Logo

सरकार गठनमा माओवादीको अस्वाभाविक अग्रसरता

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम लगभग आइसकेको छ । आइतबार बेलुकासम्म प्रत्यक्षतर्फका १६४ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । पुनः मतदान भएको दोलखाको मात्र मतगणना सकिएको छैन । समानुपातिकतर्फ पनि मतगणनाा अन्तिम चरणमा पुगेको छ । मतदानको नतिजा आएसँगै सरकार गठनको चर्चा परिचर्चा पनि सुरु भएको छ ।

नेपाली कांग्रेस नेतृत्वको वर्तमान सत्ता गठबन्धनले सामान्य बहुमत पुर्‍याएर सरकार बनाउने देखिएको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा सरकार बनाउन १३८ जना सांसद आवश्यक पर्छ । गठबन्धनको सरकार बन्ने देखिएसँगै पार्टीहरुभित्र सरकारको नेतृत्व कसले गर्ने भनेर पनि छलफल चलिरहेको छ । सरकार गठनको चासो राख्नेमा सबैभन्दा अगाडि माओवादी केन्द्र देखिएको छ । सरकार गठनबारे नै छलफल गर्न आइतबार नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बसेको थियो ।

बैठकले तत्काल गठबन्धनको विकल्प खोज्ने पक्षमा पार्टी नरहेको ठहर गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले गठबन्धन फोड्ने वा तोड्ने पक्षमा आफूहरू नरहेको निष्कर्ष निकालेको हो । चुनावका बेला एमालेले मात्र प्रस्टसँग अध्यक्ष केपी ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेको थियो, तर परिणाम त्यसअनुकूल नआएपछि सरकार गठबन्धनकै बन्ने निश्चितप्रायः छ ।

सत्ता गठबन्धनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैंले मुख फोरेका थिए, ‘फेरि प्रधानमन्त्री हुने रहर छ’ भनेर । यसबारे देउवा आफैंले बोलेका छैनन् । तर कांग्रेसका दोस्रो तहका नेताहरु खासगरी देउवा निकट नेताहरुले सरकार कांग्रेसको नेतृत्वमा बन्ने र प्रधानमन्त्री देउवा नै बन्ने बताइरहेका छन् । यस्तो अवस्थामा प्रतिनिधिसभामा जम्मा १७ सिट जितेको माओवादीले सरकार गठनमा देखाएको अग्रसरता र एमालेसँग पनि मिल्न सकिने गरेको संकेतले कांग्रेसलाई झस्काएको छ ।

आइतबारको बैठकपछि माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले आइतबारको बैठकमा विशेषगरी यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको प्रारम्भिक रूपमा समीक्षा गरिएको जानकारी दिए । नयाँ सरकार गठनका सन्दर्भमा धेरै कुरा नभएको भन्दै उनले सत्तारूढ गठबन्धनको बैठक आह्वान गरेर समग्र पक्षमा छलफल गरिने बताए । महासचिव गुरुङका अनुसार गठबन्धनको बैठक सोमबारका लागि बोलाइएको छ ।

उनले भने, “गठबन्धनमा विमति पैदा भएको अवस्था पनि होइन, तोड्नुपर्छ वा फोड्न्पर्छ भन्ने कुरा पनि होइन । सरकार गठनको विकल्पमा उल्लेखनीय रूपमा विषय प्रवेश गरेको छैन । हामी विशेषगरी निर्वाचनको समीक्षाको पाटोमा केन्द्रीत छौं ।” सरकार गठनको सन्दर्भमा गठबन्धन घटकका बीचमा कुराकानी हुने उनले बताए ।

कांग्रेससँग चुनावी गठबन्धन गर्दा अपेक्षाकृत नतिजा नआएको प्रारम्भिक समीक्षा गरेको माओवादी सरकार गठनका लागि सबै विकल्पमा खुला रहने भएको छ । सरकार निर्माणका लागि एमालेसँग समेत सहकार्य हुन सक्ने माओवादी नेताहरूले बताएका छन् । शनिबारको समीक्षात्मक बैठकपछि माओवादी प्रवक्ता कृष्णबहादुर महराले भने, “अहिलेको गठबन्धन छाड्ने निर्णय होइन तर अन्य विकल्पमा पनि हामी खुला छौं ।”

मतगणना सकिनै लागेका बेला शनिबार माओवादीले पार्टी केन्द्रीय कार्यालयमा पदाधिकारीको बैठक गरेर चुनावी समीक्षा गरेको थियो । बैठकमा नेताहरूले गठबन्धनभित्र मत साटासाट नभएकोदेखि कांग्रेस नेताहरू नै आफ्ना उम्मेदवारलाई हराउन लागेकोसम्म बताएका थिए । सरकारमा कांग्रेससँगै हिँडे पनि आगामी दिनमा अहिलेको परिणामलाई ख्याल गरेर अगाडि बढ्नुपर्ने उनीहरूको धारणा थियो । “अहिले प्रतिनिधिसभामा हामीले सोचेअनुरूप परिणाम आएन भन्ने निक्र्योलमा पुगेका छौं । थप समीक्षा समानुपातिकको नतिजा आएपछि हुन्छ,” महराले भने ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष महरा, महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव पम्फा भुसालले चुनाव र आगामी रणनीतिबारे धारणा राखेका थिए । बैठकको सुरुवातमा दाहालले प्रतिनिधिसभामा सोचेजस्तो नतिजा नआएको तर प्रदेशसभामा सन्तोष गर्न सकिने परिणाम आएको उल्लेख गरेका थिए ।

चुनावको समीक्षा गरेर आगामी दिनमा सच्चिएर जानुपर्ने उनको धारणा थियो । प्रत्यक्षबाट माओवादीका १७ सांसद निर्वाचित भएका छन् । प्रतिनिधिसभा निर्वाचनमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरू पम्फा भुसाल, गिरिराजमणि पोखरेल, मातृका यादव र सचिव चक्रपाणि खनाल पराजित भएका छन् ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ सबैभन्दा धेरै कांग्रेसले ५७ स्थान जितेको छ । दोस्रो स्थानमा एमालेले ४४ सिट हात पारेको छ । एकीकृत समाजवादीले १०, जसपा, राप्रपा, रास्वपाले ७/७, लोसपा ४, जनमोर्चा, नेमकिपा, जनमतले १/१ र स्वतन्त्रले ५ सिट जितेका छन् । समानुपातिकतर्फको मतपरिणामअनुसार एमालेले ३४, कांग्रेसले ३२, माओवादी र रास्वपा बराबर १४ हाराहारी र राप्रपाले ७, जसपाले ५ र जनमत पार्टीले ४ सिट ल्याउन सक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्