Logo

माटोको विद्यमान अवस्था एवं महत्त्व

यस धर्तीमा उपलब्ध प्राकृतिक चिजहरू मूलतः हावापानी, ढुङ्गामाटो, वनस्पति तथा खानीजन्य वस्तुहरू पर्छन् । जीवजन्तु तथा मानिसहरूको दिगो अस्तित्त्वका लागि यी संसाधनहरू गुणस्तरीय रूपमा र आवश्यक मात्रामा सधैं उपलब्ध भइरहन जरुरी छ । माटो संसारमा भएका सबै प्राणी, जीवजन्तु एवं बालीबिरुवा आदिको बासस्थानको आधार हो भने हाम्रो खाद्य आपूर्ति र एन्टिबायोटिकजस्ता औषधिहरूमा पोषक तत्त्वहरूको महत्त्वपूर्ण स्रोत पनि हो ।

द्रुत रूपमा बढ्दो विश्वव्यापी जनसंख्याले माटोको स्रोतमा दबाब दिनुका साथै हाम्रो वरपरको वातावरणलाई नै हानि पुर्‍याइरहेको छ । हाम्रो वातावरणलाई सन्तुलित रूपमा चलिरहने परिवेश सिर्जना गर्ने वा नगर्ने कुरा हामी मानवजातिद्वारा हुने क्रियाकलापहरूमा निर्भर रहने हुँदा हामीले हाम्रो माटोलाई जोगाइराख्न जरुरी छ ।

विश्वको माटोको अवस्था
खाद्य तथा कृषि संगठन (एफएओ) ले विश्वको खेतीयोग्य जमिनको आधा भागभन्दा बढीको माटो गुणस्तरहीन (अन्नबाली राम्रोसँग उब्जाउन नसक्ने खालको) भइसकेको औंल्याएको छ । यति मात्र नभएर प्रतिवर्ष औसतमा १.२ करोड हेक्टरभन्दा पनि बढी बिग्रिरहेको पाइन्छ । विभिन्न अनुसन्धानले पनि यही अनुपातमा माटो बिग्रँदै जान दिने हो भने आगामी ६० वर्षमा विश्वमा खेती गर्न लायक जमिन बाँकी नरहने जनाएको छ ।

कृषियोग्य जमिनबाट राम्रो उत्पादन लिनको लागि माटोको जैविक पदार्थ राम्रो हुन जरुरी हुन्छ । तर, विश्वको माटोमा जैविक पदार्थ दिनानुदिन घट्दै गएको छ । दक्षिण युरोपका ७४ प्रतिशत कृषियोग्य जमिनमा २ प्रतिशतभन्दा कम जैविक पदार्थ रहेको पाइन्छ । हाम्रो छिमेकी मुलुक भारतको हकमा पनि यो मात्रा ०.५ प्रतिशतभन्दा पनि कम छ ।

नेपालको माटोको अवस्था
माटोमा जैविक पदार्थको मात्रा ३ प्रतिशतभन्दा बढी छ भने त्यसलाई खेतीपातीको लागि राम्रो माटो मानिन्छ । यस्तो माटो नेपालको हकमा दिनानुदिन घट्दो अवस्थामा छ । विभिन्न अनुसन्धानले पनि नेपालको १२ प्रतिशत जमिन त खेतीका लागि कामै नलाग्ने अवस्थामा पुगिसकेको जनाएको छ ।

देशका विभिन्न भागबाट लिइएको माटोको नमुना परीक्षणको तथ्यांक विश्लेषण गर्दा ४०-४५ प्रतिशत माटोमा प्रांगारिक पदार्थको मात्रा न्यून पाइएको थियो । उत्पादनशील माटोमा प्रांगारिक पदार्थको मात्रा ३-५ प्रतिशत हुनु आवश्यक हुन्छ । नेपालमा खेती गरिने जमिनको माटोमा नाइट्रोजनको मात्रा न्यून छ भने फस्फोरस तत्त्व तुलनात्मक रूपमा राम्रो पाइएको छ । त्यसैगरी पोटास तत्त्वको मात्रा तीव्र गतिमा घट्दो अवस्थामा रहेको छ । सरकारका कृषि विकास रणनीतिले नेपालको माटोको प्राङ्गारिक पदार्थको मात्रा १.९६ प्रतिशतबाट ४ प्रतिशतमा पुर्‍याउने लक्ष्य लिएको छ । त्यस्तै गरेर बालीबिरुवाका लागि आवश्यक हुने सूक्ष्म खाद्यतत्त्वहरू जस्तैः जिंक, बोरनको मात्रा पनि माटोमाकम देखिन थालेको छ ।

माटो सुरक्षा : माटो र मानवबीचको सम्बन्ध परम्पराकालदेखि नै अतुलनीय छ । सुरक्षित माटोबिना हामी सुरक्षित हुन सक्दैनौं । माटो सुरक्षा र अन्य विश्वव्यापी वातावरणीय चुनौतीहरू (जलवायु परिवर्तन, इको सिस्टम सेवा, पर्यावरण र मानव स्वास्थ्य, खाद्य सुरक्षा) एकआपसमा अन्तरसम्बन्धित छन् ।

