पर्यटक आगमनले देखाएको आशा «

पर्यटक आगमनले देखाएको आशा

तीन वर्षअघि सुरु भएको कोभिड–१९ महामारी संसारभर फैलिएपछि पर्यटक आवागमन करिब दुई वर्ष शून्यजस्तै बनेको थियो । एउटा मुलुकको नागरिक अर्को मुलुकमा अति आवश्यकबाहेक घुम्नका लागि जाने वातावरण पटक्कै थिएन । फलस्वरूप संसारभर नै पर्यटक गतिविधिमा शून्यता छायो । सानो मुलुक र धेरै पर्यटक नआउने भए पनि यसको असर नेपालमा पर्नु स्वाभाविकै थियो । कोभिडकालका तीन वर्ष नेपालमा पर्यटक आगमन निकै तल झर्न पुग्यो ।

भनिन्छ, समय सधैं एकैनासको रहँदैन । यो वर्ष पर्यटक आवागमनमा केही सुधार देखिएको छ । सन् २०२२ को पछिल्लो ११ महिनामा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या ५ लाख ४६ हजार पुगेको छ । यो संख्या हाम्रो लक्ष्य अवश्य होइन र कोभिडकालपूर्वसँग तुलना गर्दा पनि यो न्यून संख्या नै हो । तर पनि आगमन बढिरहेको सन्दर्भमा यसलाई आशाको किरण मान्न सकिन्छ । पर्यटन बोर्डले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२२ को जनवरीदेखि नोभेम्बरसम्म ५ लाख ४६ हजार २ सय १६ जना पर्यटक नेपाल आएका छन् ।

यही नोभेम्बरमा मात्र ७२ हजार ६ सय ५३ पर्यटक नेपाल आएको तथ्यांकलाई हेर्दा सन् २०२२ मा ६ लाखको हाराहारीमा पर्यटक आउने देखिएको छ । यो वर्षको ११ महिनामा सबैभन्दा धेरै अक्टोबरमा ८८ हजार ५ सय ८२ पर्यटक नेपालमा आएका थिए । कोभिड सुरु भएको वर्ष सन् २०१९ मा ११ लाख ९७ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यसलाई हेर्दा यो वर्ष नेपालको पर्यटन बजारमा ५० प्रतिशतले मात्र सुधार हुने देखिएको छ ।

कोभिडअघिको वर्ष सन् २०१९ मा करिब १२ लाख पर्यटक आएकामा सन् २०२० मा यो संख्या २ लाख ३० हजार र २०२१ मा १ लाख ५० हजारमा झरेको थियो । कोभिड महामारीका कारण सुस्ताएको विश्व पर्यटन बजार अहिले बिस्तारै लयमा फर्किंदै छ । महामारी सकिएपछि अहिले पर्यटक बढी पुग्ने विश्वका कतिपय मुलुकले ७० देखि ८० प्रतिशतसम्म पर्यटन पुनरुत्थान गरेको अवस्था छ । यस अर्थमा हामीले पर्यटक बढाउन अझै केही गर्न बाँकी रहेको देखिन्छ ।

बोर्डले पछिल्लो समय स्रोत मुलुकहरूमा नेपालको प्रचार गरिरहेको छ । यसले आगामी वर्ष पर्यटक बढाउन सहयोग पुग्ला, तर काम प्रचारप्रसारमा मात्रै सीमित राख्न हुनेछैन । नेपालमा मुख्य गरी सबैभन्दा धेरै पर्यटक छिमेकी मुलुक भारत र त्यसपछि चीनबाट आउने गरेका छन् । अहिले विश्वमा १ अर्बभन्दा धेरैको संख्यामा जनसंख्या भएका मुलुक चीन र भारत मात्र हुन् । भीमकाय जनसंख्या भएका मुलुकहरूको बीचमा रहेर पनि नेपालले १०/१२ लाखभन्दा बढी पर्यटक ल्याउन सकेको छैन ।

