Logo

हाम्रो पात्रो रेमिटको एक वर्ष पूरा

मोबाइल एप हाम्रो पात्रोले सञ्चालनमा ल्याएको ‘हाम्रो पात्रो रेमिट’ ले सञ्चालनको १ वर्षमै १ अर्ब ५० करोड रूपैयाँ नेपाल भित्र्याएको छ । हाम्रो पात्रो रेमिटबाट नेपाल पैसा पठाउन सहज र सरल भएका कारण पहिलो वर्षमै उत्साहजनकरुपमा रेमिट्यान्स नेपाल भित्र्याउन सफल भएको रेमिटकी सीईओ सुदिना गौतमले बताइन् । गौतमका अनुसार पछिल्लो ३ महिनामा ५० करोड रेमिट्यान्स भित्र्याएको हाम्रो पात्रो रेमिटले गत महिनामा मात्रै २० करोड रूपैयाँ रेमिट्यान्स भित्र्याएको थियो ।

“पछिल्लो महिनामा भएको उल्लेख्य वृद्धि देख्दा अबका केही महिनाहरूमा यो रकम अझ बढ्ने अनुमान गर्न सकिन्छ । अहिले अमेरिकामा मात्र सुरु भएको हाम्रो पात्रो रेमिटबाट स्वदेश पैसा पठाउँदा तुलनात्मक रुपमा अन्य रेमिटहरूभन्दा धेरै रेटमा पैसा पठाउन सकिन्छ”, उनले भनिन्, “अष्ट्रेलिया, जापान लगायतका देशहरूमा यो सेवा कहिलेबाट शुरु हुँदैछ भनेर धेरै प्रयोगकर्ताहरूको जिज्ञासा छ । हामी विस्तारै नै अन्य देशहरू पनि समेट्दै लानेछौं ।”

उनले अब अमेरिकापछि अष्ट्रेलियामा सेवा छिट्टै शुरु गर्ने बताइन् । त्यसबाहेक, हाम्रो पात्रो रेमिटमा इन्स्ट्यान्ट पे सुविधासमेत छ । यो सुविधा अन्तर्गत प्रयोगकर्ताहरूले नेपालमा पठाएको पैसा आफन्त तथा साथीभाइहरूले आफ्नै बैंक खातामा २४ घण्टा भित्र नै पाउन सक्नेछन् । यसैगरी हाम्रो पात्रोले अब छिट्टै सार्वजनिक गर्न लागेको ‘हाम्रो पे’ डिजिटल वालेट आएपछि प्रयोगकर्ताहरूले विदेशबाट स्वदेशमा भएको आफन्तको हाम्रो पे खातामा तुरुन्तै पैसा पठाउने मिल्ने सीइओ गौतमले बताइन् ।

प्रतिक्रिया दिनुहोस्