विराट एक्स्पो दुई लाखले अवलोकन गर्ने

उद्योग संगठन मोरङको आयोजनामा यही २९ मंसिरदेखि सुरु हुने कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी (विराट एक्स्पो) को तयारी तीव्र पारिएको छ । विराटनगर–१४ स्थित डिग्री क्याम्पसको खेलमैदानमा हुने प्रदर्शनीका लागि संगठनले स्टल निर्माण, घेराबारालगायतका तयारी पारेको हो । एक्स्पोका माध्यमबाट उत्पादक र उपभोक्ताबीच व्यावसायिक अनुभवको प्रत्यक्ष आदान–प्रदान हुने आयोजकको दाबी छ ।
आयोजकले आइतबार एक्स्पोस्थलमै पत्रकार सम्मेलन गरेर तयारी अन्तिम चरणमा पुगेको बताएको छ । “एक्स्पोले उद्यमी–व्यवसायीलाई व्यावसायिक सम्बन्धको विकास र नयाँ प्रविधिको पहिचान गर्न पर्याप्त सघाउ पुर्याउनेछ,” पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष सुयश प्याकुरेलले भने, “साथै कृषि–उत्पादनको व्यवसायीकरण गर्न एक्स्पोको अहम् भूमिका हुनेछ । यसबाहेक यसबाट पर्याप्त रूपमा पर्यटकीय गन्तव्यको प्रचार–प्रसार हुने र आन्तरिक पर्यटनको प्रवर्द्धन हुने हाम्रो विश्वास छ ।”
उनका अनुसार एक्स्पोबाट नवप्रवर्द्धक (स्टार्टअप)–हरूको व्यावसायिक विकासमा सहयोग पुग्नेछ । स्वदेशी उत्पादनको उत्पादकत्व एवं बजारको दायरा फराकिलो बनाउन ठूलो योगदान पुग्ने अध्यक्ष प्याकुरेलले बताए । एक्स्पोमा औद्योगिक उत्पादन, कृषि, पर्यटन, अटोमोबाइल्स, प्रविधि, घरेलु उत्पादनलगायतका ३ सय ६१ वटा स्टल समावेश हुनेछ ।
आयोजक समितिका संयोजक भोलेश्वर दुलालका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । नेपालका प्रमुख तथा चर्चित औद्योगिक ब्रान्डहरू खुकुरी रम, म्याजिक फुटवेयर, सेन्चुरी स्पाइसेस एण्ड स्न्याक्स, डाबर, निम्बस, सिजीलगायत तीन सयभन्दा बढी औद्योगिक र कर्पोरेट क्षेत्रको सहभागिता रहने संयोजक दुलालले जानकारी दिए ।
उनका अनुसार मिल–मेसिनरी तथा अन्य उत्पादनसहित पाकिस्तानबाट छालाजन्य उत्पादन, बंगलादेशबाट गार्मेन्ट्स तथा भारतबाट विशेषगरी स्वास्थ्य र भान्साका स्टल समावेश हुनेछ । प्रदेश नम्बर १ भरिबाट घरेलु, साना तथा महिला उद्यमशीलताको सहभागिता रहने संयोजक दुलालको भनाइ छ । तेह्रथुमको ढाका, संखुवासभाको अल्लो, ताप्लेजुङको राडी–पाखी, इलामको ललीपप, चिया तथा जुम्लाका अर्गानिक उत्पादनहरू एक्स्पोमा राखिने उनले बताए ।
एक्स्पोअन्तर्गत माउन्टेन फ्लाइट पनि सञ्चालन हुनेछ । स्थानीय खानाका परिकार पनि एक्स्पोमार्फत प्रवर्द्धन गरिने अध्यक्ष प्याकुरेलले बताए । स्थानीय खानाहरू घुँगी, भक्का, सेलरोटी, केरा तथा च्याउका स्वादिष्ट परिकार, नेवारी, थकाली खाना–खाजालगायतको प्रवर्द्धनका लागि एक्स्पो परिसरमा प्राथमिकताका साथ स्थान दिइएको उनको दाबी छ ।
त्यस्तै एक्स्पोमा माटाका भाँडाकुँडा बनाउने, सुकुल र गुन्द्री बनाउने, बाँसका चोयाबाट ढकी, डालो, नालो बनाउने, गहुँको छ्वालीबाट बन्ने छ्वाली आर्ट, ढाका तानलगायतका सीपहरूको प्रत्यक्ष प्रस्तुति गर्ने गरी तयारी गरिएको आयोजक समितिका प्रचारप्रचार समितिका संयोजक नन्दकिशोर राठीले बताए । दुई लाख दर्शकले प्रत्यक्ष अवलोकन गर्ने एक्स्पो सम्पन्न गर्न तीन करोड ५० लाख खर्च हुने अध्यक्ष प्याकुरेलले जानकारी दिए ।