Logo

सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न महायज्ञ

गाउँमै सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न मंगला गाउँपालिका–१ पूर्णगाउँमा बिहीबारदेखि महायज्ञ सुरु भएको छ । प्राथमिक स्वास्थ्य सेवा लिन समेत घण्टौ पैदलयात्रा गर्नुपर्ने बाध्यता रहेको र सरकारी तवरबाट कुनै पहल नभएपछि समुदायले आफैं लगानी जुटाउन श्रीमद्भागवत धनधान्याञ्चल महायज्ञ सुरु गरेको हो ।

मंसिर २१ गतेसम्म सञ्चालन हुने महायज्ञको नवनिर्वाचित प्रदेशसभा सदस्य रेशम जुग्जालीले उद्घाटन गर्दै प्रदेशसभा सदस्य जुग्जालीले आधारभुत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नु राज्यको दायित्व रहेको बताउँदै प्रदेश सरकार मार्फत पूर्वाधार निर्माणमा आबश्यक पहल गर्ने प्रतिबद्धता जनाए । पूर्णगाउँको शिवालय र लक्ष्मीनारायण मन्दिरको परिसरमा महायज्ञ सञ्चालन गरिएको छ ।

महायज्ञमा स्वामी प्रपन्नाचार्य देवराज सुवेदी मुख्य कथा वाचन रहेका छन् । उद्घाटन समारोहका अवसरमा पूर्णगाउँमा भजनकिर्तनसहित कलस यात्रा समेत गरिएको थियो । महायज्ञको पहिलो दिन नै सहयोग दाताहरुमार्फत ८ लाख ६४ हजार ९ सय ८५ रुपैयाँ रकम संकलन भएको आयोजक समितिका सचिव गोविन्दप्रसाद सुवेदीले जानकारी दिए ।

वर्षौदेखि आधारभुत स्वास्थ्य उपचारको सेवा सुचारु गराउन पहल गरेपनि कतैबाट सम्बोधन नभएपछि समुदाय आफैंले अग्रसरता लिएको आयोजक समितिका अध्यक्ष दुर्गादत्त आचार्यले बताए । गाउँमा आधारभुत स्वास्थ्य उपचारको पहुँच नहुँदा पूर्णगाउँबासीले प्राथमिक स्वास्थ्य सेवा लिनका लागि पनि एक घण्टा बढीको पैदलयात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्