरा र अलपत्र योजनालाई छ महिनाभित्र पूर्णता दिन तत्कालै पहल थाल्ने बताएका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्वीर) ले जिल्लामा रोकिएका विकास निर्माणका योजनालाई तत्काल गति बढाउने प्रतिबद्धता जनाएका छन् ।
गलेश्वर–भगवती सडक अलपत्र
विगत तीन वर्षदेखि म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर–पिप्ले–भगवती कालोपत्रे सडक योजना अलपत्र छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेको योजनामा निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले समयमै काम नगर्दा योजना अलपत्र परेको हो ।
आयोजनाको थप भएको समयमा समेत निर्माण कम्पनीले काम सुरु नगरेपछि रघुगंगा गाउँपालिका वडा नम्बर २ र ३ को वडाका जनप्रतिनिधिले पूर्वाधार विकास कार्यालय पुगेर ध्यानाकर्षण पत्र बुझाएका छन् । वडाध्यक्षद्वय अमृत भण्डारी र खिमबहादुर शाहीले सडक कालोपत्रे गर्ने कामलाई छिटोभन्दा छिटो अघि बढाउन माग गर्दै कार्यालय प्रमुख गुरुदत्त अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्रमा निर्माण कम्पनीको लापरबाहीले कालोपत्रे गर्ने सडक योजना अलपत्र पर्ने खतरा बढेका कारण समन्वय गरेर कामअघि बढाउन उल्लेख गरेका छन् ।
पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले पिप्लेदेखि भगवतीसम्मको सडक कालोपत्रेकोे काम तत्काल अगाडि बढाउन निर्माण कम्पनीलाई निर्देशन गरिएको बताए । “निर्माण कम्पनीलाई कार्यक्षेत्रमा खटिन हामीले पटकपटक पत्र काटेका छौं,” यही महिनाको अन्तिमबाट काम सूचारु हुन्छ,” अधिकारीले भने ।
पिप्लेदेखि भगवती जोड्ने सडक कालोपत्रे गर्न निर्माण कम्पनीले सडकलाई फराकिलो बनाउने, ग्रेड मिलाउने, नालीनिर्माण गर्ने लगायतका काम गरेर अलपत्र छोडेको थियो । भ्याटसहित १८ करोड ४१ लाख ८ सय ३८ रुपैयाँमा ठेक्का सम्झौता भएको यस योजनामा आठ किलोमिटर सडकलाई आठ मिटर फराकिलो बनाउने र ५.५ मिटर कालोपत्रे गर्नुपर्ने उल्लेख छ । प्रदेशका अन्य योजनालाई तत्काल काम अघि बढाउन निर्माण कम्पनीलाई ताकेता गरिरहेको पूर्वाधार कार्यालयले जनाएको छ ।