बैंकिङ प्रणालीमा तरलता, अपनाउनुपर्ने सजगता

बैंक तथा वित्तीय संस्थाले बिनासर्त आफ्नो दायित्व पूरा गर्न तथा आवश्यकताअनुसार अन्य सम्पत्तिहरूको व्यवस्था गर्नका लागि प्रयोग गर्न सक्ने सम्पत्ति नै तरलता हो । नेपालको बैंकिङ प्रणालीमा तरलताको नियमित उतारचढावले कहिले आवश्यकताभन्दा न्यून त कहिले बढी हुन गई तरलताबाट दुःखद एवं सुखद समस्या दोहोरिरहेको देखिन्छ ।
बैंकिङ प्रणालीमा तरलताको नियमित परिवर्तनले बजारमा लगानी, उत्पादन, रोजगारी, ब्याजदर, आम्दानी, बचत, पुँजीबजार, शोधनान्तर स्थितिलगायत अर्थतन्त्रका बहुक्षेत्रमा चाप पारिरहेको छ । प्रणालीमा हाल करिब रु. २ सयदेखि ३ सय अर्बको साधन अभाव हुन गएकाले यसलाई सन्तुलनमा ल्याउन बैंक तथा वित्तीय संस्थाहरूले सम्पत्ति तथा दायित्वको प्रभावकारी योजना र यसको असल कार्यान्वयन गर्न आवश्यक छ ।
यसैगरी केन्द्रीय बैंकले सजगतापूर्ण मध्यम प्रकारको कसिलो मौद्रिक नीति, विप्रेषण बढाउने माध्यममा सुधार र हुन्डी नियन्त्रण तथा सरकारले पुँजीगत खर्चमा वृद्धि, कृषिक्षेत्रलगायत पर्यटकको आगमनमा सुधार गरी जोखिम, मुनाफा, पुँजी, लागत र समग्र व्यवसायमा पर्न गएको दबाबलाई सन्तुलनमा ल्याउन सकिन्छ ।
बैंकिङ प्रणालीमा तरलताको योगदान बहुआयामिक भएकाले यसबाट पर्न सक्ने दीर्घकालीन असरलाई न्यूनीकरण गरी पुँजी, जोखिम, स्थायित्व, लागत र मुनाफामा हुन सक्ने क्षतिलाई घटाउन आवश्यक सजगता अपनाउनुपर्छ ।
बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्थामा ब्याजदर घट्न सक्ने भएको हुँदा निक्षेपकर्ताले घर, जग्गा, सेयर, सुनजस्ता विलासिताका क्षेत्रमा लगानी गर्न थाल्छन् । यस अवस्थाबाट सम्पत्तिको मूल्यमा अस्वाभाविक वृद्धि हुने, वित्तीय अनुशासन कायम राख्न कठिन हुने, छाया बैंकिङ क्षेत्रको प्रभाव बढ्ने, अनुत्पादक क्षेत्रमा लगानी हुनेजस्ता यावत् अवस्था सिर्जना भई वित्तीय स्थायित्वमा जोखिम पैदा हुन सक्छ । यसैगरी प्रणालीबाट तरलता जब अनुत्पादक क्षेत्रमा जान थाल्छ तब एकाएक तरलता हराउँदै बजारमा संकुचनको अवस्था देखा पर्न गई बजारमा ब्याजदर, मुद्रास्फीति, बेरोजगारी, महँगी, आयातलगायतको अवस्थामा अस्वाभाविक वृद्धि हुन थाल्छ, जसका कारण शोधनान्तर स्थितिमा समेत दबाब पर्न जान्छ ।
तसर्थ बैंकिङ प्रणालीमा अधिक र न्यून तरलता एक सिक्काका दुई पाटा भए पनि प्रणालीको प्रकृति, बैंक तथा वित्तीय संस्थाको संस्कृति, व्यवसायको प्रवृत्ति र लगानीकर्ताको उपलब्धिलाई अध्ययन गरी सजगतापूर्ण तवरले आवश्यक रणनीतिक औजारहरू प्रयोगमा ल्याउन जरुरी हुन्छ ।
बैंकिङ प्रणालीमा तरलता
