२९ मंसिरदेखि विराट एक्स्पो «

२९ मंसिरदेखि विराट एक्स्पो

यही २९ मंसिरदेखि ६ पुससम्म सञ्चालन हुने सातौं विराट एक्स्पोको तयारी पूरा भएको छ । उद्योग संगठन मोरङको आयोजनामा विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड)मा आयोजना हुनेछ । आर्थिक एवं औद्योगिक विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउने उद्देश्यका साथ ‘विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’ आयोजना गर्न लागेको संगठनका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए ।

‘आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ एक्स्पो हुन लागेको हो । एक्स्पोमा ४ सय १५ वटा स्टल रहनेछन् । एक्स्पोमा स्वदेशी उत्पादनलाई मुख्य प्राथमिकतामा राख्दै भारत, बंगलादेश, पाकिस्तानलगायतका मुलुकको उत्पादनको प्रदर्शनी रहेको छ । एक्स्पोमा भारत बिहारको सीमावर्ती क्षेत्रबाट समेत गरी करिब तीन लाख बढी दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको छ ।

एक्स्पोको मुख्य आकर्षक आर्थिक एवं कृषि तथा औद्योगिक क्षेत्रका विषयगत मुद्दाहरूमा नीतिगत छलफल, अनुभव आदानप्रदान, नवीतम सोच भएका युवा उद्यमीको स्टार्टअप कर्नरका लागि छुट्टै पेभिलियन, प्रदेश आर्थिक वृद्धि तथा लगानी सवलीकरणका लागि एसियन फाउन्डेसन र प्रदेश नागरिक विकास बोर्डसँगको सहकार्यमा लगानी सम्मेलन, प्रदेश–१ मा लगानीका सम्भावना भएका कुराको प्रदर्शनीको छुट्टै पेभिलियन रहने छ ।

अध्यक्ष प्याकुरेलका अअनुसार पहिलोपटक एक्स्पोमा रोबटसँग प्रत्यक्ष संवाद गर्ने मौका मिल्नेछ । थ्रीडी भर्चुयल टुरमार्फत प्रदेश–१ को प्रख्यात पर्यटकीय क्षेत्र सगरमाथाको बेसक्याप, गुफापोखरी, पाथीभरा मन्दिरलगायत हेर्न सकिने प्याकुरेलले बताए । यसबाहेक पर्यटकीय गन्तव्यको जानकारी, स्थानीय खाना उत्सव, दैनिक सांगीतिक कार्यक्रम छ भने यस्ता कार्यक्रममा स्थानीय कला संस्कृति एवं कलाकारलाई प्राथमिकतामा राख्दै प्रदेशका सबै कला संस्कृतिको प्रस्तुति हुनेछ ।

साथै राष्ट्रिय ख्याती प्राप्त कलाकारहरूको समेत सहभागिता रहने बताइएको छ । एक्स्पोमा रोजगारदाता र रोजगारको खोजीमा रहेकाहरूबीच प्रत्यक्ष भेटघाटका लागि छुट्टै पेभिलियन रहेको छ । स्थानीय अर्थतन्त्र चलायमान बनाउँदै उद्योग व्यवसाय क्षेत्रको व्यावसायिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले एक्स्पो आयोजना गरेको संगठनका उपाध्यक्ष राजकुमार गोल्छाले बताए । संगठनले २०५३ सालमा कोसी महोत्सवबाट प्रदर्शनी सुरु गरेको हो ।

२०५६ सालमा पूर्वाञ्चल व्यापार मेला, २०६२ सालमा कृषि यान्त्रिक तथा प्रविधि प्रदर्शनी भएको थियो । प्रदर्शनीको ऐतिहासिकताको निरन्तरता स्वरुप संगठनले समयानुकूल परिमार्जन तथा परिस्कृत गर्दै २०६६ सालदेखि दुई वर्षको अन्तरालमा ‘विराट एक्स्पो’ गर्दै आएको छ । एक्स्पोले आर्थिक चलायमान बनाउने संगठनले दाबी गरेको छ । “अहिले आर्थिक मन्दी छाएको छ । उद्योगी व्यवसायी निराश छन्,” अध्यक्ष प्याकुरेलले भने, “एक्स्पोले केही मात्रामा भए पनि आर्थिक क्षेत्रलाई चलायमान बनाउने हाम्रो अपेक्षा छ ।”

लामो समयदेखि उद्योगी व्यवसायीहरूले प्रदर्शनीस्थल निर्माणको माग गर्दै आएका छन् । प्रदर्शनीस्थलको अभावमा उद्योगी व्यवसायीहरूले हरेक वर्ष विभिन्न व्यक्ति निजी जग्गामा औद्योगिक मेला आयोजना गर्न बाध्य छन् । अघिल्लो वर्ष मोरङ व्यापार संघले विराटनगर–२ मा रहेको निजी जग्गामा एक्स्पो लगाएको थियो । “हाम्रो आधा ध्यान त प्रदर्शनीस्थलका लागि स्थान खोज्नमै जान्छ,” प्याकुरेलले भने, “धन्न डिग्री क्याम्पसको जग्गामा प्रदर्शनी गर्न अनुमति पायौं ।”

प्रतिक्रिया दिनुहोस्