दैनिक तरलता कार्यविधि संशोधन «

दैनिक तरलता कार्यविधि संशोधन

नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधासम्बन्धी कार्यविधिको दोस्रो संशोधन जारी गरेको छ । आइतबार राष्ट्र बैंकले ‘दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि (दोस्रो संशोधन, २०७९), २०७६’ जारी गरेको हो ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिमा व्यवस्था भएअनुसार बैंकहरूले राष्ट्र बैंकबाट स्थायी तरलता लिने सुविधालाई व्यवस्थित बनाउन कार्यविधि ल्याइएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए । सकेसम्म बैंकहरूले अन्तरबैंक कारोबारलाई प्राथमिकतामा राखुन् भन्ने उद्देश्यले सो कार्यविधि ल्याइएको प्रवक्ता भट्टको भनाइ छ ।

संशोधित कार्यविधिअनुसार ओभरनाइट तरलता सुविधा उपयोग गरेबराबरको रकम बैंकको नियमानुसार कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा गणना गर्न पाइने छैन । नयाँ कार्यविधि अनुसार आरटिजिएस प्रणालीमा सहभागी संस्थाले विगत कारोबारहरूको विश्लेषणका आधारमा आफ्नो दैनिक तरलता आवश्यकता अनुमान गरी सोही बमोजिम धितो व्यवस्थापन खाताको सीमा निर्धारणका लागि अनुरोध गर्नुपर्नेछ ।

यसको आधारमा संस्थाले न्यूनतम तीन महिना अवधिका लागि दैनिक तरलता सुविधा सीमा लिनुपर्नेछ । यस्तो सुविधाबापत धितो राखिएका सुरक्षणपत्र मौद्रिक व्यवस्थापन विभागको स्वीकृतिमा त्रैमासिक रुपमा परिवर्तन वा थपघट गर्न सकिने छ र सोहीअनुसार यस्तोसुविधाको नयाँ सीमा कायम हुने कार्यविधिमा व्यवस्था गरिएको छ ।

कार्यविधि कार्यान्वयनमा आएसँगै बैंक तथा वित्तीय संस्थाले दैनिक तरलता सुविधावापत धितो रहेका सुरक्षणपत्रहरू खुला बजार कारोबार, अन्तरबैंक सापटी लगायत अन्य कुनै पनि प्रयोजनमा दोहोरो धितोको रुपमा एकैसाथ प्रयोग गर्न वा बिक्री गर्न नपाउने भएका छन् । कार्यविधिमा दैनिक तरलता सुविधावापत धितोमा राखिएका सुरक्षणपत्र सुविधा अवधिभर यस बैंकका नाममा रोक्का रहने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्