डीएभी विद्यालयमा शिक्षकका लागि न्यूरो इनक्लुजन प्रशिक्षण कार्यक्रम सञ्चालन

डीएभी विद्यालयले शिक्षकहरुलाई लक्षित गर्दै तीन दिने न्यूरो इनक्लुजन प्रशिक्षण एवं कार्यशाला गोष्ठी शुक्रबारदेखि सञ्चालन गरेको छ । विश्व जनसंख्याको २० प्रतिशत हिंस्सा न्यूरो डाइभरजेन्ट रहेको र उनीहरुको शिक्षण फरक ढंगबाट हुनुपर्ने मान्यता न्यूरोडाइभरजेन्ट विद्वानहरुमा रहेकोले सोही अनुसार शिक्षकहरुलाई प्रशिक्षण सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।
तीन दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा जोएल एस. गोडीले न्यूरो डाइभरजेन्ट विद्यार्थीहरुको पहिचान, उनीहरुलाई आवश्यक पर्ने शिक्षण विधि र प्रोत्साहन लगायतका विषयबारे सहभागीहरुलाई प्रशिक्षण दिइरहेको विद्यालयले जनाएको छ । फ्रान्सेली प्रशिक्षक क्याथेरिन गुइमार्डले विश्वमा स्थापित शैक्षिक प्रणालीले बहुमत जनसंख्याको आवश्यकतालाई सम्बोधन गर्न सफल भए पनि न्यूरोइनक्लुजन धारणा विकसित राष्ट्रमा समेत नौलो रहेको बताएकी थिइन् । उनले नेपालमा यस विषयप्रति चासो रहनु निकै खुशीको खबर समेत रहेको बताएकी थिइन् ।
डीएभी विद्यालयकी प्राचार्य डा. भुवनेश्वरी रावले विद्यालयमा हरेक विद्यार्थीहरु खुशीका साथ पढ्ने अवसर पाउनुपर्ने मत आफूले राख्दै आएको र न्यूरोइनक्लुजन अवधारणाले विद्यार्थीहरुको अन्तरनिहीत क्षमता प्रस्फुटन गराउन सहयोग पुग्नेमा विश्वस्त व्यक्त गरेकी थिइन् । गोष्ठीमा अष्ट्रेलियाली प्रशिक्षक वाटाली फीलिप्स-फाउन्डर न्यूरोगीफ्टेड, सारा लुइस फाउन्डर वार्यड डीफ्रेन्टली, यूके र स’ इडेनी इलिजावेथ विकल्याण्डरले प्रशिक्षण दिएका छन् ।
डीएभी विद्यालयका अध्यक्ष अनिल केडियाले यो प्रशिक्षणले नेपालमा शैक्षिक जागरण ल्याउन सफल हुनेमा विश्वास व्यक्त गरे । अध्यक्षले आगामी शैक्षिक शत्रदेखि न्यूरो डाइभरजेन्ट पाठ्यक्रम तयार पारी शिक्षण प्रक्रिया अगाडि बढाउने जानकारी समेत गराए । अध्ययनले देखाए अनुसार विश्वविख्यात वैज्ञानिक, उद्योगपती, कलाकार लगायत अन्य पेषामा संलग्नहरु न्यूरोडाइभरजेन्ट रहेको मुख्य प्रशिक्षक जोएलले जानकारी गराए ।