विद्युत तथा विद्युतीय सामग्रीका १०औं संस्करण २२ मंसिरदेखि «

विद्युत तथा विद्युतीय सामग्रीका १०औं संस्करण २२ मंसिरदेखि

एकै थलोमा विद्युत तथा विद्युतीय सामग्रीको जानकारी दिने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको बृहत् प्रदर्शनी हुने भएको छ । यही २२ मंसिरदेखि २५ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा फिन इलेक्ट्रो टेक–२०२२ आयोजना हुने भएको हो ।

विद्युत तथा विद्युतीय सामग्रीको व्यवसाय विकास एवं यस क्षेत्रसँग आबद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्द्धनका लागि नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीको एवं गोष्ठीको १०औं संस्करणको प्रदर्शनी हुन लागेको हो ।

मुलुकमा बढ्दो उत्पादित जल विद्युतको विभिन्न विद्युतीय माध्यमबाट उपभोग बढाई देशलाई आर्थिक रूपमा सबलीकरण गर्दै लैजान एवं ऊर्जा तथा विद्युतीय व्यवसायीको समग्र विकास तथा व्यापार प्रवर्द्धनमा अत्यधिक टेवा पुर्‍याउने उद्देश्यका साथ यस वर्ष ‘नेपालको समृद्धि ऊर्जा खपत अभिवृद्धि’ को नारा लिएर ‘फिन इलेक्ट्रो टेक–२०२२’ को आयोजना गर्न लागेको महासंघका अध्यक्ष सुदर्शनप्रसाद पौड्यालले बताए ।

उनले भने, “बढदो व्यापार घाटालाई कम गरी विद्युतको उपयोग बढाउनका लागि विद्युतीय सामग्रीबारे जानकारी दिनका लागि मेला सार्थक हुनेछ ।” राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीलाई एकै स्थानमा जमघट गराई व्यावसायिक प्रवर्द्धन गर्नुको साथै यी उद्योगमा भएका नवीनतम उपलब्धिबारे सूचना आदान–प्रदान गर्ने तथा उपभोक्ता वर्गमा ऊर्जाको व्यवस्थित खपतको महत्वबारे जानकारी अद्यावधिक गराउन सहयोग पुर्‍याउने लक्ष्य यस संस्करणको रहेको छ ।

उद्योगी, व्यवसायी एवं उद्यमीहरू माझ अनुकूल व्यावसायिक वातावरणको सम्भावनालाई प्रस्तुत गर्नुका साथै उपभोक्ता हकहितसम्बन्धी जन चेतनामूलक कार्यक्रम प्रदर्शनी अवधिभर सञ्चालन गरिने छ । फिन इलेक्ट्रो टेक २०२२ मा हलभित्र ४९ वटा ब्लक र हलबाहिर २६ वटा स्टल गरी जम्मा ७५ वटा प्याभिलियन तथा स्टल रहने छन् ।

जसमा नेपाली उत्पादनलगायत बहुराष्ट्रिय कम्पनीहरूको उत्पादन, ट्रान्समिसन तथा डिस्ट्रिब्यूसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्विच, एलिडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिनेछ ।

प्रदर्शनीमा अधिकांश सहभागी संस्थाहरूले उपभोक्तासँग प्रत्यक्ष अन्तक्र्रिया गरी आफ्ना उत्पादनबारे जानकारी दिनेछन् भने अवलोकन कर्ताको सहजता तथा खरिद गर्न रुचाउने आगन्तुकका लागि छुट्टै सेल्स एरियाको व्यवस्था गरिएको छ । स्वदेशी उत्पादनलगायत भारत, जापान, सिंगापुर, ताइवान, चिन, फ्रान्स, स्पेन, मलेसिया, अमेरिका, जर्मनी, इटाली, अष्ट्रेलिया, आदिका विभिन्न इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्ससम्बन्धी उत्पादन प्रदर्शनमा रहने छन् ।

इलेक्ट्रो टेकको यस संकरणमा राठी स्विच एन्ड केवले टाइटल् स्पोन्सर गरेको छ । यस इलेक्ट्रो टेकको यस १०औं संस्करणमा राठी, अन्नपूर्ण, महालक्ष्मी, ग्रेटह्वाइट, एचपीएल, इलेक्ट्रा इलेक्ट्रिक, जानकी, लिशा, ट्रान्सवेल्ड, ओपल, लेकिसे, स्नाइडर, लिग्राण्ड, सि एण्ड एस, फिलिप्स, बजाज, हेभल्स, सिस्का, सिमेन्स, क्रम्टन, उषा, एंकर, ओरियन्ट, हिमेल, चिन्ट, हिमस्टारलगायतका स्वदेशी तथा विदेशी ब्राण्डहरूको सहभागिता रहने छ ।

प्रदर्शनीलाई सहभागीमूलक एवं सूचनामूलक बनाउनका लागि विभिन्न विषयमा गोष्ठी, कार्यपत्र प्रस्तुति तथा अन्तक्र्रिया कार्यक्रम सञ्चालन हुनेछन् । चार दिनसम्म चल्ने प्रदर्शनीमा देशभित्र तथा बाहिरबाट आमन्त्रित अतिथि, उद्योगी व्यवसायी, सरकारका उच्च अधिकारी, आर्किटेक्चर, इलेक्ट्रिकल इन्जिनियर, इन्टेरियर डेकोरेटर, प्राविधिककर्मी, नेपाल भरका विद्युतीय व्यवसायी, मिडियाकर्मी, विद्यार्थी एवं आम सर्वसाधारण गरी ६० हजारभन्दा बढी आगन्तुकले अवलोकन गर्ने विश्वास लिएको अध्यक्ष पौड्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्