११ महिनामा पाँच लाख ४६ हजार पर्यटकले गरे भ्रमण

पछिल्लो ११ महिनामा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या ५ लाख ४६ हजार पुगेको छ । सन् २०२२ को जनवरीदेखि नोभेम्बरसम्म ५ लाख ४६ हजार २ सय १६ ले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
पर्यटन बोर्डका अनुसार सन् २०१९ को तुलनामा आगमनदरमा ५५.७६ प्रतिशतले सुधार आएको जनाएको छ । नोभेम्बरमा भने ७२ हजार ६ सय ५३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । योसँगै सन् २०२२ सम्म नेपाल भ्रमण गर्ने पर्यटकको संख्या करिब ६ लाखको हाराहारीमा कायम हुने देखिएको छ । अक्टोबर महिनामा ८८ हजार ५ सय ८२ पर्यटकले नेपाल भ्रमण गरेका थिए । जुन संख्या सन् २०२२ कै उच्च आगमनदर हो ।
सन् २०१९ मा ११ लाख ९७ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । नोभेम्बरमा भारतबाट, २० हजार, अमेरिकाबाट ७ हजार, बेलायतबाट ५ हजार, सार्क मुलुकबाट २४ हजार, एसिया रिजनबाट ९ हजार, यूरोपबाट १७ हजार, अमेरिका क्षेत्रबाट नौ हजार पर्यटकले नेपाल भ्रमण गरेको जनाएको छ । अक्टोबरमा महिनामा भारतबाट १६ हजार ९ सय, दोस्रोमा अमेरिकाबाट ११ हजार ८ सय, तेस्रोमा बेलायतबाट ७ हजार ४ सय, जर्मनबाट ४ हजार ९ सय, फ्रान्सबाट ४ हजार ९ सय पर्यटक नेपाल आएका थिए ।
सन् २०२२ मा भने नेपाल भ्रमण गर्ने पर्यटकको संख्यामा ६ लाखको हाराहारीमा हुने अनुमान नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी प्रमुख दीपकराज जोशीको भनाइ छ । सेप्टेम्बरमा ५८ हजार ३ सय १४ पर्यटक आएका थिए । डिसेम्बरमा औसतमा ५० हजारकै दरमा आगमन भएमा सन् २०२२ मा ६ लाख हाराहारीमा पर्यटक आगमन हुने देखिएको बोर्डका पूर्वप्रमुख जोशीको विश्लेषण छ । उनले भने, “सन् २०१९ को तुलनामा नेपालको पर्यटन बजार सन् २०२२ मा ५० प्रतिशतले मात्र सुधार हुने देखिएको छ ।”
विश्वमा अन्य पर्यटकीय मुलुकले ७० देखि ८० प्रतिशतसम्म पर्यटन पुनरुत्थान गरिरहेको अवस्थामा नेपाल पर्यटकीय देश भएर पनि ५० प्रतिशतले मात्र पर्यटन आगमनमा सुधार हुनु सकारात्मक नभएको पूर्वप्रमुख जोशीको भनाइ छ । वरिष्ठ पर्यटन व्यवसायी वसन्त मिश्रले अहिलको सन् २०२२ मा पर्यटक आगमन दरमा ५० प्रतिशतले सुधार आउने बताए ।
उनले भने, “पछिल्लो विश्वव्यापी पर्यटक गतिविधिलाई हेर्दा हामी ५० प्रतिशत पर्यटक आगमनदरको पुर्नरुत्थान हुने अवस्थामा छौं, जुन सकरात्मक छ । यसरी हेर्दा सन् २०२२ मा ६ लाखको हाराहरीमा पर्यटक आगमनदर हुने देखिन्छ ।” बोर्डले पछिल्लो समयस्रोत बजारमा एग्रेसिभ मार्कटिङ गरिरहेकाले पनि पर्यटकको आगमनदर लयमा रहेको जनाएको छ ।
पछिल्लो ११महिनासम्म आउँदा कोभिड-पछिको पर्यटक आगमनदरमा ५० प्रतिशत सुधार हुने देखिएको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । उनले भने, “पर्यटन आगमन विस्तारै लयमा फिर्ता हुने क्रममा रहेको छ । डिसेम्बरसम्म हेर्दा सन् २०२२ मा सन् २०१९ को तुलनामा ५० देखि ५५ प्रतिशत पर्यटकको आगमनमा सुधार हुन्छ ।”

यसरी हेर्दा सन् २०२२ मा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या ६ लाख हुने निर्देशक लामिछानेको भनाइ छ । कोभिड–१९ को महामारीका कारण सुस्ताएको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किने क्रममा रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । कोभिड–१९ कारण विगत दुई वर्षदेखि सुस्ताएको पर्यटन क्षेत्रमा आगमन वृद्धि केही महिना सुधारोन्मुख भए पनि सिजनमा भने अपेक्षाकृत रूपमा पर्यटक आगमनदरमा सुधार नभए पनि वर्षको अन्त्यमा भने सुधारोन्मुख रहेको देखिन्छ ।
नेपाल भ्रमणका लागि आउने पर्यटकमा भारतीय हिस्सा सबैभन्दा बढी छ । हवाईमार्गबाट मात्र आएको पर्यटकको संख्या भएकाले गर्दा भारतीय पर्यटकको आगमनदर संख्यामा कम देखिएको बोर्डले जनाएको छ । सन् २०१९ मा भने ११ लाख ९७ हजार, कोभिड–१९ का कारण पर्यटक आगमनमा कमी हुदाँ सन् २०२० मा २ लाख ३० हजार र सन् २०२१मा १ लाख ५० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए ।