शैक्षिक अनुगमन गर्दै नगरपालिका

मंगलबार जाजरकोटको नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर रावत, उपप्रमुख सरिता सिंहलगायत प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरि एक्कासि भानुभक्त माध्यमिक विद्यालय नलगाड–४ मा पुगे । चुनावपछि विद्यालयको शैक्षिक क्रियाकलाप कसरी अगाडि बढेका छन् भन्दै छड्के जाँचका लागि नगरपालिकाको पूरै टिम विद्यालयमा पुग्दा त्यहाँ सबै छक्क परे । विद्यालयको कार्यालयभित्र नगई नगरको टिम विद्यार्थी पढिरहेको कक्षा कोठामा प्रवेश गरेपछि कक्षा कोठामा पढाइ रहेका विषयगत शिक्षक छक्क परे ।
प्रमुख प्रशासकीय अधिकृत गिरिले पालैपालो विद्यार्थीलाई प्रश्न सोधेर उठाएपछि केहीले सही जवाफ दिए, केहीले सही उत्तर दिन सकेनन् । तीन वर्ष अघिसम्म विद्यालयको विनिसम्म रहेका गिरि अहिले उपसचिव भएपछि नलगाड नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत छन् । शिक्षासम्बन्धी ज्ञान, अनुभव प्राप्त गरेका अधिकृत गिरिले विद्यार्थीको मानसिकता र शैक्षिक अवस्था कक्षा कोठामै गएर बुझेपछि विद्यालय प्रशासनसँग छलफल गरी बेलुकी पख पूरै नगरको टिम कार्यालयमा पुगेको थियो ।
बुधबार नगरपालिकाको प्रशासकीय केन्द्र रहेको नलगाड–७ दल्लीमा रहेको पुरोनो विद्यालय त्रिभुवन माध्यमिक विद्यालयको निरीक्षण भयो । भानुभक्त मावि लहँको जस्तै यो विषयको अवस्था देखिएपछि अधिकृत गिरिले लिखित र सामाजिक सञ्जालमा लामो सुधारको उपाय लेख्दै सुझावसमेत दिएका छन् । नगरप्रमुखको नेतृत्वमा पालिकाभित्रका सबै मावि विद्यालयको अनुगमन र अवस्था बुझेर थप सुधारका लागि निष्कर्ष निकाल्ने योजनामा नगरपालिका रहेको छ ।
शिक्षा क्षेत्रमा प्रगति हुन सकेन भने मानव विकासका लागि बनेका विद्यालयबाट अपेक्षित नतिजा हासिल हुन नसक्नुका साथै अझै धेरै पछाडि पर्ने निश्चित रहेको गिरिले बताए । विद्यालय हरेक व्यक्तिको पहिलो प्राथमिकतामा पर्नु जरूरी रहेको गिरिको विश्लेषण छ । विद्यालयका मुख्य अभिनेता भनेका प्रअ र शिक्षक नै रहेको भन्दै गिरिले ७०% भन्दा वढी भूमिका शिक्षकसँग नै जोडिने गरेको बताए । अहिलेका नीति निर्माण तहमा पुग्नेहरू यिनै विद्यालयका उत्पादन भएकाले यसमा सबैको ध्यान पुग्नु जरुरी भएको नगरप्रमुख डम्मर रावतले बताए ।
उपसचिव गिरिले भने, “कक्षाकोठाबाट उत्पादित जनशक्ति राज्य निर्माणका मुख्य आधार हुन् । यी कक्षाकोठा व्यवस्थित बनाउने मुख्य लक्ष्य राख्न सकिएन भने अन्य विकासको दिगोपन कमजोर हुने मात्र नभई धराशायी हुन जानेछ । हामी सुझाव दिँदै गएका छौं । कार्यान्वयन गरेर राम्रा विद्यालय, सक्षम विद्यार्थी बनाउने जिम्मा शिक्षक मित्रहरूको हुनेछ भने त्यसलाई सहयोग गर्ने काम विव्यस र अन्य सरोकारवालाको हुनेछ ।”
विद्यालयमा प्रसस्त सन्दर्भ सामग्री व्यवस्थापन गरेर विद्यालयको अवस्थाअनुसार नियम, आचारसंहिता निर्माण गरी लागू गर्न समेत आग्रह गरिएको छ । बालबालिकाको समग्र विकासमा सहयोगी क्रियाकलाप र समग्र विकासमा सहयोगी हुनुका साथै विद्यालय सुशासनका मुख्य पक्षहरू व्यवस्थित बनाउनसमेत निर्देशन दिइएको छ । विद्यालयका समस्या विद्यार्थीको मुखबाट सुन्नका लागि कक्षा कोठामा पुग्ने गरेको उपप्रमुख सरिता सिंहले बताइन् । नमुना नलगाड बनाउनका लागि पहिला शिक्षामा नमुना बन्नुपर्नेमा उनको जोड छ ।