Logo

एक वर्षमा मुद्रास्फीति दर १२ प्रतिशत पुग्ने राष्ट्र बैंकको प्रक्षेपण

नेपाल राष्ट्र बैंकले आगामी एक वर्षमा मुद्रास्फीति दर १२ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/०८० को प्रथम त्रैमासिकको ‘मुद्रास्फीति अपेक्षा सर्वेक्षण’ शुक्रबार सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । राष्ट्र बैंकको यो प्रतिवेदनले मुद्रास्फीति तोकिएको सीमाभन्दा धेरै माथि पुग्ने देखाएको छ ।

मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/०८० मा मुद्रास्फीति सात प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको थियो । तर पहिलो त्रैमासमा नै यो बढेर ८.५ प्रतिशत पुगिसकेको छ । सर्वेक्षणले आगामी तीन महिनामा अपेक्षित मुद्रास्फीति १० प्रतिशत पुग्ने समेत देखाएको छ । “तीन महिना र एक वर्ष पछिको मध्य अपेक्षित मुद्रास्फीति क्रमशः १० प्रतिशत र १२.० प्रतिशत रहेको छ” सर्वेक्षणमा भनिएको छ, “व्यक्तिले निकट अवधिमा मुद्रास्फीति घट्ने र मध्यम अवधिमा थोरै बढ्ने अपेक्षा गरेका छन् ।”

राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को प्रथम त्रैमासिकको ‘मुद्रास्फीति अपेक्षा सर्वेक्षण’ २३ देखि २९ असोजसम्म गरेको थियो । सर्वेक्षणमा ५७ सहरका ६० बजार क्षेत्रका जनताहरूसँग अन्तर्वार्तामार्फत प्रतिवेदन बनाइएको राष्ट्र बैंकले जनाएको छ । सर्वेक्षणमा २ हजार ४० जना सहभागी गराइएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो सर्वेक्षणको तुलनामा यस सर्वेक्षणमा ८९९ थप व्यक्तिहरू थपिएको बताइएको छ । सर्वेक्षणका क्रममा ८६.६ प्रतिशत सहभागीले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका थिए ।

यस्तै ९५.७ प्रतिशत सहभागीले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका थिए । राष्ट्र बैंकको सो सर्वेक्षणले तीन महिना पछिको मध्य र एक वर्षपछिको मध्य अपेक्षित मुद्रास्फीति प्रक्षेपण २०७९ असारको तुलनामा घटेको देखाएको छ । असारमा तीन महिना पछिको र एक वर्ष पछिको मध्य अपेक्षित मुद्रास्फीति दर १४ प्रतिशत रहेको थियो । असोज महिनामा वार्षिक उपभोक्ता मुद्रास्फीति ८.५० प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.२४ प्रतिशत रहेको थियो । असोज महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.५० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८५ प्रतिशत रहेको थियो । सर्वेक्षणले खाद्य र खाद्य वस्तुको सबै उपसमूह, गैर–खाद्य वस्तु तथा सेवा र सबै उपसमूह, तथा घरजग्गा (आवास) समूहमा आगामी तीन महिनामा मूल्यवृद्धि हुने देखाएको छ ।

यस्तै खाद्य र खाद्य समूह अन्तर्गतका गेडागुडी, दाल, चिनी तथा मसला र गैर–खाद्य र सेवा समूह बाहेकका अन्य समूह तथा उपसमूहको पनि मूल्यवृद्धि हुने सर्वेक्षणले देखाएको छ । राष्ट्र बैंकले कसिलो नीति अवलम्बन गरेपश्चात अपेक्षित मुद्रास्फीतिमा कमी आउन थालेको समेत प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्