आइएमईद्वारा आईपीओ जारी गर्ने प्रस्ताव पारित

आइएमईको २२ औं साधारण सभाले आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको छ । आईपीओ जारीपछि आइएमईलाई नेपालको पहिलो पब्लिक रेमिटेन्स कम्पनीको परिचय थपिने भएको छ । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले २३ वर्ष अघि निजी क्षेत्रबाट विदेशी मुद्रा नेपाल भित्र्याउने कार्य अत्यन्तै कठिन र चुनौतीपूर्ण छ भन्ने धेरै शुभचिन्तकहरूको सुझाव र सल्लाहकै वाबाजुद एउटा सानो स्केलमा आइएमई स्थापना भएको स्मरण गरे ।
अध्यक्ष ढकालले आम सेवाग्राहीबीच आईपीओसहित पहिलो पब्लिक रेमिटेन्स कम्पनीको रूपमा आउन पाउँदा अत्यन्तै खुशी लागेको पनि बताए । आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले विश्व अहिले डिजिटल युगमा प्रवेश गरेको औल्याउँदै प्रतिस्पर्धी बजारमा कम्पनीलाई अझै ऊर्जावान, पारदर्शी र व्यवसायिक दयारा फराकिलो बनाउन पब्लिकमा लगिएको बताए ।
अब कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले शीघ्र आईपीओ निष्कासन गर्ने आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले बताए । यो प्रकृयाका लागि कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरी नियामक धितोपत्र बोर्डमा निवेदन दिनेछ । सम्बन्धित नियामक निकायबाट स्वीकृत प्राप्त भएपछि यो प्रकृया अगाडी बढ्ने समेत पौडेलले बताए ।