बैंकिङ प्रणालीमा भएको तरलताको भूमिका, महत्व र योगदान अर्थतन्त्रका हरेक क्षेत्र एवं उपक्षेत्रहरूमा आवश्यक पर्ने हुँदा यसको नियमित अनुगमन, निरीक्षण र निगरानीसँगै सजगता अपनाउन जरुरी हुन्छ । बैंक तथा वित्तीय संस्थाको मुख्य ध्येय नाफा अधिक बनाउने भएको हुँदा वित्तीय संस्थाले हरेक आर्थिक वर्षको सुरुदेखि नै उचित लगानी, सन्तुलित ब्याजदर, प्रभावकारी निक्षेप संकलन, साँवा तथा ब्याज असुलीलगायतका आवश्यक कार्यक्रमसहित सजगता अपनाउनुपर्छ ।
बैंकिङ प्रणालीमा तरलता संकुचनका कारण समग्र अर्थतन्त्रमा समस्या आउने, मुनाफा आर्जनमा चाप पर्ने, जोखिम, लागत, संस्थागत सुशासन समेतमा दबाब पर्ने भएकाले तरलताको भूमिका बहुआयामिक हुन्छ । हाल प्रणालीमा निक्षेप संकलन न्यून भएको, निक्षेप तथा कर्जा सापटमा ब्याजदर बढेको, ग्राहकको क्षमतामा ह्रास आएको, अर्थतन्त्रका सूक्ष्म र बृहत् चरहरूमा नकारात्मक असर परेको, मुनाफामा ह्रास आएको, पुँजीको क्षयिकरण भएको, मूल्यवृद्धि, रोजगारीका क्षेत्रमा समेत संकट देखिएकाले यसको न्यूनीकरणका लागि सरकार, केन्द्रीय बैंक, बैंक तथा वित्तीय संस्था, सञ्चालक समिति, व्यवस्थापक सबैले सजगता अपनाउन आवश्यक छ ।
बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप घटेर लगानीयोग्य रकम अभाव भएकाले यसको असरलाई न्यून गर्न केन्द्रीय बैंकले सजगतापूर्ण कसिलो मौद्रिक नीति जारी गरेको र सोको सही कार्यान्वयन तथा प्रभावकारी नियमनलाई भावी कार्यदिशा बनाएको बुझिन्छ । बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर निर्धारणमा मुख्यतया बजारमा निक्षेप संकलनको अवस्था, कर्जा तथा सापटको माग, महँगी, मुद्रास्फीति, सञ्चालन लागत, रेमिट्यान्स आप्रवाहलगायत आयात र निर्यातका आधारमा निर्धारण हुने गर्छ । नेपालमा हाल सञ्चालन खर्च, आधार दर, आयातको दर र नेपाली रुपैयाँको अवमूल्यन दर उच्च भएकाले लगानीका लागि आवश्यक साधनको लागत उच्च रहेको देखिन्छ ।
बैंकिङ प्रणालीमा देखिएका उदीयमान मुद्दाहरूको विषयमा अध्ययन तथा अनुसन्धान गर्न न्यून चासो दिएका कारण पुँजी, मुनाफा, स्थायित्व र लागतमा नकारात्मक असरसँगै अधिकेन्द्रित जोखिमको अवस्था बढ्दै गएको पाइन्छ । अर्थतन्त्रमा तरलता, ब्याजदर, महँगी र मुद्रास्फीतिबीच नजिकको सम्बन्ध रहने भएकाले यी विषयहरूबाट सिर्जना हुन सक्ने चुनौती एवं जोखिमको पहिचान, मापन र निराकरणका लागि ठोस कदम चाल्नुपर्छ । बैंकिङ प्रणालीमा कर्जा प्रवाहको वार्षिक लक्ष्य दोस्रो त्रैमाससम्म पूरा गर्ने संस्कृति, उच्च लाभ हुने क्षेत्रमा लगानी गर्ने प्रवृत्ति, तत्काल मुनाफा आर्जन गर्ने रणनीति र नाफालाई नै प्रमुख उपलब्धि एवं प्रगति ठान्ने विधि जबसम्म रहन्छ तबसम्म तरलताको समस्या नियमित दोहोरिरहन्छ ।