यसले पक्कै पनि हामीमा केही कमजोरी रहेको देखाएको छ । अर्कातिर पछिल्ला वर्षहरूमा धेरै चिनियाँ नागरिक विदेश घुम्न निस्कने गरेका छन् । भारतीयहरू पनि विदेश यात्रामा जाने क्रम बढ्दो छ । यस्तो अवस्थामा हामीले पर्यटक आगमन बढाउन नसक्नु आफैंमा लाजमर्दो विषय हो । साढे २ अर्बभन्दा माथिको जनसंख्या रहेको दुई छिमेकी मुलुकबाट पर्यटक तान्न सके मात्रै पनि अरू कसैको मुख्य ताक्नु पर्दैन ।

सरकार र तिनका निकायहरू चुस्त रूपमा लाग्ने हो भने यो वर्ष आएको पर्यटक संख्यालाई आगामी वर्ष कम्तीमा पनि तेब्बर बनाउन सकिन्छ । संसारकै अग्लो चुचुरो सगरमाथासहित अनेकौं हिम श्रृंखलाहरू रहेको हाम्रो जस्तो मुलुकमा १ करोड पर्यटक ल्याउनु धेरै ठूलो विषय होइन । तर हामी सम्भावनाको १० प्रतिशत ल्याउँदैमा मक्ख छौं । उजाड मरुभूमि मात्र भएका मुलुकहरूले पनि करोडौंको संख्यामा पर्यटक भित्र्याइरहेको अवस्था छ ।

सबैभन्दा पहिले पर्यटक के हेर्न चाहन्छन् ? त्यो बुझ्नु जरुरी छ र त्यसैअनुसार अगाडि बढ्नुपर्छ । पुरानो कला, संस्कृति, सभ्यता, सौन्दर्य हेर्न, हिमाल अवलोकन र आरोहण गर्न मन पराउने पर्यटक विश्वमा धेरै छन् । हिमालसँगै कला र संस्कृतिले भरिएको हाम्रो मुलुकले यही वर्गका पर्यटकलाई मात्र आकर्षण गर्न सके पनि धेरै हुन्छ ।

पछिल्लो समय पर्यटन क्षेत्रमा अर्बौं लगानी भएको छ । स्तरीय होटल, रिसोर्ट र रेस्टुराँहरू पर्याप्त मात्रामा खुलेका छन् । उपत्यकामा मात्र होइन, बाहिर जिल्लाहरूमा पनि पाँचतारे होटल बनेका छन् । यो सबै लगानी विगतमा प्रत्येक वर्ष देखिएको पर्यटक आगमन दरको वृद्धिका कारण भएको हो । आगामी दिनमा पर्यटक आगमन बढाउन नसके अर्बौं लगानी जोखिममा पर्नेछ । पछिल्ला केही वर्षदेखि मुलुक रेमिट्यान्स आयबाट चलिरहेको छ ।

अर्थतन्त्रमा रेमिट्यान्सको हिस्सा धेरै हुनु राम्रो होइन । त्यसैले यसको विकल्प खोज्नैपर्छ । पर्यटक आगमनलाई साँच्चै राम्रोसँग बढाउन सके रेमिट्यान्सको विकल्पमा यसलाई अगाडि लैजान सकिन्छ । पर्यटन नेपालका लागि धेरै सम्भावनाको क्षेत्र हो । हिमाललाई मात्र राम्रोसँग बेच्न सके वार्षिक १ करोड पर्यटक ल्याउन गाह्रो हुँदैन । तर, हिमाली क्षेत्रमा पर्यटकलाई पु¥याई रमाएर बस्ने वातावरण बनाउन त्यति सजिलो छैन । गुणस्तरीय सडक र अन्य पूर्वाधारमा लगानी गर्न सके त्यसको प्रतिफल पर्यटनबाट आउने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्