तीन पांग्रे विद्युतीय गाडी भित्र्याउन एमएडब्लू र ओएसएमबीच सहकार्य

नेपालको प्रमुख अटोमोबाइल वितरक एमएडब्लू वृद्धि कमर्सियल भेहीकल प्रालिले थ्री-ह्वीलर ईभीका दुई भेरियन्ट (कार्गोमा रेजप्लस र यात्रुवाहक बाहनमा स्ट्रिम) ल्याउन ओमेगा सेकी मोबिलिटी (ओएसएम) सँग औपचारिक सहकार्य गर्ने भएको छ । ओएसएम रेजप्लस एक विद्युतीय तीन पांग्रे कार्गो सवारी साधन हो र यसमा १०.८ kWh ब्याट्री जडान गरिएको छ ।
जबकि ओएसएम स्ट्रिम ८.५ kWh पावरप्याक भएको विद्युतीय तीन पांग्रे यात्रुबाहक सवारी साधन हो । दुवै गाडीलाई सामर्थ्य प्रदान गर्ने सबै विद्युतीय मोटरले अधिकतम ७.४ किलोवाटको पावर र मोटरमा ४५ एनएम पीक टर्क उत्पादन गर्छ । रेजप्लस र स्ट्रिम दीगो ऊर्जामा चल्ने सवारीसाधनमा आकर्षित हुँदै गरेका उद्यमीहरू र साना व्यवसाय गर्ने अपरेटरहरूका लागि उत्तम समाधान हुने कम्पनीको भनाइ छ ।
हल्का वजनको रेजप्लस र स्ट्रिमको तौल ब्याट्रीसहित ६ सय केजी छ भने गाडीको कुल वजन १ हजार किलो छ । यात्रामा सहजताका लागि गाडीले कम रोलिङ प्रतिरोधी १० इन्चको टायर प्रयोग हुने र दुवै सवारी साधनको न्यूनतम ग्राउण्ड क्लियरेन्स १७५ एमएम रहेको कम्पनीले बताएको छ । रेजप्लस र स्ट्रिमका बारेमा टिप्पणी गर्दै एमएडब्लूका प्रबन्ध निर्देशक विवेक सिकरियाले नेपाली बजारमा रेजप्लस र स्ट्रिमको सुरुवातले दीगो र उत्सर्जनमुक्त सवारी साधन लिने विचार गरिरहेका उपभोक्ताहरूको चाहना पूरा गर्ने कम्पनीको भनाइ छ ।
ओमेगा सेकी मोबिलिटीका संस्थापक अध्यक्ष उदय नारङले नेपाल सरकार सवारीसाधनले सिर्जना गर्ने वायुप्रदूषण न्यूनीकरणका लागि यस क्षेत्रमा सन् २०३१ सम्म पूर्ण विद्युतीकरणको लक्ष्य लिएर सक्रिय भएको बताए । पहुँचयोग्य विद्युतीय सवारीसाधनले काठमाडौं मात्रै नभइ सम्पूर्ण नेपाललाई स्वच्छ, हरियाली र दीगो राष्ट्र बनाउन सघाउने विश्वास उनले व्यक्त गरे ।
ओमेगा सेकी मोबिलिटीका प्रबन्ध निर्देशक डा. देब मुखर्जीले रेज प्लस र स्ट्रिमको कम लागत अपरेटरहरूका लागि लाभदायक हुने बताए । दुवै उत्पादनहरूमा स्वचालित ट्रान्समिसन जडान गरिएकोले चालकहरूलाई आरामदायी यात्रा प्रदान गर्ने उनले बताए । मार्केटिङ र सेवासम्बन्धी निर्देशक विवेक धवनले भारतीय इलेक्ट्रिक थ्री-व्हीलर कार्गो क्षेत्रको शिखरमा पुगिसकेपछि ओएसएमले त्यहाँको सबैभन्दा लोकप्रिय इलेक्ट्रिक थ्री-व्हीलर अब नेपालमा ल्याइरहेको बताए ।
कम्पनीका अनुसार ओएसएम रेजप्लस र ओएसएम स्ट्रिम दुवै ४ घण्टाभित्र घरमै सजिलै चार्ज गर्न सकिन्छ । पूर्ण चार्जले ३ पांग्रे मालबाहक (रेजप्लस) गाडीले १२० किमी र तीन पांग्रे यात्रुबाहक गाडीले (स्ट्रिम) ९५ किमीको यात्रा गर्ने कम्पनीको भनाइ छ ।