बैंकिङ प्रणालीमा स्वार्थपरक नेतृत्व, न्यून व्यावसायिकता, गैरनीतिक अभ्यास, संस्थागत सुशासनको अभाव, कर्मचारी व्यवस्थापनमा नीति विहीनता, तजबिजीकरण, योग्य र सक्षम कर्मचारीलाई निरुत्साहितलगायतका कारण तरलताको सुव्यवस्थापनमा समस्या आएको भन्दा अत्युक्ति हँुदैन । बैंकिङ प्रणालीमा तरलता समस्या तत्काल समाधानका लागि सम्पत्ति तथा दायित्वको सुव्यवस्थापन, पुँजीगत खर्च प्रणालीमा सुधार, तरलता जोखिम व्यवस्थापन, नगदमा हुने कारोबारलाई निरुत्साहित, छाया बैंकिङ अभ्यासको न्यूनीकरणलगायत संक्रमण, द्वन्द्व, पुँजी पलायनजस्ता क्रियाकलापमा आवश्यक सजगता अपनाई अन्तर्राष्ट्रिय असल बैंकिङ अभ्यासको अनुसरण नै संकट समाधानको उपाय हो ।
अपनाउनुपर्ने सजगता
बैंकिङ प्रणालीमा नियमित तरलता व्यवस्थापनका लागि पोर्टफोलियो व्यवस्थापन एक प्रभावकारी औजार भएको हुँदा तरलताको दीर्घकालीन समाधान गर्न असल योजना, उचित कार्यान्वयन, प्रभावकारी सुपरिवेक्षण र उपयुक्त नियन्त्रण प्रणालीको विकास गरी पु्रडेन्सियल बैंकिङ अवधारणा सजगतापूर्ण तवरले प्रयोगमा ल्याउन आवश्यक छ ।
प्रणालीमा कमजोर तरलताका कारण व्यवसाय सञ्चालनमा समस्या आउने र मुनाफामा अनिश्चितता सिर्जना हुने भएकाले तरलताको नियमित अनुगमन, निरीक्षण, निगरानी र नियन्त्रणका आधुनिक विधि, पद्धति र मार्गदर्शन अपनाउनुपर्छ । बैंक तथा वित्तीय संस्थालाई सबै शीर्षकमा कर्जा विस्तार गर्दा क्षेत्रगत सीमा तोक्ने, खराब कर्जा घटाउने, पुँजी पलायन नियन्त्रण गर्ने, लगानीमैत्री नियम तथा कानुनको तर्जुमा गर्ने, मुद्रास्फीतिभन्दा तल ब्याजदर कायम नगर्ने, महामारीको प्रभाव तथा अन्तरदेशीय द्वन्द्वले सिर्जना गरेको असहज आपूर्तिको श्रृंखलालाई सहज बनाई तरलता संकुचनलाई व्यवस्थापन गर्नुपर्छ ।
प्रणालीमा देखिएको तरलता दबाबको व्यवस्थापन गर्ने सन्दर्भमा निर्यात प्रवद्र्धन, आयात प्रतिस्थापन र विदेशी मुद्रा आर्जनका उपायहरू अवलम्बन गर्ने, ब्याजदर करिडोरमार्फत अल्पकालीन तरलता र ब्याजदरमा हुने उतारचढावलाई नियन्त्रण गर्ने, रिपो तथा रिभर्स रिपोको कुशल उपयोग गर्ने र कर्जा तथा निक्षेप अनुपातको औजारलाई प्रभावकारी कार्यान्वयनमा ल्याउनुपर्छ । यसैगरी रेमिट्यान्स पठाउने व्यक्तिलाई सुविधा, संघ, प्रदेश र स्थानीय तहको खर्च प्रणालीमा सुधार, पर्यटक भिœयाउने रणनीति, विदेशी सहयोग, पेन्सनलगायतबाट विदेशी मुद्राको आर्जन वृद्धि गरी तरलताको चापलाई सावधानी तरिकाले न्यूनीकरण गर्न सकिन्छ ।
