ब्याजदर र पुँजी बजारको अन्तरसम्बन्ध

भनिन्छ, बैंकको ब्याजदर र सेयर बजारको अन्तरंग सम्बन्ध रहन्छ । बैंकको ब्याजदर बढे सेयर बजार घट्ने, बैंकको ब्याजदर घटे सेयर बजार बढ्ने भन्ने पनि गरिन्छ । त्यसो त सेयर बजार राम्रो हुनका लागि सरकार, अर्थमन्त्री, केन्द्रीय बैंकको गभर्नर पनि सेयर बजारप्रति सकारात्मक हुनुपर्छ । सरकार सेयर बजारमैत्री हुनुपर्छ भनेर जानकारहरू बताउँछन् ।
पछिल्लो समयमा नेपाल राष्ट्र बैंकको गभर्नर सेयर बजारप्रति सकारात्मक नहुँदा सेयर बजारले के–कस्तो अवस्था भोग्नुपर्यो, विगतका दिनहरूले बताउँछन् । त्यसो त सेयर बजारमा उटारचढाव त भइ नै रहन्छ । नेप्से कहिले बढ्छ त कहिले घट्छ, सधैं एकैनासको रहँदैन । सेयर बजार भनेको भगवान् विष्णुको चक्रजस्तै हो भनेर पनि भन्ने गरिन्छ । यो घुमिरहन्छ । कहिले बियरिसमा त कहिले बुलिस ट्रेन्डमा ।
सेयर बजार घटबढ नहुँदा लगानीकर्ताहरूले कसरी लाभ लिने त ? यस कारणले पनि सेयर बजारमा उतारचढाव भइरहनुलाई सामान्य रूपमा लिनुपर्ने हुन्छ । यो बजारको ब्युटिनेस नै हो भन्दा पनि फरक नपर्ला । नेप्से ३२ सय अंकसम्म पुगेको पनि थियो भने १८ सय अंकमा ओर्लेको पनि थियो । सायद नेप्से ३२ सय अंक पुगेको नेपालको सेयर बजारको इतिहासमा पहिलो नै हो भन्दा फरक नपर्ला ।
त्यसो त नेप्से धेरै बढेपछि नेपाल राष्ट्र बैंकले ब्रेक लगाउँछ भनेर पनि भन्ने गरेका छन् । त्यसो त नेप्से ३२ सय अंक पार गर्दा धेरै लगानीकर्ता सेयर बजारमा छिरेका थिए । तिनीहरूका लागि ‘चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी’ भन्ने उखानजस्तै भएको थियो । त्यसो त यसको जिम्मेवारी नेपाल राष्ट्र बैंकको गभर्नरलाई दिने गरेको पनि देखियो ।
नेप्से ३२ सय अंक पार गर्दा २१ अर्बको कारोबार भएको सेयर बजारमा पछिल्लो समयमा एक–डेढ अर्बको मात्र कारोबार हुने गरेको पनि देखिन्छ । त्यसो त बैंकको ब्याजदर वृद्धिले सेयर बजारमा मात्र असर गरेको नभई समग्र अर्थतन्त्रमा नै यसले असर गरेको देखिन्छ ।
कतिपय सेयर बजारका जानकारहरूको भनाइमा ३२ सय अंक पार गरिरहँदा नेपाल राष्ट्र बैंकले त्यस बेलाको मौद्रिक नीतिमा सेयरकर्जामा ४/१२ को क्याप लगाइदिएका कारण सेयर बजार ओरालो लागेको र यसमा त्यसबेला केही तथाकथित सेयर बजारका सेयर लगानीकर्ताका नेता भन्नेहरूले यसको विरोधमा आन्दोलन गरेका कारण पनि सेयर बजार ओरालोको यात्रामा गएको भन्नेहरू पनि नभएका होइनन् । उकालोको यात्रा गरिरहेको नेप्सेलाई ब्रेक लगाउने काम गभर्नर साहेबले गरेको भनेर गभर्नर साहेबलाई दोष दिने पनि नभएका होइनन् ।
त्यसो त अहिले पनि गभर्नर साहेब सेयर बजारप्रति सकारात्मक हुन नसकेको बताउँछन् सरोकारवालाहरू । पछिल्लो समयमा बैंकको ब्याजदर वृद्धिको कारण पनि गभर्नर साहेब नै भएको बताइरहेका छन् सरोकारवालाहरू । बैंकको ब्याजदरसँग सेयर बजारको सम्बन्ध रहेका कारण बैंकको ब्याजदर बढेपछि सेयर बजार घट्ने र बैंकको ब्याजदर घटेपछि सेयर बजार बढ्ने गरेको जानकारहरू बताउँछन् । पछिल्लो समयमा तरलताको अभाव देखाई बैंकहरूले ब्याजदर वृद्धि गरेका कारण सेयर बजार बढ्न नसकेको हो भन्नेहरू पनि नभएका होइनन् ।
