निर्माणजन्य वस्तुको आयातमा नगद मार्जिन राख्नु नपर्ने «

निर्माणजन्य वस्तुको आयातमा नगद मार्जिन राख्नु नपर्ने

नेपाल राष्ट्र बैंकले निर्माणसम्बद्ध वस्तुहरूको आयातमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था खुकुलो बनाएको छ । राष्ट्र बैंकले शुक्रबार एक परिपत्र जारी गर्दै निर्माणसम्बद्ध वस्तुहरूको आयातमा नगद मार्जिनको व्यवस्था हटाएको हो । “परिपत्र ०१/२०७८ को दफा १.१७ को क्र.सं. १३ को हार्मोनिक कोड (शुरूका अंक) ६८ लाई हटाइएको छ” राष्ट्र बैंकले परिपत्रमा भनेको छ ।

सो कोड अन्तर्गत टायल्स, मार्बल, ग्रेनाइट, स्लेट, ढुंगा, इटा, झिंगटीहरूको लगायतको आयातमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था हटाएको हो । राष्ट्र बैंकले गत वर्षको ५ पुसमा हार्मोनिक कोड ६८ अन्तर्गतका वस्तु आयात गर्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । सो कोडमा रहेका टायल्स, मार्बल लगायतका वस्तुलाई विलासी वस्तु भन्दै केन्द्रीय बैंकले प्रतितपत्र (एलसी) खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो ।

यस्तै राष्ट्र बैंकले सार्वजनिक निकायमार्फत टेण्डर भएर हुने सार्वजनिक निर्माणका लागि आवश्यक पर्ने सामान आयातमा पनि नगद मार्जिनको व्यवस्था खुकुलो बनाएको छ । यस्तै हवाई जहाज र रंगशालामा राखिने कुर्सीको आयात गर्दा पनि अब नगद मार्जिन राख्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्