प्रणालीमा बैंक तथा वित्तीय संस्थालाई जथाभावी कर्जा विस्तारमा सन्तुलन कायम गर्ने, निष्क्रिय कर्जालाई घटाउने, पुँजी पलायन नियन्त्रण गर्ने, अनुत्पादक क्षेत्रको कर्जा तथा अनौपचारिक बैंकिङ कारोबारलाई हस्तक्षेप गर्ने, लगानीमैत्री नियम तथा कानुनको तर्जुमा गरी सजगता अपनाउनुपर्छ । यसैगरी निक्षेप तथा कर्जा सुरक्षण कोष, सामाजिक सुरक्षा कोष, सञ्चय कोष, सरकारी बिमा कम्पनीलगायतका संस्थाहरूमा रिर्जभको रूपमा रहेको रकमलाई बोन्डका रूपमा बजारमा परिचालन गर्न र सोका लागि आवश्यक संरचनागत व्यवस्था मिलाई प्रयोगमा ल्याउन सकिन्छ ।
अबको बाटो
बैंकिङ प्रणालीमा तरलताको योगदान बहुआयामिक भएकाले यसबाट पर्न सक्ने दीर्घकालीन असरलाई न्यूनीकरण गरी पुँजी, जोखिम, स्थायित्व, लागत र मुनाफामा हुन सक्ने क्षतिलाई घटाउन आवश्यक सजगता अपनाउनुपर्छ । चालू खाता, पुँजी खाता र वित्तीय खातासँगै शोधनान्तर स्थितिलाई समेत बचतमा ल्याउनका लागि विदेशी तथा स्वदेशी लगानी बढाउने, विदेशी मुद्राको आर्जन गर्न विभिन्न उपायहरूको खोजी गरी तरलताको समस्या समाधान गर्नुपर्छ ।
बैंक तथा वित्तीय संस्थाहरूलाई आयात प्रतिस्थापन गर्न हुने क्षेत्रमा लगानी बढाउन प्रोत्साहन गरी उत्पादनमूलक क्षेत्रमा कर्जा विस्तार गर्ने, निर्यातमूलक उद्योगहरूमा ब्याजदर कम गर्ने, पुँजीगत खर्च समयबद्ध रूपमा गर्ने व्यवस्थाको थालनी गर्ने, खराब एवं निष्क्रिय कर्जाको आकारलाई घटाउने, पुँजी पलायन नियन्त्रण गर्ने, अनेक प्रकारका अनुत्पादक कर्जा नियन्त्रण गर्ने र अनौपचारिक कारोबारको निगरानी गर्नुपर्छ ।
यसैगरी ट्रेजरी बिलको ठूलो अंश रोलओभर हुने गरेकोमा त्यसको मात्रा घटाउन रोल ओभर हुने रकम भुक्तानी गर्दै जाने, तरलताको दीर्घकालीन समाधानका लागि एक उच्चस्तरीय समिति बनाउने, सम्पत्ति तथा दायित्वलाई भुक्तानी अवधिको आधारमा वर्गीकरण गर्ने, नीति, कार्यविधि र रणनीतिको समय–समयमा संशोधन गर्ने, सम्पत्ति–दायित्व समितिको संरचनालाई बलियो बनाउने, असल जोखिम व्यवस्थापन प्रणालीको थालनी गर्ने, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली र कम्प्लायन्सको पूर्ण पालना गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय असल बैंकिङ अभ्यासको कार्यान्वयनबाट नै प्रणालीमा देखिएको तरलता समाधान गर्न सकिन्छ । त्यसैले तरलताको आवश्यकता, भूमिका, महत्व र योगदान अर्थतन्त्रका हरेक चर एवं उपचरहरूमा हुने भएकाले यसको नियमित अनुगमन, निरीक्षण, निगरानी र सजगतासमेत अपनाउनुपर्छ ।