सिभिल बैंकले थालनी गर्यो डिजिटल सुदूरपश्चिम अभियान

सिभिल बैंकले धनगढी र महेन्द्रनगरमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेर डिजिटल सुदूरपश्चिमको थालनी गरेको छ । धनगढीमा आयोजित डिजिटल सुदूरपश्चिम नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो ।
उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले पानीपुरीदेखि जुत्ता मर्मतसम्म, टेम्पो सवारीदेखि मन्दिरको भेटीसम्मका कारोबारहरु डिजिटल रूपमा क्यूआर कोडमार्फत भुक्तानी गरी डिजिटल सुदूरपश्चिमको उद्घाटन गरेकी थिइन् ।
ढुंगाना तिम्सिनाले नेपाल राष्ट्र बैंककै उच्च प्राथमिकतामा रहेको डिजिटल पेमेन्टलाई डिजिटल सुदूरपश्चिममा सुरुवात गर्न पाउँदा आफू खुसी भएको र समग्र राष्ट्रमै यो अभियान चलाउन सकिएमा देशमा हुने गरेका सबै कारोबारहरु पारदर्शी हुने तथा नोट छाप्नका लागि विदेशिने धन राशिको सञ्चय हुने बताइन् ।
सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेलले डिजिटल सुदूरपश्चिम अभियानलाई साकार गर्ने हो भने डिजिटल इको सिस्टमकै विकास गर्नुपर्ने कुरामा जोड दिए । डिजिटल इको सिस्टमको विकास गर्न सकिएमा समग्र सुदूरपश्चिम डिजिटलमा जाने कुरामा दुई मत नभएको उनले बताए ।
डिजिटल पेमेन्ट सिस्टमले गर्दा अब ग्राहकहरुले जतिको बिल आयो त्यति रकम मात्रै डिजिटलको माध्यमबाट भुक्तानी गर्दा आफूले गरेका खर्चहरुको विवरणहरुको समीक्षा गरेर फजुल खर्चहरुलाई घटाई अनावश्यक फजुल खर्चमा कमी ल्याई बचतमा वृद्धि गर्न सकिने हुन्छ र यस्तै साना साना बचतले भविष्यमा पुँजी निर्माण गरी आफू तथा सिंगो राष्ट्रलाई समेत समृद्ध बनाउन सकिने सिभिल बैंकका चिफ बिजिनेस भोलाबहादुर विष्टले बताए ।
सिभिल बैंकले २०१९ अगस्टदेखि नै सुरु गरेको नगद रहित अभियान अहिले देशको दुर्गमभन्दा दुर्गम स्थानदेखि देशका प्रमुख सहरहरुसम्म गरी ४० हजारभन्दा बढी क्यूआर मर्चेन्टहरुलाई आवद्ध गरी सकेको बैंकले जनाएको छ ।