कतिपय लगानीकर्ताहरूको भनाइमा पनि बैंकहरूले निक्षेपकर्ताहरूलाई दोहोरो अंकले ब्याज दिने गरेका कारण सेयर बजारमा नकारात्मक प्रभाव पारेको बताइरहेका छन् । एकातिर बैंकको ब्याजदर वृद्धिले सेयर बजारमा लगानी गर्नभन्दा बैंकमा राख्दा फाइदा हुने गरेको बताउने गरेका छन् भने अर्कातर्फ बैंकको ब्याजदर वृद्धिले बैंकबाट कर्जा लिएर सेयरमा लगानी गर्नेहरूले चर्को ब्याजदरका कारण सेयर बजारमा लगानी गर्न डराएको बताउँछन् लगानीकर्ताहरू ।
सेयर बजारप्रति लगानीकर्ताहरूको आकर्षण बढिरहेको अवस्थामा पनि बैंकहरूको ब्याजदर उच्च रहेका कारणले सेयर बजारमा लगानी गर्न डराएको लगानीकर्ताहरूको भनाइ रहेको छ । त्यसो त कतिपयको भनाइमा आमनिर्वाचनको समयमा बजारमा क्यास फ्लो बढ्ने र बैंकहरूमा तरलताको समस्या कम हुने तथा ब्याजदर घट्न गई सेयर बजारमा लगानी बढ्ने भनेर आकलन गरे तापनि त्यसो भने हुन सकेको थिएन ।
सेयर बजारका लागि आमचुनाव हात्ती आयो, हात्ती आयो-फुस्सा भयो । सेयर बजारले गति लिन सकेको थिएन । कतिपय जानकारको भनाइमा नेपाल राष्ट्र बैंकको विद्यमान गभर्नर रहेसम्म सेयर बजारले गति नलिने बताइन्छ । विद्यमान गभर्नर नेकपा एमालेका कार्यकर्ता भएको बताउँछन् जानकारहरू । दलको निर्देशनअनुसार काम गर्ने गरेका कारण पनि सेयर बजारमा साँढे द्रुत गतिमा दगुर्न नसकेको बताउँछन् सरोकारवालाहरू ।
कतिपय लगानीकर्ताहरूले गभर्नरका कारण नै सेयर बजारले गति लिन नसकेको हो भनेर पनि भन्ने गरेका छन् । पछिल्लो समयमा सेयर बजारमा नेप्से मात्र घटेको नभई कारोबार रकममा पनि कमी आएको थियो । नेप्से ३२ सय अंक पार गर्दा २१ अर्बको कारोबार भएको सेयर बजारमा पछिल्लो समयमा एक–डेढ अर्बको मात्र कारोबार हुने गरेको पनि देखिन्छ । त्यसो त बैंकको ब्याजदर वृद्धिले सेयर बजारमा मात्र असर गरेको नभई समग्र अर्थतन्त्रमा नै यसले असर गरेको देखिन्छ ।
बैंकहरूको ब्याजदर वृद्धिपछि उद्योगपति, व्यापारी, व्यवसायीहरूले पनि यसको विरोध गरेका थिए । बैंकको ब्याजदर घटाउनका लागि व्यापारीहरूले आन्दोलनसमेत गर्नुपरेको थियो । त्यसो त बैंकको ब्याजदर वृद्धिले सीमित व्यक्तिहरूलाई भने लाभ हुने गरेको छ । तर, यसले अर्थतन्त्रलाई भने नकारात्मक असर गर्ने गरेको छ । बैंकको ब्याजदर वृद्धिले एकातिर वस्तु तथा सामानहरूको लागत बढ्ने हुन्छ भने अर्कातिर महँगीसमेत बढ्ने गरेको छ । यसले आमनागरिकलाई समेत महँगीको मारमा पार्ने गरेको छ । त्यसो त बैंकको ब्याजदर वृद्धिले कतिपयलाई भने लाभ हुने गरेको छ । बैंकका निक्षेपकर्ताहरूलाई यसले फाइदा हुने गरेको छ ।
बैंक तथा वित्त कम्पनीहरूमा बचत गरेकाहरूलाई भने यसले फाइदा दिने गरेको छन् । तर, यसरी लाभ लिनेहरू भने सीमित मात्रामा मात्र हुने गरेका छन् । बैंक तथा वित्त कम्पनीहरूले बचतकर्ता तथा निक्षेपकर्ताहरूलाई दिने ब्याजदर बढेसँगै बैंक तथा वित्त कम्पनीहरूले दिने कर्जामा पनि ब्याजदर वृद्धि हुन जान्छ । यसले व्यापार–व्यवसायमा उद्योगहरूको उत्पादनमा वस्तु तथा सामानको लागत बढ्न गई बैंकमा निक्षप गर्ने निक्षेपकर्ताहरूलाई समेत यसले प्रभाव पार्ने गर्छन् । यसले सीमित व्यक्ति विशेषहरूलाई केही फाइदा गरे तापनि समग्र अर्थतन्त्रलाई नै नकारात्मक असर गर्छ भन्दा पनि फरक नपर्ला ।