आयात फुकाउन नाडा आन्दोलनमा «

आयात फुकाउन नाडा आन्दोलनमा

अटोमोबाइल व्यवसायीहरुले सरकार र नेपाल राष्ट्र बैंकविरुद्ध सडक आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले विगत ८ महिनादेखि अटोमोबाइल्समा लगाइएको आयात प्रतिबन्ध फुकुवा गर्नुपर्ने भन्दै १० बुँदे माग राखेर सडक आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

सरकारले अटोमोबाइल्स आयातमा समेत प्रतिबन्ध लगाउने काम गरेपछि त्यसलाई हटाउन दबाब दिने उद्देश्यले आफूहरु आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य हुनुपरेको नाडाका उपाध्यक्ष सुनिल रिजालले बताए । उनले आफूहरुको गाडी र शोरुममा ब्यानर राखेर तथा सामाजिक सञ्जालमा पनि सामग्रीहरु पोष्ट गरेर आन्दोलनको कार्यक्रम सुरु गरिएको र २२ मंसिरमा काठमाडौंमा ३ घण्टा धर्ना र सबै प्रदेशमा पनि सोही दिन विरोध प्रदर्शन गर्न लागिएको बताए ।

नाडाले सो आन्दोलनमा साथ दिन पनि सबै उद्योगी-व्यवसायीहरुलाई आग्रह गरेको छ । अटोमोबाइल व्यवसायीहरुले ब्याजदरमा कटौती, कोरोनाकालमा संकटमा परेका व्यवसायीलाई राहतको व्यवस्था, अटोमोबाइल्सको प्रतिबन्ध फुकुवा हुनुपर्ने लगायतका माग राखेर आन्दोलनका कार्यक्रम सुरु गरेको हो । आफूहरुको सो माग सम्बोधन नभए थप आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य हुने पनि नाडाले जनाएको छ ।

गत वैशाखदेखि प्रतिबन्धित कार, जिप भ्यानलगायत १५० सिसी इन्जिन क्षमतामाथिका मोटरसाइकल आयात फुकुवा गर्नुपर्ने, नगद एलसी मार्जिनको व्यवस्था खारेज गर्नुपर्ने, चालू पुँजी कर्जालाई पुनर्विचार गर्नुपर्ने र बैंकिङ ब्याजदरलाई नियन्त्रण गर्नुपर्ने नाडाको माग छ ।

नाडा अध्यक्ष थापाले सरकारले व्यवसायीमाथि गरेको व्यवहारका कारण अटो व्यवसायी व्यवसायबाटै पलायन हुन पुगेको बताए । ८ महिनामा ५८ वटा अटो डिलर, सोरुम बन्द हुन पुगेको र प्रत्यक्ष/परोक्ष रुपमा ३० हजार व्यवसायी, कर्मचारी प्रभावित भएको नाडाको भनाइ छ । थप १०० अटोमोबाइल्स डिलर बन्द हुने क्रममा रहेको नाडाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्