जलवायु परिवर्तन : वायुमण्डलमा निस्किने करिब ३५ प्रतिशत हरितगृह ग्यास हामीले भूमिप्रयोग गर्ने पद्धतिसँग जोडिएको छ । बाली चरण, वनजंगलमा अवस्थित जमिन, त्यसैगरी सिमसार क्षेत्रहरू आदिले माटो कार्बन स्थिरीकरण मार्फत हरितगृह ग्यासलाई कम गर्न भूमिका खेल्छन् । माटोले कार्बन डाइअक्साइड र अन्य हरितगृह ग्यासलाई माटोको जैविक पदार्थमा भण्डारण गर्छ ।

इको सिस्टम सेवा : हाम्रो खाद्यान्नको ९५ प्रतिशत भाग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा माटोमा उत्पादन हुन्छ । माटो खानाको स्रोत मात्र नभई हामीले पिउने पानी फिल्टर गर्ने माध्यम पनि हो । करिब ९९.९ प्रतिशत पिउने पानी माटोले शुद्धीकरण गरेको हुन्छ । त्यसैगरी वन्यजन्तुहरूका लागि बासस्थान प्रदान गर्ने काम पनि माटोले नै गरेको हुन्छ ।

पर्यावरण र मानव स्वास्थ्य : औद्योगिक क्षेत्र, घरबाट निस्किने फोहोरहरू आदि प्रदूषणका प्रमुख पात्र हुन्, जसले मानव स्वास्थ्यलाई नै धरापमा पार्दै लगेको छ । माटो, पानी र वायु प्रदूषण कमगर्न माटो व्यवस्थापनका रणनीतिहरूबााट नै सम्भव छ, जुन विभिन्न देशका माटो वैज्ञानिकहरूले गरी पनि सकेका छन् । फलस्वरूप प्रदूषित भूमिलाई पुनस्र्थापन गर्न सहयोग पनि भएको छ ।

खाद्य सुरक्षा : कम जमिन, कम पानी, कम ऊर्जा र थोरै पोषक तत्त्वमा बढी दाना एवं फाइबरयुक्त खाना उत्पादन गर्नु नयाँ प्रविधिहरू विकास गर्नु नै खाद्य सुरक्षालाई सुनिश्चित गर्नु हो । यी कुराहरू सुधारिएको बाली र नयाँ माटो व्यवस्थापनहरूबाट सम्भव छ ।

माटो र मानव स्वास्थ्यको आपसिक सम्बन्ध

माटोमा भएको पोषक तत्त्व बोटबिरुवा हुँदै आममानिसको स्वास्थ्यसँग जोडिएको छ । मानव जीवनका लागि अत्यावश्यक मानिने करिब २९ वटा तत्त्वमध्ये बालीनालीका लागि आवश्यक हुने १८ वटा अत्यावश्यक तत्त्वहरू बिरुवाको माध्यम हुँदै माटोबाट प्राप्त हुन्छन् । माटोमा पोषक तत्त्वको कमी हुँदा मानिसहरूमा कुपोषणजस्ता लक्षण पनि देखिन सक्छन् । जति धेरै माटोमा पोषक तत्त्वको कमी हुन्छ त्यति नै मानिसहरूमा पनि पोषक तत्त्वको कमी हुन जान्छ । फलस्वरूप मानिसहरूमा पनि रोगसँग लड्ने क्षमतामा ह्रास आउँछ, जसले गर्दा ठूलो जनसंख्यालाई नै असर पुर्‍याउँछ ।

बालीउपज र खाद्य सुरक्षामा माटोका प्रभाव

खाद्य सुरक्षा मानव स्वास्थ्यको केन्द्रबिन्दु हो । पर्याप्त मात्रामा खाद्यान्नको उत्पादन, खाद्य उत्पादनहरूमा पर्याप्त पोषक तत्त्व, विषाक्तरहित खाद्यान्नको उत्पादन आदिमा माटोकै भूमिका मुख्य रहन्छ । विशेष गरी, पर्याप्त जैविक पदार्थ र अन्य भौतिक र रासायनिक गुणहरू भएका माटोहरूले राम्रो उत्पादन दिन्छ । यद्यपि माटोमा भारी धातुहरू पनि हुन्छन, जुन मानवका लागि विषाक्त हुन सक्छ, ती पदार्थहरू बाली उपभोगको माध्यमबाट मानिसहरूमा सर्छ, जुन खाद्य सुरक्षाको लागि चुनौती बन्न सक्छ । खाद्य सुरक्षा तब प्राप्त हुन्छ जब सबै मानिसहरूलाई पर्याप्त, सुरक्षित र पौष्टिक खानाको पहुँच हुन्छ ।

विश्वभरमा अहिलेकै अनुपातमा विश्वको माटो बिग्रँदै जाने हो भने खाद्यान्नको उत्पादन कम हुन गई भोकमरी बढ्न जाने लगभग निश्चित छ, जसका कारण मानव जीवन नै खतरामा पर्ने देखिन्छ । भविष्यमा यो अकल्पनीय अवस्था आउन नदिन आजैदेखि हरेक व्यक्ति, संघसंस्था माटो जोगाऔं अभियानमा लाग्नुपर्ने अवस्था छ । साथै, विश्वका सबै मुलुकका नीतिनिर्माताहरूले पनि यसलाई आत्मसात् गर्दै, माटो संरक्षणसम्बन्धी नीति बनाउन र बनिसकेको मुलुकको नीतिलाई पनि कार्यान्वयनमा ल्याउनु आजको आवश्यकता बन्न पुगेको छ ।

(देवकोटा राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र, नार्कका वैज्ञानिक तथा विष्ट वरिष्ठ वैज्ञानिक हुन् ।)

प्रतिक्रिया दिनुहोस्