Logo

१० करोडको कारोबार गर्ने लक्ष्य

लेखनाथ महोत्सव पुस पहिलो सातादेखि

हरेक वर्षजस्तै मेला तथा महोत्सव गर्दै ख्याति कमाएको लेखनाथ उद्योग वाणिज्य संघले पुसको पहिलो सातादेखि १८औं संस्करणको लेखनाथ महोत्सव गर्ने भएको छ । पहिलो चरणमा तयारीका बारेमा जानकारी दिने उद्देश्यले शनिबार आयोजित पत्रकार सम्मेलनमा संघले ७ पुसदेखि १८ गतेसम्म पोखरा महानगरपालिका-२७ तालचोकमा १८औं संस्करणको लेखनाथ महोत्सव गर्न लागेको जानकारी गराएको हो ।

कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक छत्रधर आत्रेयले लेखनाथ उद्योग वाणिज्य संघले २०५८ सालदेखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिस्कृत र परिमार्जन गर्दै २०६१ सालदेखि वार्षिक रूपमा लेखनाथ महोत्सव गर्दै आएको बताए । लेखनाथमा पर्यटकीय क्षेत्रको विकास गर्न सम्बन्धित निकायसँग समन्वय गरी कार्यशाला गोष्ठी गर्ने आत्रेयले जानकारी दिए ।

पत्रकारहरूले सोधेका प्रश्नको उत्तर दिँदै आत्रेयले घरेलु उत्पादनका सामग्रीको प्रदर्शनी गरी उद्यमी व्यवसायीको प्रवर्द्धन गर्ने बताए । साथै उनले लेखनाथ महोत्सव मनोञ्जनात्मक पक्षबाट मात्र नभइ उपलब्धिमूलक रूपमा आयोजना गरिएको स्पष्ट पारे । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा ३ सय ३७ स्टल रहने र दुई लाख ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने अपेक्षा गरिएको मेला प्रचार प्रसार व्यवस्थापन उपसमिति संयोजक तथा संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओझाले जानकारी दिए ।

साथै ओझाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरूको प्रवर्द्धन गर्दै कोभिड–१९ तथा रुस युक्रेन युद्धजस्ता कारणले थला परेको अर्थतन्त्रलाई चलायमान बनाउनु नै १८औं संस्करणको लेखनाथ महोत्सवको मुख्य उद्देश्य रहेको बताए । महोत्सवमा १० करोड बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ ।

महोत्सवमा ९५ लाख आम्दानी हुने र ८५ लाख खर्च भई १० लाख बचत हुने बताइएको छ । बचत रकमबाट प्रदर्शनीस्थल र संघको भवनको स्तरोन्नति, औद्योगिक क्षेत्र निर्माणका लागि पहल एवं सहयोग, कवि शिरोमणि लेखनाथ पौडयालको जन्मस्थल विकास र बेगनासताल, रुपाताललगायतका पर्यटकीय स्थलहरूको प्रवर्द्धनमा खर्च गरिने योजना रहेको संघले जनाएको छ ।

महोत्सवले देशको अर्थतन्त्रलाई चलायमान बनाउँदै उत्पादक र उपभोक्तालाई एउटै थलोमा जमघट गरी यस क्षेत्रको आर्थिक गतिविधि बढाउन, औद्योगिक उत्पादन, लघुघरेलु तथा साना उद्योगहरूको प्रवर्द्धन, आवश्यक ज्ञान, सीप, उद्यमशीलता र प्रविधि हस्तान्तरण गर्ने योजना छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकमा उत्पादित उपभोग्य वस्तु तथा सेवाहरूको प्रवर्द्धन, जातीय, भेषभूषा, कला संस्कृति, रितिरिवाजको जगेर्ना गर्ने, आन्तरिक एवं बाह्य पर्यटक आकर्षण गरी आन्तरिक पर्यटनलाई सहयोग पुर्‍याउनेसमेत लक्ष्य लिएको छ ।

महोत्सवमा साहित्य, महिला विशेष, विद्यालयस्तरीय, सांस्कृतिक, आदिवासी, जनजाति विशेष कार्यक्रम, जैविक विविधता, कृषि तथा पशुपंक्षी प्रदर्शनी, सूचना प्रविधि, शैक्षिक प्रर्दशनी, हस्तकला, जातजातिहरूको सम्मानमा लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्काउने उत्कृष्ट नृत्य प्रदर्शनी रहने छन् । महोत्सवमा ख्याति प्राप्त हास्य व्यंग्य कलाकारको दैनिक प्रस्तुति, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी गीत, लाइभ म्युजिक कन्सर्ट थप आर्कषणका रूपमा रहने छन् ।

कार्यक्रममा इलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख कमलराज भण्डारी, पोखरा महानगरपालिका वडा नं.२६ का वडाअध्यक्ष नरेन्द्र थापा, पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले लेखनाथ महोत्सवले लेखनाथ क्षेत्रको पहिचान बोकेको बताउँदै आगामी दिनमा महोत्सवलाई समय सापेक्षअनुसार परिस्कृत गर्दै महोत्सव सञ्चालन गर्न आयोजकलाई सुझाव दिएकी थिइन् । महोत्सवको मुख्य प्रायोजकमा सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक सहप्रायोजकको रूपमा रहेका छन् ।

महोत्सवलाई विभिन्न जातजातिले सघाउने

महोत्सवलाई यसपटक पनि विभिन्न जातजातिले सघाउने भएका छन् । विगतका महोत्सवमा जस्तै यसपटक पनि आफ्नो भेषभूषासहित कला संस्कृति, रहनसहन, जीवनशैली झल्किने झाँकीसहित सहभागीता जनाउने प्रतिबद्धता जनाएका हुन् ।

शनिबार झाँकी र्‍याली व्यवस्थापन उप-समितिको आयोजनामा सम्पन्न छलफल तथा अन्तक्रियायामा उप-समितिकी संयोजक बुद्धिकुमारी मगरले लेखनाथ महोत्सव सबै जातजातिको साझा पर्व भएको बताएकी छन् । कार्यक्रममा संघका अध्यक्ष एवं मूल संयोजक छत्रधर आत्रेयले लेखनाथ क्षेत्रका सम्पूर्ण जातजाति र संघ संस्थाले आफ्नै महोत्सवको रूपमा अपनत्व लिएका कारणले लेखनाथ महोत्सव महोत्सवको पनि महोत्सव भएको बताए ।

प्रतिक्रिया दिनुहोस्